उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउन कृत्रिम गर्भाधान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नाजिन र फाटु मात्र पृथ्वीमा जीवित रहेका उत्तरी सेतो गैँडाहरू हुन्
    • Author, निक हल्यान्ड
    • Role, पिपल सेभिङ द वर्ल्ड, बीबीसी वर्ल्ड सर्भिस

नाजिन र फाटु मात्रै पृथ्वीमा जीवित रहेका उत्तरी सेतो गैँडाहरू हुन्।

तिनीहरू आमाछोरी हुन्।

"हरेक दिन उनीहरूलाई हेर्दै यो प्रजातिका यी अन्तिम प्राणी हुन् भनेर सोच्नु नरमाइलो कुरा हो," अफ्रिकाको केन्यास्थित ओल पेजेटा प्राकृतिक संरक्षण केन्द्रमा उनीहरूको रेखदेख गर्ने जेम्स वेन्डा भन्छन्।

उनीहरू लोप हुने अवस्थामा रहे पनि संरक्षणकर्ताले एउटा समूह त्यो प्रजातिलाई बचाउन एउटा अभूतपूर्व योजना बनाएको छ।

अफ्रिकामा अन्तिम उत्तरी सेतो गैँडा

ओल पेजेटा माउन्ट केन्यामा आधार रहेको जनावर संरक्षण निकुञ्ज हो।

यहाँ बिहान कुहिरो पहाडको चुचुरोबाट गुन्ठुनिँदै झर्छ र फेदमा बस्छ।

नाजिन र फाटु एउटा घेराभित्र सुत्छन् तर सबेरै जेम्स उनीहरूलाई चराउन र आराम गराउन मैदानतर्फ लान्छन्।

"फाटु झाडीमा सुतिरहेकी छे तर नाजिन घाँस खाइरहेकी छे र नअघाउन्जेल खाइरहन्छे," जेम्स भन्छन्।

"हामीले उसको भुँडी सुमसुम्याउँदा निकै आनन्द मान्छे र निकै आराम महसुस गर्छे।"

तस्बिर स्रोत, Getty Images

उत्तरी सेतो गैँडा अनौठा उप-प्रजाति हुन्। उनीहरूका प्राकृतिक वासस्थानमा उम्रिने घाँस खानका लागि यी प्रजातिमा फराकिलो मुख बनेको हुन्छ।

उनीहरूका समूह युगान्डा, सुडान र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घुम्ने गर्थे।

तर खागका लागि वर्षौँदेखि सिकार गरिँदा उनीहरूको सङ्ख्या सकिनै लागेको छ।

४० वर्षअघि संरक्षणको सुरुवात

नाजिन र फाटु केन्यामा जन्मिएका होइनन्। उनीहरू चेक रिपब्लिकमा जन्मिएका हुन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उपहारमा गैँडा

प्राकृतिक वासस्थानमा सङ्ख्या घट्न थालेपछि सन् १९७५ मा तत्कालीन चेकोस्लाभियामा रहेको डुभुर क्रालोभे चिडियाखानाले छ वटा उत्तरी सेता गैँडाहरू पठाएको थियो।

"मेरा सहकर्मीहरू उत्तरी सेतो गैँडाको प्रजननको सबैभन्दा उत्कृष्ट तरिका के होला भनेर सोचिरहेका थिए," उक्त चिडियाखानाका जन स्टेसकलले भने।

प्राकृतिक प्रजननको नै आशा थियो। सन् १९७७ देखि १९८३ बीचमा तीन वटा गैँडाहरू जन्मिए।

तर त्यसपछि अर्को बच्चा जन्मिनका लागि छ वर्षको समय लाग्यो र त्यो बच्चा थिई - नाजिन।

तस्बिर स्रोत, Getty Images

११ वर्षपछि सन् २००० मा वयस्क नाजिनले चिडियाखानामा अर्को गैँडा जन्माई र त्यसको नाम फाटु राखियो।

