आईएसएसः अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा फेरि अर्को समस्या, धुवाँ र प्लास्टिक जलेको गन्ध फैलियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सोयुज अन्तरिक्षयानले गत वर्ष खिचेको आईएससको तस्बिर
पढ्ने समय: २ मिनेट

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा धुवाँ र प्लास्टिक जलेको गन्ध फैलिएपछि चेतावनीस्वरूप अलार्महरू बजेका छन्।

रुसले निर्माण गरेको आईएएसको ज्वेज्दा मोड्यूलमा उक्त घटना भएको विवरण रुसी सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

उक्त खण्डमा अन्तरिक्षयात्रीहरू बस्ने ठाउँ छ।

पुरानो हुँदै गएको अन्तरिक्ष केन्द्रमा केही वर्षदेखि विभिन्न समस्याहरू उत्पन्न हुँदै आएका छन्।

एक रुसी अधिकारीले केही दिनअघि आईएसएसका पार्टपुर्जा थोत्रिएका र त्यसका प्रणालीहरू प्रणाली विफल हुन लागेको चेतावनी दिएका थिए।

आईएसएसमा हावा छिर्ने, इन्जिन आफैँ सक्रिय हुने र चिरा पर्ने समस्या देखा परेका थिए।

रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसले पछि आईएसएसको प्रणाली पूर्ववत् सामान्य स्थितिमा फर्किएको जनाएको थियो।

अन्तरिक्ष केन्द्रका ब्याटरीहरू रिचार्ज गर्ने क्रममा धुवाँ देखिएको रुसी अन्तरिक्ष निकायले जनाएको छ। उसका अनुसार अन्तरिक्षयात्रीहरू अहिले "नियमित अभ्यास" गर्न फर्किसकेका छन्।

अहिले आईएसएसमा दुई रुसी, तीन अमेरिकी, एक फ्रान्सेली र एक जापानी गरी कुल आठ अन्तरिक्षयात्री छन्।

जलेको प्लास्टिकको गन्ध रुसी खण्डबाट अमेरिकी खण्डसम्म पुगेको बताइन्छ।

रुसको रिया नोभोस्ती समाचारसंस्थाका अनुसार अमेरिकी अन्तरिक्ष निकाय नासाले बिहीवार यात्रीहरू अन्तरिक्षमा हिँड्ने योजना यथावत् रहेको जनाएको छ।

भर्खरै आईएसएससँग जोडिन पुगेको नाउका मोड्यूलमा दुई रुसी अन्तरिक्षयात्रीले काम गर्ने योजना पनि छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

गत सेप्टेम्बर १ मा रुसी अधिकारी भ्लादिमिर सोलोभ्योभले पुराना उपकरण र पार्टपुर्जाका कारण आईएसएस कामै नलाग्नेगरी बिग्रिन सक्ने चेतावनी दिएका थिए।

रुसी खण्डमा भएको उडानसँग सम्बन्धित प्रणालीको ८० प्रतिशत भागको मिति गुज्रिसकेको एनर्जिया स्पेस कम्पनीका प्रमुख इन्जिनियर सोलोभ्योभले सरकारी सञ्चारमाध्यमलाई बताए।

उक्त कम्पनीले रुसका लागि आईएसएसका खण्डहरू निर्माण गरेको थियो।

उनका अनुसार रुसको मालवाहक जार्या भागमा चिरा पर्न थालेको छ र समयक्रममा त्यसले विकराल रूप लिन सक्छ।

सन् १९९८ मा रुस, अमेरिका, क्यानडा, जापान र केही युरोपेली देशहरूको संलग्नतामा आईएसएस निर्माण गरिएको थियो।

त्यतिबेला यो १५ वर्ष टिक्ने बताइएको थियो।

गत एप्रिलमा रुसका उपप्रधानमन्त्री युरी बोरिसोभले सरकारी टीभीलाई आईएसएसका पाताहरू खिइएकाले दुर्घटना हुनसक्ने बताउँदै त्यस्तो हुन दिन नहुने बताएका थिए।

रुसी अन्तरिक्ष निकायले गत वर्ष पुरानो भएका कारण सन् २०३० उता आईएसएस सञ्चालन गर्न नसकिने बताएको थियो।

हालैका वर्षहरूमा बजेट कम गरिएका र भ्रष्टाचार काण्डहरूका कारण रुसको अन्तरिक्ष कार्यक्रम प्रभावित बनेको छ।

तथापि रुसले शुक्र ग्रहमा पुग्ने अभियान, अन्तरिक्ष गएर फर्किन सक्ने रकेट निर्माण र आगामी वर्ष चन्द्रमाको सतहमा पुग्ने अभियान घोषणा गरेको छ।

गत जुलाईमा आईएसएससँग जोडिन पुगेको नयाँ रुसी खण्डको इन्जिन त्रुटिवश सक्रिय हुन पुग्दा उक्त अन्तरिक्ष केन्द्रको सन्तुलन प्रभावित भएको र त्यसको स्थान केही सर्न पुगेको अधिकारीहरूले बताएका थिए।

पछि उक्त समस्या समाधान भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी गरिन्छ अन्तरिक्षमा शौच