वन्यजीवका तस्बिरः के यो संसारको सबैभन्दा राम्रो लामखुट्टे हो?

तस्बिर स्रोत, Gil Wizen/WPY

तस्बिरको क्याप्शन, साबेट्स प्रजातिको लामखुट्टेः पोथीले अण्डा उत्पादन गर्न लाग्दा मात्र रगत चुस्छन्
    • Author, जोनथन एमस
    • Role, बीबीसी विज्ञान संवाददाता

यसको सौन्दर्य देखेर तपाईँ चकित पर्नुहुन्छ। अद्भुत भुवादार खुट्टा र इन्द्रधनुषी चमक भएको यो पोथी लामखुट्टे अत्यन्त सुन्दर देखिन्छ।

यो मध्य र दक्षिण अमेरिकामा पाइने साबेट्स प्रजातिको लामखुट्टे हो।

उष्णप्रदेशमा फैलिने रोगहरूको यो एउटा महत्त्वपूर्ण वाहक पनि हो।

यो तस्बिर अन्टेरीओ, क्यानडाका गिल विजनले खिचेका हुन्। यस वर्षको वाइल्डलाइफ फोटोग्राफी प्रतियोगितामा यो तस्बिरको निकै प्रशंसा भएको छ।

उक्त प्रतियोगिताको ५७ औँ संस्करणमा सहभागी भएर सराहना बटुलेका केही अन्य तस्बिर पनि यहाँ प्रस्तुत गरिएको छ।

गिल कीटवैज्ञानिक हुन्। त्यसैले उनले आफ्नो विषयवस्तु राम्ररी बुझेका छन्। अनि यो खालको तस्बिर खिच्न प्रशस्त योजना र धैर्य चाहिन्छ तथा अलिकति कष्ट पनि भोग्नुपर्छ।

साबेट्स जातका लामखुट्टेहरू अत्यन्तै चञ्चल हुने भएकाले तिनको तस्बिर खिच्न कठिन हुने गिलको अनुभव छ। यो तस्बिर सधैँ गर्मी र आर्द्रता हुने एमजन वर्षावनमा खिचिएको हो।

"यो लामखुट्टेले ससाना चाल र प्रकाशको सघनतामा हुने परिवर्तनमा पनि प्रतिक्रिया गर्छ," उनले भने।

"अर्थात् तस्बिर खिच्ने प्रयास गर्दा तपाईँ एकदम स्थिर बस्नुपर्छ अनि फ्ल्याश प्रयोग गरिएको छ भने लामखुट्टे भागेको देख्न पनि तयार हुनुपर्छ। भाग्यवश एउटा लामखुट्टे मात्र हुँदैन। किनभने तपाईँको टाउकोमाथि दर्जनौँ [लामखुट्टे] घुमिरहेका हुन्छन्।"

"यी लामखुट्टेहरू येलो फीभर र डेङ्गीजस्ता विभिन्न उष्णप्रदेशीय रोगका महत्त्वपूर्ण वाहक हुन्छ। यो तस्बिर खिच्दा मलाई यो र अरू लामखुट्टेले टोकेका थिए जसबाट रोग सर्ने जोगिम बढेको थियो। तर म अझै जीवित छु!"

स्टोर्म फक्स, जोनी आर्मस्ट्रङ, अमेरिका

तस्बिर स्रोत, Jonny Armstrong/WPY

यो फ्याउरी अलास्कास्थित एउटा वन्यजन्तु आरक्षभित्र पर्ने कार्लुक तालमा मरेको साल्मन माछा खोज्दैछे।

गिलको औँलाबाट रगत चुस्दै गर्दा लामखुट्टेले पछाडिका खुट्टा उचालेको हेर्नुहोस् त। ती संवेदनात्मक हुन्छन्। वरपर के भइरहेको हुन्छ त्यो थाहा पाउन उसले अतिसावधान हुनुपर्छ अनि पर्‍यो भने तत्कालै भागिहाल्नुपर्छ।

अरू खुट्टामा रौँका झुप्पा छन्। तिनको प्रयोजन पूरै थाहा नभए पनि तिनले भालेलाई आकर्षित गर्ने ठानिएको छ।

विश्वमा ३३ सयभन्दा बढी प्रजातिका लामखुट्टे पाइन्छन्। कमै मान्छेले मात्र तिनलाई मन पराउँछन्।

तिनलाई धपाउँदा प्रायः हामी तिनलाई राम्ररी हेर्दैनौँ। राम्ररी परीक्षण गर्ने हो भने तिनका रङ्गीन कत्ला र रौँ देखिने वाइल्डलाइफ फोटोग्राफी अफ द यीअर को आयोजक लन्डनस्थित न्याचरल हिस्ट्री म्यूजीअममा कार्यरत वरिष्ठ क्युरेटर एरिका मकेलिस्टर बताउँछिन्।

प्रकृतिमा सबै कुराको आफ्नो स्थान छ।

"पोथी लामखुट्टेले अण्डा उत्पादन गर्न लाग्दा मात्र रगत चुस्छन्। अरू बेला तिनले फूलको रस चुस्छन्। अनि ती परागसेचक बन्छन्," एरिका भन्छिन्।

"तपाईँले के बुझ्नुपर्छ भने ती भाइरस (डेङ्गी र येलो फीभर) ले तिनलाई बिगार्छन्।"

गिलको तस्बिरको शीर्षक "ब्यूटिफुल ब्लडसकर" अर्थात् "सुन्दर रक्तचूषक" छ।

तल अन्य तस्बिर प्रस्तुत गरिएको छ।

मशरूम म्याजिक, यूर्गेन फ्रोयन्ड, जर्मनी/अस्ट्रेलिया

तस्बिर स्रोत, Juergen Freund/WPY

अस्ट्रेलियाको क्वीन्सल्यान्डमा एउटा वर्षावनमा मरेको रूखमा उम्रिएको चम्किने च्याउ।

द ग्रेट स्विम, बुद्धिलिनी डि सोयजा, श्रीलङ्का/अस्ट्रेलिया

तस्बिर स्रोत, Buddhilini de Soyza/WPY

केन्याको मासाई माराको तालेक नदीमा बाढी आउँदा पौडिँदै गरेका भाले चीटाहरू। ती राम्रा पौडीबाज हुन्।

टक्सिक डिजाइन, ग्योर्गे पोपा, रोमानिया

तस्बिर स्रोत, Gheorghe Popa/WPY

रोमानियाको आपुसेनी पर्वतस्थित ज्यामाना उपत्यकामा ड्रोनबाट खिचिएको एउटा प्रदूषित नदीको तस्बिर।

लकडाउन चिक्स, गगन मेन्डिस विक्रमसिङ्घ, श्रीलङ्का

तस्बिर स्रोत, Gagana Mendis Wickramasinghe/WPY

एउटा भाले सुगा आहारा लिएर गुँड फर्किँदा उसका तीनवटा चल्ला भित्रबाट टाउको निकाल्दैछन्।

यो तस्बिर १० वर्षे गगनले कोलम्बोस्थित आफ्नो घरको बार्दलीबाट खिचेका हुन्।

यसपालिको वाइल्डलाइफ फोटोग्राफी अफ द यीअर प्रतियोगिताका विजेताहरूको घोषणा अक्टोबर १२ मङ्गलवारको दिन हुनेछ।