१२ वर्षअघि हराएको कुकुरको मालिकसँग यसरी भयो पुनर्मिलन

तस्बिर स्रोत, SAN JOAQUIN COUNTY SHERIFF'S OFFICE

अमेरिकाको क्यालिफोर्नियामा १२ वर्षअघि हराएको एउटा कुकुरको उसलाई सानो बेलामा पाल्ने व्यक्तिसँग पुनर्मिलन भएको छ।

जोए नाम गरेकी पोथी कुकुरलाई स्टकटननजिक एउटा गाडीबाट छोडिएको अवस्थामा फेला पारिएको थियो।

बूढो एवं बिरामी कुकुर भेटिएको सूचना एक व्यक्तिले प्रहरीलाई दिएका थिए।

पशुसेवासम्बन्धी एक अधिकारीले उक्त कुकुरमा राखिएको माइक्रोचिप स्क्यान गर्दा त्यो सन् २०१० देखि हराइरहेको पत्ता लागेको थियो।

भेटिने आशा थिएन

"यस्तो हुनसक्छ भनेर मलाई लागेकै थिएन, म एकदमै उत्साहित छु," कुकुर पाल्ने मिशेलले भनिन्।

सान जोआकिन काउन्टी शेरिफको कार्यालयका अनुसार सन् २०१५ मा माइक्रोचिप कम्पनीले उक्त कुकुर मरिसकेको सूचीमा राखेको थियो।

जोएको माइक्रोचिप स्क्यान गरेका अधिकारी ब्र्यान्डन लेभिनले चिपकै सहायताबाट कुकुर पाल्ने व्यक्तिको सम्पर्क विवरण पत्ता लगाइएको बताए।

उनको फोन नम्बर पनि पुरानै रहेको बताउँदै लेभिनले भनेः "जोएकी मालिक पूरै आश्चर्यमा परिन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रविधि: 'मैले ड्रोनबाट २०० हराएका कुकुर भेट्टाएकी छु'

सन् २०१० मा हराएको ठाउँदेखि ६० माइल टाढा जोएलाई फेला पारिएको हो।

मिशेलले भनिन्, "मैले जोए र उसकीकी जुम्ल्याहा बहिनीहरूलाई तिनीहरू छ महिनाको छँदा एउटा पोखरीबाट ल्याएकी थिएँ। करिब छ महिनादेखि उनीहरू हामीसँगै थिए।"

"घरदेखि करिब २० मिनेटको दूरीमा रहेको एउटा किनमेल केन्द्रमा गएका थियौँ, फर्किँदा ऊ हराइसकेकी थिई।"

जोएलाई घर फिर्ता ल्याउन पाइने तथा ऊ स्वस्थ हुने आशा व्यक्त गर्दै मिशेलले भनिन्, "म उसलाई...बाँकी जीवन व्यतीत गर्न दिन पाइने कुराले उत्साहित छु।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, जहाँ कुकुरैकुकुर छन्