कोभिड: के चीनले विश्वको आधा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरेको छ?
तस्बिर स्रोत, Getty Images
चीनले विश्वभरि दिइएका कोभिड खोपमध्ये आधाभन्दा धेरै प्रदान गरेको दाबी गरेको छ।
हामीले यसबारे अध्ययन गरेका छौँ। तर उत्तर सोचेजस्तो प्रस्ट छैन।
के हो चीनको दाबी?
चिनियाँ कम्युनिस्ट पार्टीको 'युथ लीग'ले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा भिडियोमा विश्वमा वितरण भएका आधाभन्दा धेरै खोपहरू चीनबाट आएको दाबी गरेको छ।
उक्त भिडियो सेप्टेम्बरको अन्त्यतिर ट्विटरको चिनियाँ संस्करण वेइबोमा सार्वजनिक गरिएको थियो।
आवर वर्ल्ड इन डेटा नामक वेबसाइटका अनुसार त्यतिबेला विश्वभरि लगाइएको कोभिड खोपको सङ्ख्या छ अर्ब पार गरेको थियो।
के उल्लेखितमध्ये तीन अर्बभन्दा बढी खोप घरेलु उपयोग र निर्यातका लागि चीनले उत्पादन गरेको हो त?
चीनसँग ठूलो उत्पादन क्षमता छ।
गत सेप्टेम्बर २७ सम्ममा दुई अर्ब २० करोड आफ्नै खोपको मात्रा वितरण गरेको भनिएको छ।
तर चीनभित्रै कति मात्रा खोप उत्पादन र प्रयोग गरिएको छ भन्ने आँकडा प्रमाणित गर्ने कुनै साधन छैन।
चीन वाणिज्य साझेदारी र अनुदान दुवै माध्यमबाट खोपको निर्यात गर्ने अग्रणी देश हो।
निर्यात गरिएकामध्ये केही सामग्री खोप बनाउने पदार्थ हुन् जुन आयात गरिने देशमा प्रशोधन र प्याकिङ गरिन्छ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनले १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूलाई एक अर्ब २० करोड मात्रा तयार खोप उपलब्ध गराएको छ।
तस्बिर स्रोत, Getty Images
के चीनको निर्यात प्रमाणित गर्न सकिन्छ?
डेटा एनालिटिक्स कम्पनी एयरफिनिटीले विश्वव्यापी खोप उत्पादन ट्र्याक गरेको छ।
कम्पनीले चीनले अक्टोबर ८ सम्ममा १२३ देशहरूमा खोपको एक अर्ब १० करोड मात्रा निर्यात गरेको अनुमान गरेको छ।
जसमध्ये ११ करोड मात्रा विश्वव्यापी खोप साझेदारी योजना 'कोभ्याक्स'द्वारा खरिद् गरी कम आय भएका देशहरूमा उपलब्ध गराइएको हो।
त्यस्तै संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार अक्टोबर १ सम्ममा चीनले करिब ३.७ करोड मात्रा खोप अनुदानको रूपमा निर्यात गरेको छ। चीनले कुल ५.२ करोड खोप अनुदान गर्ने बताएको छ।
चिनियाँ अधिकारीहरूले दाबी गरेजस्तो निर्यात गरिएको एक अर्ब २० करोड डोज खोपको मात्रा चीनको दाबी सही हुनसक्छ।
तर चीन भित्रको कुल अनुमानित सङ्ख्या एक अर्ब १० करोडको हाराहारी हुन आउँछ।
तस्बिर स्रोत, Getty Images
चीनमा नै दिइने मात्राको लागि दुई अर्ब २० करोडको आँकडामा जोडिएको छ जुन विश्व स्तरमा दिइएको छ अर्ब मात्राको आधाभन्दा केही कम हो।
हालसम्म निर्यात गरिएकोमध्ये कति मात्रा खोप प्रयोग भइसक्यो भन्ने निश्चित छैन।
चीनले अन्य देशसँग गरेको निर्यात सम्झौता अनुरूप आयातकर्ता देशहरूमा पनि खोप उत्पादन गर्ने सम्झौता भएको छ।
उदाहरणको लागि गत मार्चमा संयुक्त अरब इमिरेट्समा चीनद्वारा आपूर्ति गरिएको सामग्री उपयोग गरेर स्थानीय स्तरमा चिनियाँ खोपको उत्पादन गर्नका लागि सम्झौता भएको थियो।
त्यस्तै ब्राजिलको कम्पनी बायो-मानग्युनहोस/ फायोक्रजले अस्ट्राजेनेकाकी चिकित्सा प्रविधिमा आधारित खोपको १० करोडभन्दा बढी डोज उत्पादन गर्यो। जसमा चिनियाँ फर्म वुक्सी बायोलजिक्सद्वारा आपूर्ति गरिएको सामग्रीको प्रयोग भएको थियो।
अन्य देशको अवस्था के छ?
तस्बिर स्रोत, VCG
अक्टोबर ६ सम्ममा चीनमा आन्तरिक रूपमा वितरण गरिएको खोप मात्राको सङ्ख्या दुई अर्ब २० करोड पुग्यो।
आवर वर्ल्ड इन डेटाका अनुसार सोही मितिसम्म भारतमा ९२ करोड खोप वितरण भयो र युरोपियन युनियनमा ५७ करोड र अमेरिकामा ३९ करोड खोप वितरण भएको छ।
भारतले गत मे महिनाको अन्त्यसम्ममा स्थानीय स्तरमा बनाइएको ६.६४ करोड डोज खोप निर्यात गरेको थियो। त्यतिबेला अन्य देशमा निर्यात स्थगित गरिएको थियो।
रुसले विश्वव्यापी रूपमा आफ्नै खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो तर त्यहाँबाट कति डोज खोप निर्यात भए भन्ने स्पष्ट छैन।
विश्वव्यापी खोप उत्पादनको दर बिस्तारै बढ्दै गएको छ। ठूला उत्पादकहरूले उत्पादनमा जोड दिएका छन्।
एयरफिनिटीको अनुसन्धानले डिसेम्बरसम्म संसारभरि अनुमानित १२ अर्ब ४० करोड मात्रा उत्पादन हुने देखाएको छ। तीमध्ये पाँच अर्ब ७० करोड चिनियाँ खोप हुने छ र बाँकी चीन बाहिरका खोप हुनेछन्।
खोपको ठूलो मात्रा धनी देशहरूले भण्डार गरिरहेका छन् जुन अझै प्रयोगका लागि तयार भएका छैनन्। त्यसैले निर्यात गरिएको खोप सङ्ख्या र प्रयोग भएको डोजको आँकडा मेल भने खाँदैन।
केही देशहरूमा उचित पूर्वाधारको अभाव, कर्मचारी नियुक्तिमा बाधा र अन्य मुद्दाहरूका कारण खोप कार्यक्रम स्थगित भएको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन