टोक्यो ओलिम्पिक्स: कोभिडका घटना बढेसँगै आपत्कालीन स्थितिको घोषणा

तस्बिर स्रोत, Getty Images

जापानमा बढ्दो कोरोनाभाइरस सङ्क्रमणका कारण दर्शकबिना नै ओलिम्पिक खेलहरू सञ्चालन गरिने अधिकारीहरूले बताएका छन्।

साथै टोक्यो ओलिम्पिक्स अवधिभरको निम्ति राजधानी टोक्योमा आपत्कालीन स्थिति लागु गरिएको छ।

सङ्क्रामक भेरिअन्टहरू फैलिएका कारण आगामी सातादेखि उक्त नियम लाग्ने बताइएको छ।

कस्तो आपत्कालीन स्थिति?

प्रधानमन्त्री योशिहिदे सुगाले पत्रकारहरूसँग कुरा गर्दै आपतकालीन स्थिति १२ जुलाईदेखि २२ अगस्टसम्म लागु हुने बताए।

बार तथा रेस्टुराँहरूलाई मदिरा बेच्न नदिइने र राति ८ बजे अगावै बन्द गरिनुपर्ने भनिएको छ।

विदेशबाट दर्शक आउन यसअघि नै प्रतिबन्ध लगाइएको थियो।

तस्बिर स्रोत, Reuters

थप सङ्क्रामक डेल्टा भेरिअन्टले टोक्योमा सङ्क्रमण तेज गराएको र अहिले एकतिहाइ बिरामीलाई सोही भेरिअन्टले सङ्क्रमण भएको पाइएको छ।

जापानमा महामारीकै बेला ओलिम्पिक गर्न लागेको भनेर देशभित्र व्यापक विरोध पनि भइरहेको छ।

महामारीको मार

गत वर्ष नै हुनुपर्ने ओलिम्पिक महामारीकै कारण यो वर्ष सारिएको थियो।

एप्रिल महिनादेखि जापानमा सङ्क्रमणको पछिल्लो लहर सुरु भएको हो।

हालसम्म त्यहाँ सङ्क्रमितको चाप तुलनात्मक कम रहेको छ अनि मृत्युको सङ्ख्या करिब १४ हजार ९ सय रहेको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जापानमा हालैमात्र ठूला खोप कार्यक्रम सुरु गरिएको छ

बुधवार देशभरिमा २१ सय ८० सङ्क्रमित थपिएकामा टोक्योमा तिनको सङ्ख्या ९२० थियो।

ओलिम्पिक आयोजक समिति, सरकार अनि अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका अध्यक्ष थोमस बाखमाझ भएको बैठकपश्चात् आपत्कालीन स्थिति लागु गर्ने घोषणा गरिएको थियो।

'सुरक्षित' आयोजना

ओलिम्पिक प्रतियोगिताका खेलहरू टोक्योमा २३ जुलाईदेखि ८ अगस्टसम्म हुँदैछन् भने पारालिम्पिक प्रतियोगिता २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म हुँदैछन्।

तस्बिर स्रोत, Getty Images

यसबिच टोक्यो गेम्सका आयोजकहरूसँगको भर्चुअल कुराकानीमा अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका अध्यक्ष थोमस बाखले उनी प्रतियोगिता सुरक्षित रूपमा अघि बढ्नेमा ढुक्क रहेको बताए।

उनले भने, "मलाई लाग्छ हामी सन्तुष्ट हुनसक्छौँ कि लागु गरिएका कडा नियमहरूले जापानी जनता र सहभागीहरूलाई सुरक्षित पार्नेछ।"

आयोजकहरूले खेलको टिकट काटिसकेकाहरूसँग माफी मागेका छन्।