अफगान शरणार्थी: अफगानिस्तानबाट बाहिर जान कति सजिलो छ, कसले सहयोग गरिरहेको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, तालिबानले सत्ता कब्जा गरेपछि अफगान नागरिकहरू देशबाट अन्यन्त्र जान खोजिरहेका छन्

अफगानिस्तान र पाकिस्ताबीचको अतिव्यस्त सीमाक्षेत्रमा बाहिरबाट हेर्दा अवस्था सामान्यजस्तो देखिन्छ।

तर नजिकबाट नियाल्ने हो भने अवस्था कति परिवर्तन भइसकेको छ त्यो छर्लङ्ग हुन्छ।

केही दिनअघि सयौँ त्रसित अफगान नागरिकहरू सीमावर्ती नगर थोर्कममा भेलका भएका थिए।

तर व्यापारी र यात्रा अनुमतिपत्र भएका मानिसलाई मात्रै सीमा पार गर्न दिइएको छ।

पाकिस्तानी सीमामा खटिएका अधिकारीहरूले बीबीसी उर्दूसँग आफूहरूले सीमा पार गर्न खोज्ने व्यक्तिहरूको परीक्षण बढाएको जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्तका अनुसार पाकिस्तानमा दशकौँदेखि बसिरहेका तथा दर्ता भएका अफगान शरणार्थीको सङ्ख्या १४ लाखजति छ।

दर्ता नभएका व्यक्तिहरूलाई गणना गर्दा यो सङ्ख्या दोबर हुने ठानिएको छ।

अझ बढी छेकबार

तालिबानले काबुलको सत्ता आफ्नो नियन्त्रणमा लिएपछि विभिन्न देशले ठूलो स्तरको आप्रवासन सङ्कटबाट जोगिन विभिन्न कदम चालेका छन्।

तस्बिरको क्याप्शन, पाकिस्तान प्रवेश गर्न खोज्ने अफगानहरूले अहिले कडा सोधपुछ खेप्नुपरेको छ

यूएनएचसीआरको तथ्याङ्कअनुसार झन्डै सात लाख ८० हजार अफगान राहदानीवाहकहरू रहेको इरानले आफ्ना सीमा अधिकारीहरूलाई नाकाहरूमा आउने अफगान नागरिकहरूलाई फिर्ता गर्न निर्देशन दिएको छ।

इरानको बाटो हुँदै अफगान आप्रवासीको ठूलो सङ्ख्या आफ्नो देशमा प्रवेश गर्ने चिन्ता टर्कीमा पाइन्छ।

त्यहाँ ३६ लाख सिरियाली शरणार्थी दर्ता भएका छन् र अन्य देशका तीन लाख २० हजार शरणार्थीको बसोबास रहेको छ।

टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले हालैका सातामा सयौँको सङ्ख्यामा अफगान शरणार्थीहरू प्रवेश गरेको इरानी सीमामा पर्खाल निर्माण सम्पन्न गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय समुदायको कस्तो सहयोग

यसैबीच संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले २० वर्षको सैन्य कारबाहीका क्रममा पश्चिमा सेनाहरूसँग अनुवादक र अन्य सहयोगी भूमिकामा काम गरेका हजारौँ अफगानहरूलाई उद्धार गरिरहेका छन्।

अमेरिकाको अनुरोधमा युगान्डाले २,००० अफगान शरणार्थीलाई स्वीकार गर्न सहमति जनाएको छ।

क्यानडाले आफूले महिला नेत्री, मानवअधिकार कार्यकर्ता र संवाददाताहरूलाई तालिबानको प्रतिशोधबाट जोगाउन २०,००० जनालाई शरण दिने जनाएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अफगानिस्तानबाट शरणार्थीको ओइरो लाग्ने डरले टर्कीले इरानसँगको सीमामा पर्खाल बनाएको छ

यूकेले पाँच वर्षको अवधिमा त्यति नै सङ्ख्यामा अफगान नागरिकलाई पुनर्वास गराउने बताएको छ र यो वर्ष पहिलो खेपमा ५,००० त्यहाँ जाने अपेक्षा गरिएको छ।

अफगान नागरिकहरू बोकेको पहिलो विमान उज्बेकिस्तानबाट उडेर बुधवार जर्मनीमा अवतरण गरेको थियो।

चान्सलर एङ्गेला मर्कलले जर्मनसँगै काम गरेका अफगान नागरिक, मानवअधिकारकर्मी, वकिल र अरू गरी १० हजार जनासम्म जोखिममा रहेको बताइन्।

