आईसीसी टी२० विश्वकपः पाकिस्तानी क्रिकेट टोलीलाई समर्थन गर्ने केही मुस्लिम भारतमा पक्राउ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आइतवार भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो

टी२० विश्वकप क्रिकेटको खेलमा पाकिस्तानले भारतलाई हराएपछि हर्षोल्लास गरेको आरोप लागेका तीन कश्मीरी विद्यार्थीलाई भारतको उत्तर प्रदेश राज्यमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार आइतवार खेल भइरहँदा उनीहरूले भारतको विरोध गर्दै पाकिस्तानको समर्थनमा नाराबाजी गरेका थिए।

उनीहरूविरुद्ध "शत्रुतालाई प्रोत्साहन गरेको तथा साइबर आतङ्कवाद" को अभियोग लगाइएको छ।

आगरा सहरमा गरिएको उक्त कारबाहीलाई मुस्लिम समुदायविरुद्धको दमनका रूपमा लिइएको छ।

टी२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो।

भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ। क्रिकेट खेलका कारण उनीहरूबीच बेलाबेलामा तनाव अझ बढ्छ।

आलोचकहरूका अनुसार भारतले खेल हार्दा धेरै भारतीय नागरिकले खेलभावना बिर्सिने गरेका छन् र उनीहरू अरूमा दोष खोज्छन्।

दुई देशबीच खेल सम्पन्न भएपछि भारतीय क्रिकेट टोलीमा अहिले समाविष्ट एक मात्र मुस्लिम खेलाडी मोहम्मद शामीको धेरै जनाले सामाजिक सञ्जालमा मानमर्दन गरेका थिए। मानिसहरूले शामीले जानीजानी पाकिस्तानलाई रन बनाउन दिएको आरोप लगाउँदै उनलाई "देशद्रोही" को सङ्ज्ञा दिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पाकिस्तानले भारतलाई हराएपछि भारतीय खेलाडी मोहम्मद शामीको चर्को आलोचना र मानमर्दन गरिएको छ

ह्वाट्सएपमा पाकिस्तानी क्रिकेट खेलाडीको प्रशंसा गर्दै लेखेको भन्दै आगरामा पक्राउ परेका तीन कश्मीरी मुस्लिम विद्यार्थीलाई उनीहरू पढ्ने कलेजले सोमवार निलम्बन गरेको छ। सत्तारूढ भारतीय जनता पार्टीका सदस्यहरूले उजुरी हालेपछि तीन जनालाई प्रहरीले बुधवार पक्राउ गरेको हो।

"यी मानिसले तनाव बढाउन खोजेका छन् जसबाट देशको वातावरण बिग्रिन सक्छ," क्विन्टमा प्रकाशित समाचारमा प्रहरीलाई उद्धृत गरिएको छ।

पाकिस्तानी टोलीलाई समर्थन गरेकाले केही अरू मुस्लिमहरूले पनि आइतवारदेखि समस्या खेप्नुपरेको छ।

पाकिस्तानाले खेल जितेपछि हर्षपूर्वक ह्वाट्सएपमा एउटा पोस्ट गरेपछि राजस्थानमा एक मुस्लिम महिलाले जागिर गुमाउनुपरेको छ।

उनी स्थानीय विद्यालयमा शिक्षिका थिइन्।

तस्बिर स्रोत, EPA

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार बुधवार उनी पक्राउ परेकी छन्।

पञ्जाब राज्यमा पाकिस्तानको विजयमा हर्ष मनाउने कश्मीरी विद्यार्थीहरूमाथि आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतप्रशासित कश्मीरमा पनि पाकिस्तानको समर्थनमा नारा लगाउने केही व्यक्तिलाई आतङ्कवादविरोधी कानुनअन्तर्गत अभियोग लगाइएको छ।

खेल भइरहेको बेला केही विद्यार्थी र दुईवटा मेडिकल कलेजका कर्मचारीले त्यसरी नारा लगाएको बताइएको छ।

तस्बिर स्रोत, Getty Images

खेल सकिएपछि सयौँ मानिसले कश्मीरका सडकमा भेला भएर "पाकिस्तान जिन्दाबाद" भन्दै हर्षोल्लास गरेको समाचारसंस्था एपीले जनाएको छ।

कश्मीरमा दशकौँदेखि सशस्त्र विद्रोह चलिरहेको छ।

भारत र पाकिस्तान दुवैले कश्मीर आफ्नो भूमि भएको दाबी गर्दै आएका छन्। तर दुवैको अधीनमा केही भाग मात्र छ।

आणविक अस्त्रसम्पन्न ती देशले कश्मीरकै निहुँमा दुई पटक युद्ध गरिसकेका छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'प्रविधिलाई धन्यवाद, मैले आफ्नो गाउँ ७३ वर्षपछि फेरि देख्न पाएँ'