युक्रेन युद्धः मारिऊपोल सहर जहाँ तीन लाख मानिस फसेका छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मारिऊपोल जहाँ तीन लाख मानिस फसेका छन्

मारिऊपोल युक्रेनको एउटा महत्त्वपूर्ण बन्दरगाह सहर हो र अहिले त्यहाँ रुसले घेराबन्दी गर्दै सघन आक्रमण गरिरहेको छ।

युद्ध सुरु भएपछि त्यहाँबाट एक लाखभन्दा बढी मानिस अन्यत्र पलायन भइसकेका छन् भने तीन लाख जनाजति अझै त्यही फसेका छन्। विद्युत्, ग्यास र पानीको आपूर्ति अवरुद्ध भएको छ।

सहरका अधिकांश आवासीय भवनहरू रुसी हवाई आक्रमणमा परेर क्षतिग्रस्त वा ध्वस्त भएका छन्। त्यहाँ पुगेका अन्तर्राष्ट्रिय पत्रकारहरूका अनुसार सहरमा यत्रतत्र शव छरिएका छन् भने मानिसहरूले बाटोको छेउछाउमा शव गाडिरहेको देखिन्छ।

रुसले युक्रेनलाई मारिऊपल समर्पण गर्न आह्वान गरेको छ। तर युक्रेनले त्यो कुरालाई अस्वीकार गरेको छ। हेर्नुहोस् यो भिडिओ।

मारिऊपोल किन महत्त्वपूर्ण

मारिऊपोल मस्कोका लागि विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ। त्यसैले सुरुदेखि नै रुसी सेनाले उक्त बन्दरगाह सहरलाई आफ्नो रणनीतिक उद्देश्यसहित निसानामा राखेको छ।

बीबीसीका रक्षा संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार पहिलो कारण मारिऊपोलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्ने भएकाले हो।

मारिओपोल एजोभ सागरको बन्दरगाह भएकाले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्न सकिने रुसको आकलन छ।

तस्बिर स्रोत, MAXAR/REUTERS

तस्बिरको क्याप्शन, रुसी सेनाले गत साता मारियोपोलस्थित यो नाटकघरमा बम आक्रमण गर्दा त्यहाँ महिला र बालबालिकासहित १,००० जनाभन्दा बढी मानिसले आश्रय लिइरहेको बताइन्छ

मारिओपोलमा एजोभ ब्रिगेड नामक युक्रेनी लडाकुहरूको समूह छ। उक्त समूहमा उग्रदक्षिणपन्थी अतिवादी र नवनाजीहरू छन्।

युक्रेनी लडाकु समूहमा उक्त समूह निकै सानो भए पनि रुसले युक्रेनमा नवनाजीहरू रहेको भनेर प्रचार गरिरहेको छ। मारिओपोलमा विजय हात पार्न सके मस्कोले आफ्नो सैन्य कारबाहीबाट नवनाजीलाई दमन गर्न सकिएको भनेर व्यापक प्रचार गर्न सक्छ।

मारिओपोलमा रुसले युक्रेनलाई परास्त गरे दुवै पक्षमा त्यसको मनोवैज्ञानिक प्रभाव पर्ने देखिन्छ।

रुसले सरकारी सञ्चारमाध्यमबाट युक्रेनमा आफ्नो सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गर्न सक्छ। युक्रेनमा धावा बोल्ने रुसी राष्ट्रपतिका लागि यसको ऐतिहासिक महत्त्व छ।

उनी युक्रेनको ब्ल्याक सीको तटीय क्षेत्रलाई "नोभोरोसिया" (नयाँ रुस) अर्थात् अठारौँ शताब्दीमा रुसी साम्राज्यको भूभागको रूपमा हेर्छन्।

पुटिन "किएभस्थित पश्चिमतिर ढल्किएको सरकारको उत्पीडनबाट रुसीलाई उद्धार गरेर" उक्त अवधारणलाई बिउँताउन चाहन्छन्। त्यो उद्देश्यको बीचमा अहिले मारिओपोल रहेको छ।

युक्रेनका लागि मारिओपोलको पराजयबाट ठूलो चोट पर्ने छ। सैन्य र आर्थिक रूपमा मात्र हैन, रुसी सेनासँग सङ्घर्ष गरिरहेका मानिसको मनमा पनि।

अनि यो पनि

युक्रेन-रुस युद्धसँग सम्बन्धित थप सामग्री

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: नौ वर्षीया युक्रेनी बालिकाले गाइन् शान्तिका लागि गीत
भिडिओ क्याप्शन सुरु हुँदैछ, 'न साइरन न बम, यहाँ सबै कुरा राम्रो छ' - पोल्यान्डमा युक्रेनी शरणार्थी
भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ
भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनमा रुसी ट्याङ्कले कारलाई किचेर हिँड्यो
भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको बिहे