नेपाल-भारत फुटबल: खेलाडीलाई मात्र हैन प्रशिक्षकलाई पनि पहेँलो कार्ड, किन हुन्छ दुई देशबीचको खेलमा सधैँ तनाव

तस्बिर स्रोत, RSS

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

नेपाल र भारतबीच दशरथ रङ्गशालामा बिहीवार र आइतवार दुई मैत्रीपूर्ण फुटबल खेल भए।

मैत्रीपूर्ण फुटबलको उद्देश्य थियो अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारी। अर्थात् दुवै टोलीले माले पुग्नुअगाडि आफ्नो टोलीमा देखिएका कमीकमजोरी सुधार्ने प्रयास।

तर मैदानमा देखिएका घम्साघम्सीका दृश्यहरूले भने ती खेललाई मैत्रीपूर्ण वा अभ्यास खेल भनिरहेका थिएनन्।

मैदानको प्रतिस्पर्धा यस्तो थियो कि मानौँ यी दुई टोली कुनै ठूलो प्रतियोगिताको उपाधि हात पार्न भिडिरहेका छन्।

मैदानभित्र खेलाडीको जोस जस्तो थियो, बक्समा खेल पदाधिकारीहरूको अवस्था पनि उस्तै तनावपूर्ण थियो।

मैदानमा उपस्थित दर्शकहरूको हुटिङ त भन्नै परेन। "नेपाल, नेपाल..." को निरन्तर नारा र आफ्नो खेलाडीको समर्थन त छँदैछ, विपक्षीलाई हुटिङ पनि उत्तिकै थियो।

दोस्रो खेल हेर्न पूर्वप्रधानमन्त्री केपी ओली र वर्तमान गृहमन्त्री बालकृष्ण खाँड पनि खेल हेर्न पुगेका थिए।

खेल सम्हाल्न रेफ्री प्रज्वल क्षेत्रीलाई हम्मेहम्मे नै पर्‍यो। उनले खेलमा चार पहेँलो कार्ड देखाए।

उनले नेपाली प्रशिक्षक अब्दुल्ला अल्मुटाइरीलाई चेतावनी दिनुपर्‍यो र भारतीय प्रशिक्षक इगोर स्टिमाक त पहेँलो कार्ड नै दिए।

तनावको त्यो माहौलमा २ -१ ले भारतको पक्षमा सकिएको खेललगत्तै पोस्ट-म्याच प्रेस कन्फ्रेन्समा भारतीय प्रशिक्षक स्टिमाकले भने, "खासमा यो मैत्रीपूर्ण खेल हो। तर मैत्रीपूर्णभन्दा धेरै बढी देखियो।"

सधैँ प्रतिस्पर्धा

भारतका क्रोएशियाली प्रशिक्षक स्टिमाकले नेपाल र भारत बीचको फुटबल प्रतिद्वन्द्विताको इतिहास बुझे कि बुझेनन्, तर पहिलो खेलमा नेपालसँग १-१ को बराबरीमा रोकिएपछि उनी भारतमा आलोचित भइसकेका थिए।

पछिल्लो समय भारतलाई राम्रो नतिजा दिन नसकिरहेका उनी खास गरी नेपाललाई पनि जित्न नसकेको भन्दै भारतीय मिडियाको तारो बने।

मैदानमा नेपाल र भारत भिड्दा यो खेल सामान्य स्तरभन्दा माथि उठ्छ।

राष्ट्रिय टोलीका पूर्वरक्षक राकेश श्रेष्ठ भन्छन्, "भारतसँग खेल्दा अर्कै जोस हुन्छ। किनकि भारतलाई जित्नु भनेको दक्षिण एशियामा च्याम्पियन बने जस्तै 'फीलिङ' आउने हो। त्यसैले ज्यान दिएर खेल्छौँ।"