तर जनसङ्ख्यालाई कायम राख्न सन्तानोत्पादनको दर एकदमै सुस्त थियो।

त्यसमाथि भाले गैँडाहरू बूढो भएर क्रमशः मर्दै गइरहेका थिए।

प्रजननमा सहायता

चिडियाखानालाई उत्तरी सेतो गैँडालाई बचाउने एउटै मात्र उपाय प्रयोगशालामा भ्रूण उत्पादन गर्नु हो भन्ने थाहा थियो। त्यसैले उनीहरूले सहयोग खोजे।

"हामीले भालेको वीर्य लियौँ। हामीले भालेबाट वीर्य सङ्कलन गर्ने र त्यसलाई पोथीमा हाल्ने निर्णय गर्‍यौँ," बर्लिनका वन्यजन्तु प्रजनन चिकित्सा विज्ञ थोमस हिल्डरब्रान्डले भने।

तर त्यो कार्य सहज थिएन।

तस्बिर स्रोत, Getty Images

गैँडाको भीमकाय शरीरका कारण थोमस र उनको समूहलाई उक्त जीवको यौनाङ्गसम्म पहुँच दिन चिडियाखानाले क्रेनले गैँडा उठाउनु पर्‍यो।

उनीहरूले गैँडाको वीर्य सङ्कलन गरे र बर्लिनस्थित प्रयोगशालामा सुरक्षित रूपमा राखे।

तर यी सबै प्रयासले पनि कृत्रिम गर्भधारण गराउने कार्यले कुनै सफलता पाएन।

अफ्रिका फिर्ता

"गैँडाहरूलाई उनीहरूको प्राकृतिक वासस्थानमा पठाएपछि कुनै हिसाबले प्रजनन गराउन सकिन्छ कि भन्ने विचार आयो," उनले भने।

सन् २००९ मा नाजिन र फाटु अन्तिम जीवित भालेहरू सुन्नी र सुडानसहित केन्यामा आए।

जेम्स भन्छन्, "सम्भोगका सङ्केतहरू थिए तर दुर्भाग्यवश गर्भधारण भएन।"

सन् २०१४ मा थोमस केन्या गए र ती गैँडाहरूको स्वास्थ्य परीक्षण गरे।

भिडिओ क्याप्शन सुरु हुँदैछ, गैंडालाई एक ठाउँबाट अर्को ठाउँ सार्ने प्रकृया जटिल र चुनौतिपूर्ण रहेको छ।

त्यसबेला १४ वर्ष पुगेको फाटुले मूत्र सङ्क्रमणका कारण पाठेघर पूर्ण रूपमा गुमाइसकेको पत्ता लाग्यो।

त्यसले गर्दा अब उसले गर्भधारण गर्न नसक्ने देखायो।

त्यस्तै उसकी आमा नाजिनको पिँडुला स्थायी रूपमा क्षतिग्रस्त भएकाले उसले अतिरिक्त गर्भावस्थामा १०० किलो भार थाम्ने कुनै उपाय देखिएन।

त्यस वर्षको अन्त्यतिर सुन्नी प्राकृतिक कारणले मर्‍यो।

४५ वर्षको सुडान पनि सन् २०१८ मा मरेपछि उत्तरी सेतो गैँडाको भाले लोप भए।

यो एकदमै विपद्‌युक्त तस्बिर थियो किनकि अन्तिम दुई वटा उत्तरी सेतो गैँडाका माउ गर्भवती बन्न सक्दैन थिए भने भाले पनि मरिसकेका थिए।

टेस्ट ट्युब गैँडा

थोमसले नाजिन र फाटु गर्भधारण गर्न असक्षम भए पनि उनीहरूले डिम्बहरू भने उत्पादन गरिरहेको थाहा पाए।

"त्यसपछि यी अन्तिम पोथीबाट किन डिम्बहरू सङ्कलन नगर्ने भन्ने विचार आयो," उनी भन्छन्।

आईभीएफ विधि प्रयोग गरेर नाजिन र फाटुको डिम्ब प्रयोगशालामा लगेर बर्लिनमा सुरक्षित राखिएको अहिले मरिसकेका भाले गैँडाको शुक्रकीटसँग मिलाएर भ्रूण बनाउन सकिन्थ्यो।

"टेस्ट ट्युब गैँडा"लाई उक्त प्रजाति बचाउने अन्तिम मौकाका रूपमा हेरिएको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, "टेस्टट्युब गैँडा"लाई उक्त प्रजाति बचाउने अन्तिम मौकाका रूपमा हेरिएको छ

