यास् चक्रवातः समुद्री आँधीको प्रभावमा नेपालभरि वर्षा, मौसममा कहिलेदेखि आउला सुधार?

तस्बिर स्रोत, DHM/Nepal

पढ्ने समय: २ मिनेट

बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले गर्दा नेपालका लगभग सबै स्थानमा शुक्रवार हल्का र मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

"हुन त चक्रवात कमजोर भई अहिले न्यूनचापीय क्षेत्रको रूपमा रहेको छ। तर पनि त्यसको प्रभावका कारण अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी परिरहेको छ," वरिष्ठ मौसमविद्‌ शान्ति कँडेलले बीबीसी न्यूज नेपालीसँग भनिन्।

गत २४ घण्टामा सबैभन्दा बढी सप्तरीको राजविराजमा १०८ मिलिमिटर पानी परेको उनले बताइन्।

पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि नेपालमा यास्‌ चक्रवातको असर देखिएको हो।

भारतका खासगरी पूर्वी राज्यहरू र बाङ्ग्लादेशका कतिपय स्थानमा यास् चक्रवातले ठूलो जनधनको क्षति निम्त्याएका विवरण आएका छन्।

चौबीस घण्टाका लागि पूर्वानुमान

प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्‌ कँडेलले बताइन्।

उनका अनुसार प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा, उच्च वेगको हावाहुरी र १/२ स्थानमा निकै ठूलो वर्षाको सम्भावना छ।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, काठमाण्डू उपत्यकामा पनि पानी परिरहेको छ

गण्डकी, वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली, पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात वा वर्षाको सम्भावना रहेको कँडेलले बताइन्।

शनिवारबाट प्रदेश नं १, २ र वाग्मती प्रदेशमा केही सुधारको महसुस गर्न सकिने भए पनि गण्डकी प्रदेशलगायत पश्चिमका क्षेत्रमा शनिवार पनि बदलीकै अवस्था रहने उनले जनाइन्।

"भोलि र पर्सिसम्मै देशका कतिपय स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। काठमाण्डू उपत्यकामा अहिलेको जस्तो निरन्तर झरी नपरे पनि आइतवारसम्म पानी पर्ने पूर्वानुमान छ," कँडेलले भनिन्।

यास् चक्रवातको असर सगरमाथा आरोहणमा पनि देखिएको आधार शिविरका लागि नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बीबीसी नेपालीलाई बताएका छन्।

तस्बिर स्रोत, Khimlal Gautam

तस्बिरको क्याप्शन, मौसम बिग्रिएकाले सगरमाथा चढ्न गएका पर्वतारोहीहरू पनि प्रभावित भएको बताइन्छ

उनका अनुसार चक्रवातको प्रभावले सगरमाथा क्षेत्रमा पनि अहिले हिमपात भइरहेको छ।

"मे २८ र २९ तारिख आरोहणका लागि उपयुक्त रहेको पूर्वानुमानका आधारमा आरोहीहरू कुरिरहेका थिए। तर हिमपातका कारण १५० जनाभन्दा माथि आरोहीहरू क्याम्प टूमा बसिरहेका छन्," श्रेष्ठले भने।

यो याममा अहिलेसम्म साढे तीन सय जनाभन्दा केही बढी आरोहीले सगरमाथाको आरोहण गरेको उनले बताए।

बाहिर ननिस्किन आग्रह

नेपालमा यास्‌ चक्रवातको प्रभावबारे मानिसलाई सजग गराउन जेठ ९ गतेदेखि नै विशेष बुलेटिनहरू प्रकाशित गर्दै आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वरिष्ठ मौसमविद्‌ कँडेलका अनुसार अहिलेको वर्षाका कारण देशका कतिपय ठाउँका खोलामा पानीको सतह बढेर बाढी आउने हुन सक्छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

"दुई-तीन दिनदेखि लगातार पानी परिरहेकोले पहिरो गएर ठाउँठाउँमा बाटो पनि अवरुद्ध हुन सक्छ," कँडेलले भनिन्।

"अहिलेको अवस्था भनेको अति आवश्यक नपरीकन आफू जहाँ छु त्यहाँबाट ननिस्किने हो। अति नै आवश्यक परेको खण्डमा मौसमसम्बन्धी जानकारी लिएर मात्रै अघि बढ्नुपर्छ। अहिले चाहिँ सतर्क हुनुपर्ने नै अवस्था छ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस सङ्क्रमणमुक्त भएपछि सगरमाथा शिखरमा