इतिहास र नतिजाले पनि त्यही भनेको छ।

नेपाल र भारत बीचको फुटबल प्रतिस्पर्धा झन्डै चार दशक पुग्न लागिसक्यो।

नेपाल र भारतको तुलना

भारतलाई दक्षिण एशियाली फुटबलको "पावरहाउस" मानिन्छ। फुटबलको हरेक क्षेत्रमा भारत नेपालभन्दा उत्कृष्ट टोली हो।

राज्यले गर्ने लगानी, फुटबल पूर्वाधारको र नतिजाको हिसाबमा पनि भारतको लक्ष्य दक्षिण एशियाबाट माथिल्लो स्तरमा पुगेको देखिन्छ।

भारतको इन्डियन सुपर लीग आईएसएल विश्वकै महँगो घरेलु प्रतिस्पर्धाहरूमा गनिन थालिसकेको छ।

नेपाल साफ च्याम्पियनशिपको सेमिफाइनलभन्दा माथि उक्लिन सकेको छैन भने भारतले त्यो उपाधि सात पटक उचालिसकेको छ।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पहिलो खेल १-१ को बराबारीमा टुङ्गिएको थियो भने दोस्रो खेलमा भारत २-१ ले विजयी भयो

यद्यपि नेपाल र भारतको प्रतिस्पर्धाको माहौल भने जहिले पनि बेग्लै हुने गर्छ। अनि नेपाललाई हराउन छिमेकी देशलाई हम्मेहम्मे नै परेको छ। जित पनि निकै साँघुरो गोलमा मात्र भएको देखिन्छ।

इतिहास

सन् १९८५ बाट खेल्न थालेको नेपाल र भारतबीच अहिलेसम्म २२ खेलमा जम्काभेट भइसक्यो ।

तीमध्ये तीन खेलमा मात्र नेपालले जित हात पारेको छ। पन्ध्र खेलमा भारतले जितेको छ अनि चार खेल बराबरीमा टुङ्गिएको छ।

तर नेपालले पाएको तीनवटा जितमा भने गर्व गर्न लायकका क्षणहरू निर्माण भएका छन्।

नेपालले भारतलाई पहिलो पटक सन् १९९३ मा ढाकामा भएको दक्षिण एशियाली खेलकुद प्रतियोगितामा हराएको थियो। त्यतिबेला राष्ट्रिय टोली बीचको प्रतिस्पर्धा थियो।

ढाकामा अन्तिम दिनसम्म नेपालले कुनै पनि स्वर्ण जितेको थिएन र अन्तिम खेल फुटबल थियो। प्रतिद्वन्द्वी थियो भारत।

नेपालका ऐतिहासिक जित

भारतलाई जित्न नसके नेपाली टोली दक्षिण एशियाली खेलकुदमा स्वर्णविहीन भएर फर्किनुपर्थ्यो।

त्यो तनावको माहौलमा सुरु भएको फाइनलमा नेपालको लागि पहिलो गोल त्यति बेलाका चर्चित खेलाडी उमेश प्रधानले गरेका थिए।

हाल अमेरिकाको टेक्ससमा बस्दै आएका प्रधान सम्झन्छन्, “सबैको आँखा नेपाली फुटबलमाथि थियो। देशको इज्जतको लागि स्वर्ण चाहिएको थियो। हामीमा जिम्मेवारी र जोस दोबर थियो। अनि सबैले गजब नै खेल्यौँ।“

उमेश प्रधान र मणि शाहको गोलमा निर्धारित समय २-२ को बराबरीपछि टाईब्रेकरमा नेपालले स्वर्ण जित्यो।

भारतविरुद्ध अन्य जित

नेपालले भारतलाई दोस्रो पटक सन् २००६ को एएफसी च्यालेन्ज कपको क्वार्टरफाइनलमा हरायो। संयोगले त्यो खेल पनि बाङ्ग्लादेशमा नै भएको थियो।

