फुटबल कोपा अमेरिका: मेस्सीलाई राष्ट्रिय जर्सीमा पहिलो उपाधि

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेस्सीलाई उचालेर खुशी व्यक्त गर्दै अर्जेन्टिनी टोलीका खेलाडीहरू
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

एन्जेल डी मारियोले गरेको एकमात्र गोलमा ब्रजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ।अर्जेन्टिनाले ब्रजिललाई रियो डी जेनेरियोस्थित उसकै घरेलु मैदान माराकानामा १-० ले पराजित गरेको थियो।

यो अर्जेन्टिनाले २८ वर्षपछि पाएको उपाधि हो।

रोड्रिगो डी पाउलले दिएको लामो पासमा डी मारियोले बायाँ खुट्टाले गरेको दुई 'टच' सुन्दर ढङ्गले गोलमा परिणत भएको थियो।

खेल सकिएको फाइनल सिट्ठी बजे लगत्तै मेस्सी र उनका अर्जेन्टिनी साथीहरुले ७ हजार ८ सय दर्शक उपस्थित रङ्गशालामा लामो समय खुसीयाली मनाए।

खेल जीवनको उत्तरार्द्ध तिर ढल्दै गरेको भनिएक‍ा विश्वका महान्‌तम खेलाडीको सूचीमा गनिएका ३४ वर्षीय मेस्सीको यो राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।

तस्बिर स्रोत, Getty Images

यसअघि आफ्नो टोलीलाई २०१४ को विश्वकप फाइनलसम्म पुर्‍याउन सफल भए पनि टोली जर्मनीसँग पराजित हुन पुगेको थियो।

"अर्जेन्टिना च्याम्पियन, मेस्सी च्याम्पियन" उपाधि जिते लगत्तै अर्जेन्टिनी टिभीले भनेको थियो।

प्रतियोतियाभर ४ गोल गरेका मेस्सी प्रतियोगिताको उच्च गोलकर्ता बने भने उनी ब्रजिलका नेयमारसँगै 'उत्कृष्ट खेलाडी' को संयुक्त विजेता पनि बने।

तर उनले प्रतियोगिताको अन्त्य अझ सुन्दर ढङ्गले गर्ने अवसर पाएका थिए। खेलको 'इन्ज्युरी टाइम'मा उनले पोस्टको ६ यार्ड भित्र पाएको 'वान भर्सेस वान' को भने सदुपयोग गर्न सकेनन्।

यो अर्जेन्टिनाले जितेको १५ औँ कोपा उपाधि हो र यो सँगै टोलीले उरुग्वेसँग कोपा उपाधि बराबरी गरेको छ।

टोलीले सन् १९९३ को कोपापछि पहिलो पटक मुख्य प्रतियोगिता जितेको हो।

यसअघि सन् २००७, २०१५ र २०१६ को फाइनलमा पुगेर पनि अर्जेन्टिना उपाधि चुम्नबाट वञ्चित भएको थियो।

राष्ट्रलाई प्रमुख उपाधि जिताउन नसक्दा मेस्सी यति दिक्क भएका थिए कि २०१६ को फाइनलमा हारेपछि उनले राष्ट्रिय टोलीबाट सन्यास नै लिएका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कोपा अमेरिका फाइनलमा पराजित भएपछि नेयमार

पछि अर्जेन्टिनी समर्थकहरूको चाहनामा राष्ट्रिय टोलीमा फर्किएका उनी २०१८ को विश्वकपमा फ्रान्ससँग क्वार्टर फाइनलमा पराजित हुन पुगेको थिए।

मेस्सीका मिल्ने साथी ब्रजिलियन नेयमार भने पराजित भएपछि निकै बेर रङ्गशालामा रोएका थिए।