तर युरोपेली सङ्घले पनि अहिलेको अवस्थाले आफ्नो महादेशमा ठूलो स्तरको आप्रवासन सङ्कट निम्त्याउन सक्ने चिन्ता जनाएको छ।

सोमवार टेलिभिजन सम्बोधनमा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले युरोपेली देशहरूले "सम्भावनालाई ध्यान दिँदै असन्तुलित आप्रवासीको प्रवेशविरुद्ध आफूहरूलाई सुरक्षित पार्नुपर्ने" बताएका थिए।

उनले थपे, “युरोप एक्लैले अहिलेको अवस्थाको नियति बेहोर्न सक्दैन।"

‘मानिसहरूको सुरक्षा सुनिश्चितता’

आफ्ना पछिल्ला कदमपछि पश्चिमा देशहरूले जोखिममा रहेका अफगान नागरिकको सुरक्षाका लागि खासै केही नगरेको आरोप खेप्न थालिसकेका छन्।

बर्लिनमा जर्मन सरकारले अझ धेरै शरणार्थीलाई प्रवेश दिनुपर्ने माग गर्दै प्रदर्शन गरेकी शरणार्थी अधिकारपक्षधर अभियानकर्ता एलिना ल्यापिनाले आफ्नो सरकार "विफल भएको" बताइन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यूएनएचसीआरका फिलिपो ग्रान्डी मानिसहरूलाई अफगानिस्तानबाट बाहिर जान नदिइएकाले धेरै शरणार्थी हुने कुरामा विश्वस्त छैनन्

उनले रोएटर्स समाचारसंस्थासँग भनिन, “ खतरामा रहेका मानिसहरूलाई तत्कालै अफगानिस्तानबाट विमानमा उद्धार गरेर यहाँ जर्मनीमा सुरक्षित स्थानमा ल्याइओस् भन्ने हाम्रो माग हो।”

केही समयअघिसम्म पश्चिमा देशहरूले आफ्नो मुलुकले फिर्ता गरेका व्यक्तिहरूलाई अफगानिस्तानमा फर्काउँदै आएका थिए।

बीबीसीलाई दिएको अन्तरवार्तामा राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले त्यसरी अफगानिस्तान फर्काउने काम रोक्न अनुरोध गरेका थिए।

उनले इरान र पाकिस्तानलाई तालिबानको शासनका कारण आफ्नो सुरक्षालाई लिएर चिन्तित रहेका व्यक्तिहरूका लागि सुरक्षित मार्ग उपलब्ध गराउन आग्रह गरेका थिए।\

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अफगानिस्तानको सङ्कट समाधान गर्न अन्तर्राष्ट्रिय पुनर्वास कार्यक्रम आवश्यक पर्ने राष्ट्रसङ्घको आकलन छ

तत्काल सहायता

दुवै देशहरू लामो समयसम्म अफगानहरूका लागि सुरक्षित रहेको भन्दै उनले थप शरणार्थीको आगमनसँग जुझ्न ती देशलाई गम्भिर आर्थिक र बन्दोबस्तीसम्बन्धी सहयोग चाहिने उल्लेख गरे।

दीर्घकालमा उक्त सङ्कटसँग जुझ्न एउटा बृहत् पुनर्वास कार्यक्रम आवश्यक पर्न सक्छ।

तर संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले मानिसहरूलाई बाहिर जान नदिएकाले ठूलो स्तरको आप्रवासनसम्बन्धी गतिविधि हुनेमा आशङ्का व्यक्त गरे।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अफगानिस्तानभित्र नै विस्थापित भएका ३० लाख मानिसबारे पनि राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ

"हामीले अफगानिस्तानमा ३० लाख जनाभन्दा बढी आन्तरिक विस्थापित रहेको महत्त्वपूर्ण तथ्य बिर्सनुहुँदैन। पछिल्ला केही दिनमा सयौँ मानिसहरूको आवतजावत भएको छ। उनीहरूलाई तत्कालै मद्दत चाहिएको छ।"

उनले थपे, "अफगानिस्तानको स्थितिलाई स्थिर बनाउन त्यहाँ काम गरिरहने मानवीय सहायता निकायको कामलाई राजनीति जे जस्तो भएपनि सहयोग गरिरहनु जरुरी छ किनभने अधिकांश मानिसहरूका लागि त्यो एउटा मात्रै विकल्प हो।”

बीबीसी उर्दूकी साराह अतिफले पश्चिमोत्तर पाकिस्तानको थोरकाम सीमाबाट गरेको रिपोर्टिङ

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश
भिडिओ क्याप्शन सुरु हुँदैछ, तालिबान फर्किएपछि अफगान दोभासेहरू चिन्तित