प्रदीप महर्जनको दुई र वसन्त थापाले एक गोल गरेपछि नेपालले भारतलाई ३-० ले पराजित गरेको थियो। आफ्नो स्तर निकै माथि पुगिसकेको ठानेको भारतले त्यस बेला वरिष्ठ खेलाडीहरू पठाएको थिएन।

यो त्यही प्रतियोगिता हो जहाँ सेमिफाइनलमा प्रदीप महर्जनले दुई पेनाल्टी प्रहारमा गोल गर्न नसक्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।

सन् २०१३ मा काठमाण्डूको दशरथ रङ्गशालामा पाएको जित भने भारतविरुद्ध नेपाल प्राप्त गरेको प्रभावशाली जित मानिन्छ।

साफ च्याम्पियनशिपको लीग खेलमा २-१ ले हराएको थियो। गोल गरेका थिए अनिल गुरुङ र जुमानु राईले।

दशरथ रङ्गशालामा भरिभराउ दर्शकका माझ खेलको निर्णायक गोल गरेका राईले भन्छन्, "मैले राष्ट्रिय टोलीबाट ११ गोल गरेँ। तर त्यो नै सबैभन्दा राम्रो गोल हो जसले भारतलाई हराउन सक्यो। आज पनि त्यो गोल हेर्दा रोमाञ्चित हुन्छु। "

नरमाइला क्षणहरू

भारतविरुद्धका खेलमा थुप्रै रोचक घटनाहरू छन्। केही खुसीका केही दुःखका घटनाहरू पनि।

नेपाली टोलीका रक्षक जनक सिंह थारूका लागि भारतसँगको खेल सधैँको लागि नमिठो सम्झना बन्यो।

सन् २००५ मा पाकिस्तानको कराँचीमा भएको साफ च्याम्पियनशिनपमा भारतीय कप्तान भाइचुङ भुटियासँग ठोक्किँदा घुँडामा चोट बोकेका उनको खेल जीवन नै समाप्त भयो।

थारू भन्छन्, "भुटियालाई रोक्ने जिम्मा मलाई दिइएको थियो। उनीसँग जुझ्ने क्रममा घुँडा नै पड्कियो। यसले मेरो खेल जीवन नै सकियो।"

भारतसँगको खेलमा नेपाली समर्थकहरूको चासो बढ्नुको अर्को कारण त्यहाँ खेल्ने नेपाली मूलका खेलाडीहरू पनि मानिन्छ।

भारतीय खेलाडीको नेपाल नाता

सिक्किमका भाइचुङ भुटियाले लामो समय भारतीय फुटबलमा प्रभाव जमाउँदा होस् वा अहिले नेपालसँग प्रत्यक्ष नाता गाँसिएका कप्तान सुनील क्षत्री हुन्, नेपाली समर्थकहरूले उनीहरूलाई पनि आफ्नोपनको दृष्टिकोणले हेर्ने गरेको देखिन्छ।

क्षत्रीका थुप्रै समर्थकमध्येका एक राष्ट्रिय महिला टोलीकी सदस्य अनिता बस्नेत भन्छिन्, "म सुनीलकी फ्यान। उसको खेल पहिलेदेखि पछ्याउँदै आएको छु। रङ्गशालामा प्रत्यक्ष हेर्न झन् मज्जा। तर समर्थन चाहिँ आफ्नै टीमलाई हो। "

भारतसँग नेपालको अधिकांश भेट दक्षिण एशियाली फुटबल र साफ च्याम्पियनशिनपमा नै हुने गर्छ। त्यसबाहेक विश्वकप छनोट, एशियाली खेलकुद र केही मैत्रीपूर्ण खेलमा दुई टोली भिडेका छन्।

अहिले दुवै टोलीको उद्देश्य अर्को महिना माल्दिभ्समा हुने प्रतियोगिता जित्ने छ। त्यहाँ पनि दुवै देशबीच जम्काभेट हुने सम्भावना छ।