कोभिड चीनः ब्लाइन्ड डेटमा गएकी महिला लकडाउनका कारण भेट्न गएको पुरुषको घरमै अड्किइन्

तस्बिर स्रोत, Shenzhen TV

तस्बिरको क्याप्शन, लकडाउनका कारण भेट्न गएका व्यक्तिको घरमा वाङले कम्तीमा चार दिन बस्नुपर्‍यो

चीनमा ब्लाइन्ड डेटमा गएकी एक महिला आकस्मिक रूपमा लगाइएको कोभिड लकडाउनका कारण भेट्न गएको एक पुरुषको घरमा फसेको बताइएको छ।

वाङ नामले चिनिएकी ती महिलाले ती व्यक्तिको घरमा खाना खान गएको बेला लकडाउन भएको गत साता चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा सार्वजनिक गरेकी थिइन्।

चिनियाँ नयाँवर्षअघि आफू ग्वाङ्जोबाट जेङ्ग्जो गएको आफ्नो पोस्टमा उल्लेख गरेकी छन्।

"मेरो उमेर केही ढल्कँदो छ, त्यसैले मेरा आमाबुवाले मेरा लागि १० जनाभन्दा बढी व्यक्तिसँग ब्लाइन्ड डेटको व्यवस्था गरिदिनुभयो," उनले भनेकी छन्। वाङका अनुसार उनले भेटेका ती पाँचौँ व्यक्ति थिए।

ती व्यक्तिले आफू पाककलामा कुशल भएको भन्दै उनलाई घरमा सँगै खाना खान बोलाएका थिए।

तर खाना खाँदै गर्दा उनीहरूले त्यो ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण बढेका कारण आपत्कालीन लकडाउन घोषणा भएको थाहा पाए। त्यसपछि उनी त्यहाँबाट केही दिन बाहिर निस्किन पाइनन्।

तस्बिर स्रोत, Shenzhen TV

तस्बिरको क्याप्शन, वाङले भिडिओ ब्लगमा ती व्यक्तिले कसरी उनको हेरचाह गरे भनेर बयान गरेकी छन्

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, वाङका अनुसार ती व्यक्तिले आफ्नो पाककला देखाउन उनलाई घर आउने निम्तो दिएका थिए

वाङले आइतवार सञ्चारमाध्यमलाई बताएअनुसार उनी चार दिनसम्म ती व्यक्तिको घरमा अड्किएकी थिइन्।

त्यहाँ परिस्थिति "अनुकूल नभएको" उनको भनाइ छ। तर आफूलाई ती व्यक्तिले सधैँ खाना पकाएर खुवाएको र हेरचाह गरेको उनले जनाएकी छन्।

ती व्यक्ति धेरै नबोल्ने स्वभावका भएको उनले बताएकी छन्।

उनी अझै पनि त्यही ठाउँमा अड्किएकी छिन् या छैनन् भन्ने स्पष्ट छैन। यद्यपि अहिले पनि जेङ्ग्जो सहरमा कोभिड-१९ पूर्णतः नियन्त्रणमा आइसकेको छैन।

ग्लोबल टाइम्स पत्रिकाले जनाएअनुसार गत सातायता त्यहाँ १०० जनाभन्दा बढीमा कोभिड पुष्टि भएको थियो।

सहरमा मङ्गलवारदेखि अत्यावश्यकबाहेक अरू व्यवसाय बन्द गर्न निर्देशन दिइएको छ।

उक्त सहरमा बस्ने १.२६ करोड मानिसको परीक्षण भइरहेको छ।

तस्बिर स्रोत, Sina Weibo

तस्बिरको क्याप्शन, सामाजिक सञ्जाल प्रयोगकर्ताहरू वाङले प्रेषित गरेका भिडिओ हेरेर रमाए

चीनले शून्य कोभिड-१९ को नीति अपनाएको छ।

त्यसैले कुनैसहरमा कसैमा सङ्क्रमण पुष्टि हुँदा त्यहाँ तत्काल लकडाउन गरिन्छ।

पछिल्ला साताहरूमा लकडाउनका कारण प्रभावित वाङ एक्ली व्यक्ति होइनन्।

गत महिना एक मानिस उत्तरी सहर शीआनको एउटा घरमा थुनिएका थिए।

उनले सञ्चारमाध्यमलाई बताएअनुसार उनलाई आफ्नो गाडीबाट सामानको झोला लिन समेत दिइएन जसका कारण उनले छिमेकीसँग सिरक माग्नुपरेको थियो।