तर त्यहाँसम्म पुग्नका लागि उनीहरूले ती पोथी गैँडाहरूमा "एग-हार्भेस्टिङ" भनिने जटिल शल्यक्रिया गर्नुपर्थ्यो।

थोमसका भनाइमा उनलाई उनी सफल नहुन सक्छन् भन्ने थाहा थियो तर उनी उक्त प्रजाति बचाउन हर प्रयास गर्न चाहन्थे।

अन्तिम उपाय

यो प्रजातिको गैँडाको अण्डाशय पोथी जातिको शरीरको निकै भित्र हुन्छ।

थोमसका अनुसार ठूलो रक्तवाहिनी नजिकैबाट शल्यक्रिया गरिएकाले सानो गल्तीले पनि गैँडा मर्न सक्थे।

सन् २०१९ मा शल्यक्रियाअघि दुवै गैँडालाई लट्ठाउने औषधि दिइयो।

त्यसपछि ती जीवहरू बिस्तारै सुते अनि थोमस र उनको समूहले काम सुरु गर्‍यो।

निकै चुनौतीपूर्ण काम फत्ते गर्न उनीहरू सफल भए।

तस्बिर स्रोत, Getty Images

थोमसको टोलीले १० वटा डिम्बहरूलाई निकाले।

ती डिम्बहरूलाई प्रयोगशालामा पुर्‍याइयो, जहाँ वर्षौँदेखि उक्त जातिको भाले गैँडाबाट निकालिएका शुक्रकीटलाई सुरक्षित राखिएको थियो।

उनीहरू डिम्ब र शुक्रकीटको मिलनबाट दुई वटा भ्रूण बनाउन सफल भए।

उनीहरू खुसी थिए तर अब समस्या थियो: ती भ्रूणहरूलाई कसको पाठेघरमा राख्ने?

नाजिन र फाटुमा स्वास्थ्यका कारण राख्न नसकिने भएपछि नजिकको सेरोगेट बन्न सक्ने भनेको दक्षिणी सेतो गैँडा रहेको छ।

विगतमा यी नजिकका नातेदार जातिहरूले सम्भोग गरेका र वर्णशङ्कर गैँडा पैदा भएका उदाहरण थिए। त्यसैले थोमस ती भ्रूणहरू विकास हुनेमा विश्वस्त छन्।

तर अझै पनि चुनौतीहरू बाँकी छन्।

ती भ्रूणहरूलाई युरोपबाट केन्यासम्म ल्याउनुपर्ने छ।

तस्बिर स्रोत, Getty Images

त्यसपछि भ्रूणलाई विकास गर्ने प्रक्रिया यसै वर्षको अन्त्य वा आगामी वर्षमा सुरु गरिनेछ।

यदि सबै योजनाअनुसार भएमा १६ महिने गर्भधारणको अवधिसहित आगामी दुई वर्षमा पहिलो बच्चा जन्मने छ।

नाजिन र फाटु जीवितै हुँदा नयाँ बच्चा प्राप्त हुने आशा छ।

उत्तरी सेतो गैँडा मध्यअफ्रिकाको दलदल क्षेत्रमा रहन्छन् भने दक्षिणी सेतो गैँडा दक्षिणी अफ्रिकाको सुक्खा भूमिमा रहन्छन्।

त्यसले गर्दा दुवैको सामाजिक चरित्र फरक छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्लभ गैँडाको सुरक्षामा कुकुर

त्यसकारण थोमसका बुझाइमा सेरोगेट आमाको साटो नाजिन र फाटुद्वारा नयाँ बच्चालाई हुर्काइनु महत्त्वपूर्ण छ।

पहिलो 'एग हार्भेस्टिङ' सफल भएपछि त्यसलाई पाँच पटक दोहोर्‍याइएको छ।

त्यसले गर्दा अहिले यी दुई गैँडाबाट नौ वटा भ्रूण बनेका छन्।

ती भ्रूणहरू अहिले फ्रोजन अवस्थामा छन् र उनीहरूका सेरोगेट आमाहरूसम्म पुग्ने प्रतीक्षामा छन्।