जेम्स बोन्ड: ड्यान्यल क्रेगको बोन्डका रूपमा अन्तिम चलचित्रको प्रिमिअर

तस्बिर स्रोत, Reuters

जेम्स बोन्ड चलचित्रको पछिल्लो भाग 'नो टाइम टु डाई'को प्रिमिअर १८ महिनाको ढिलाइ पछि अन्ततः लन्डनमा सम्पन्न भएको छ।

कोरोनाभाइरस महामारीका कारण उक्त चलचित्रको रिलिज कैयौँ पटक रोकिएको थियो।

007 का रूपमा चिनिने ब्रिटिस जासुसको रूपमा नायक ड्यान्यल क्रेगको यो पाँचौँ र अन्तिम भाग हुने छ।

चलचित्र उद्योगले यो चलचित्रले बक्स अफिसमा कस्तो नतिजा ल्याउँछ र यसले दर्शकहरूलाई ठूलो सङ्ख्यामा सिनेमा हलसम्म ल्याउन सक्छ सक्दैन भन्ने विषयलाई नजिकबाट नियालिरहेको छ।

यूकेमा उक्त चलचित्र बिहीवार प्रदर्शनमा आउने बताइएको छ।

लन्डनमा भएको प्रिमिअरमा असामान्य रूपमा ब्रिटिश राजपरिवारको दुई पुस्ता सहभागी भएको थियो।

रोयल अल्बर्ट हलमा ड्यूक र डचिस अफ केम्ब्रिजसँगै प्रिन्स अफ वेल्स र डचिस अफ कोर्न्वल सहभागी भएका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रोयल अल्बर्ट हलमा ब्रिटिश राजपरिवार सदस्य

बोन्डका रूपमा क्रेग अन्तिम पटक देखिने भए पनि चलचित्रको निर्माताहरूले उनको सट्टा उक्त भूमिका निर्वाह गर्ने पात्रबारे अर्को वर्षसम्म नसोच्ने जनाएका छन्।

''हामीले यसबारे पटक्कै सोचेका छैनौँ,'' सोमवार रेडियो फोरलाई निर्माता बारबरा ब्रोकलीले भनिन्।

''हामी चाहन्छौँ कि ड्यान्यलले खुसी मनाउन्। भविष्य बारे हामी अर्को वर्ष सोच्न सुरु गर्ने छौँ।''