युक्रेन तनाव: मस्को र वासिङ्टनमा वार्ता, महत्त्वपूर्ण रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले यदि मस्कोले युक्रेनमा हमला गरेमा जर्मनीसँग जोडिने एउटा मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने वाचा गरेका छन्।

जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि वासिङ्टनमा बोल्दै उनले नर्ड स्ट्रीम टू पाइपलाईनबारे त्यसो भनेका हुन्।

फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध छल्न सकिने भन्दै भेटवार्ता भइरहँदा वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन्।

अमेरिकी अधिकारीहरूले आइतवार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका छन्।

रुसी माग

पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु पर्ने माग राखेको छ।

उसले पूर्वी युरोपमै नेटोका सैन्य सङ्ख्या घटाउनुपर्ने समेत भनिरहेको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रुसले युक्रेनतर्फको सीमामा एकलाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ।

नेटोले ती दुवै मागलाई अस्विकार गरेको छ।

बरु उसले आणविक अस्त्र सीमित पार्नेजस्ता अन्य क्षेत्रमा वार्ता गर्न सकिने जनाएको छ।

पुरानो तनाव

रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघिदेखिएको हो।

जतिखेर रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नोमा गाभेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको हो?

मस्कोले पूर्वी डोनबास क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको छ।

यतिखेर रुसले युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ।

तर हमलाको तयारी गरिराखेको भन्ने आरोपलाई उसले अस्वीकार गर्दै आएको छ।

माँक्रो-पुटिन वार्ता

पुटिनले युक्रेन मामिलालाई लिएर फ्रेन्च राष्ट्रपति इमानुअल माँक्रोसँग भएको वार्ता उपयोगी र उपलब्धी उन्मुख भएको बताएका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मस्कोमा पुटिन र माँक्रोले पाँच घण्टा छलफल गरेका थिए।

मस्कोमा उनीहरूले पाँच घण्टा छलफल गरेका थिए।

क्रेमलिनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले युरोपको सुरक्षाबारे माँक्रोका केही विचार व्यवहारिक भएको र ती भावी कदमका लागि आधार बन्न सक्ने बताए।

माँक्रोले आगामी दिन निर्णायक हुने भन्दै आफूले मस्कोसँग केही समान धारणा पाएको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनका स्वयंसेवी लडाकुहरू

पुटिनले यदि युक्रेनलाई नेटो गठबन्धनमा लगिएमा र क्राइमियालाई फिर्ता लैजाने प्रयास गरेमा नतिजा युद्ध हुने भन्दै चेतावनी दिएका छन्।

जर्मनी के चाहन्छ?

जर्मन चान्सलर ओलाफ सोल्जसँग ह्वाइटहाउसमा भेटेपछि बोलेका बाइडनले मस्कोलाई चेतावनी दिँदै उसले जस्तो सुकै हमलाका लागि ठूलो मूल्य चुकाउनुपर्ने बताए।

तर अहिलेसम्म चान्सलर सोल्ज भने त्यस्तो अवस्थाका लागि आफूले कस्तो प्रतिबन्धलाई सघाउने भन्ने बिषयमा स्पष्ट देखिँदैनन्।

उनीमाथि बाल्टिक क्षेत्रको एउटा मुख्य ग्यास पाइपलाइन नर्ड स्ट्रिम टू बन्द गर्न दबाब छ।

युक्रेनलाई हतियार नपठाएको भन्दै समेत जर्मनीको आलोचना भइरहेको छ।