कोभिड ब्रजिलः महिलाको नेतृत्वमा भएका सहरमा '४३ प्रतिशतले कम मृत्यु'

तस्बिर स्रोत, Reuters

    • Author, मरिआना सान्चेज
    • Role, बीबीसी न्यूज ब्रजिल

अहिले कोभिड महामारीले पूरै विश्व आक्रान्त भएको बेला महिला नेतृत्वका राम्रा कामले धेरैको ध्यानाकृष्ट भएको छ।

यसअघि विभिन्न देशको नेतृत्व गर्नेहरूमध्ये न्यूजील्यान्डकी जसिन्डा आर्डर्न, ताइवानकी साई यिङ वेन र बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुमै प्रभावकारी उपाय अपनाउँदै कोरोनाभाइरसको प्रकोप थप फैलिन रोकेको भन्दै चर्चा कमाएका थिए। 

तर अहिलेसम्म लिङ्ग र स्वास्थ्यनीतिबीचको सम्बन्ध धेरैजसो दृष्टान्तका भरमा छन्।

ब्रजिलमा भएको एउटा नयाँ अध्ययनका अनुसार पुरुषको तुलनामा महिलालाई नेतृत्वमा पाउँदा महामारीमा केही धेरैको ज्यान जोगिएको देखिन्छ।

अध्ययनकर्ताहरूले महिलाले शासन गरेका सहरमा कोभिडका कारण ४३ प्रतिशत कम मृत्यु भयो भने अस्पतालमा ३० प्रतिशत कम मानिस भर्ना भए।

ती अध्ययनकर्ताले गरेको व्याख्याका अनुसार त्यस्तो सम्बन्ध औषधोपचारबाहेक अन्य विषयसँग सम्बन्धित छ।

उदाहरणका लागि, नाक र मुख छोप्ने मास्कलाई अनिवार्य पार्ने र ठूला जमघटमा प्रतिबन्ध लगाउने काममा महिलाहरू अग्रसर देखिन्छन्।

"हाम्रो नतिजाले केन्द्रीय नेताहरूको खराब नीतिहरू उल्टाउनेगरी कसरी स्थानीय नेताहरूले काम गर्न सक्छन् भन्ने समेत देखाएको छ।"

जीवन जोगाउने काम

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अध्ययनमा महिलाले शासन गरेका सहरहरूमा ३० प्रतिशत कम मानिस अस्पताल भर्ना भएको पाइयो

उक्त अध्ययन ब्रजिलका ५,५०० नगरपालिकामध्ये ७०० वटामा केन्द्रित भएको थियो जहाँ सन् २०१६ को चुनावमा महिला र पुरुष उम्मेदवारका बीच कडा प्रतिस्पर्धा भएका थिए।

एकै चरणमा चुनाव गरिएका सहरलाई मात्र अध्ययनमा समेटिएको थियो जहाँ दुई लाखभन्दा कम मानिस बस्थे।

यस्तो नियम बनाएर अनुसन्धानकर्ताहरू जोकोहीलाई समेटेर नतिजा हेर्न चाहन्थे।

त्यसरी उनीहरू एउटा तुलना गर्न सकिने, साना र मध्यम खालका सहरहरूमा पुगे जहाँ महिला वा पुरुष जो पनि नेतृत्वमा हुन सक्थे।

औपचारिक तथ्याङ्कअनुसार उनीहरूले महिलाहरूले शासन गर्न ठाउँमा प्रतिएक लाख जनसङ्ख्यामा ४३.७ प्रतिशत कम कोभिडका बिरामी पाए।

उक्त अध्ययनका अनुसार महिला नगरप्रमुखहरूले पुरुष नेताहरूले भन्दा धेरै गैरऔषधोपचारका उपाय प्रयोग गरे।

जसअनुसार नेत्रीहरूले पुरुषको तुलनामा ५.५ प्रतिशत बढी ठूला जमघटलाई रोकेको पाइयो, अनिवार्य मास्क लगाउने काम सुनिश्चित गर्ने काममा उनीहरू ८ प्रतिशत बढी अग्रसर देखिए भने अनिवार्य परीक्षणमा जोड दिन १४ प्रतिशत बढी अग्रसर देखियो।

अध्ययनकर्ताहरूले यतिखेर १३ प्रतिशत सहर महिला नेतृत्वमा हुँदा यदि ब्रजिलका आधा जसो सहर महिलाको नेतृत्वमा हुन्थ्यो भने कति जीवन जोगिन्थ्यो होला भन्ने आकलन गरेका छन्।

उनीहरूले त्यस्तो अवस्थामा १५ प्रतिशत कम मानिसहरूको मृत्यु हुन्थ्यो भन्ने हिसाब निकालेका छन्।

अथवा अर्को तरिकाले भन्दा ब्रजिलमा ज्यान गुमाएका पाँच लाख ४० हजारमध्ये यतिखेर ७५ हजार जनाजति जीवितै हुने थिए।।

चयन

तस्बिर स्रोत, Getty Images

तर अध्ययनले के कारण महिलाहरूले पुरुषभन्दा राम्रो निर्णय गर्छन् भन्ने देखायो त?

अध्ययनले उमेर र शैक्षिक सीपजस्ता कैयौँ पक्षहरू केलाएको भए पनि त्यसमा केही सम्बन्ध भने पाएको छैन।

उक्त अध्ययनले स्वास्थ्यस्थिति सुधार्न महामारीअघि चालिएका उपायसँग समेत कुनै सम्बन्ध नभएको पाएको छ। जस्तो कि अस्पतालका शय्या बढाउने वा जनस्वास्थ्यमा लगानी गर्ने।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ब्रजिलका राष्ट्रपतिले धेरैतिर सामाजिक दूरी कायम गर्ने नियमको उल्लङ्घन गरेका थिए

रोचक कुरा के छ भने नेत्रीहरूले चरम दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारोले धेरै मत पाएका ठाउँमा समेत उनका नीतिविरोधी उपायहरू चालेका थिए।

बोल्सोनारोले मास्क लगाउने र अन्य प्रतिबन्धहरू लगाउने कामको विरोध गर्दै व्यक्तिगत रूपमा सामाजिक दूरी कायम गर्ने नियमको उल्लङ्घन गरेका थिए।

तस्बिरको क्याप्शन, विश्वभरि महामारीको प्रारम्भिक चरणदेखि नै नेतृत्व गर्ने धेरै महिलाको प्रशंसा भएको छ

साउ पाउलो र बार्सिलोनाका साथै इन्स्परका यूनिभर्सिटीहरूले गरेको अध्ययनको अन्यत्र समीक्षा हुन बाँकी छ।

तर त्यसको निष्कर्ष धेरैतिर मिल्दोजुल्दो देखिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ?