कोरोना भाइरस: के संसारमै सबैभन्दा धेरै खोप उत्पादन गर्ने भारतमै खोपको अभाव हुन थालेको हो?
तस्बिर स्रोत, Reuters
- Author, सौतिक विश्वास
- Role, बीबीसी भारत संवाददाता
दुई दिनदेखि भारतको उत्तर प्रदेशका सञ्जय कुमारले आफू र आफ्नी आमालाई कोरोनाभाइरस खोप लगाउन खोजिरहेका थिए।
दिल्लीको बाहिरी भागमा पर्ने गाजियावादमा बस्ने समाजशास्त्री डा. कुमारले सुनाए, "मैले आसपासका तीन वटा निजी अस्पतालमा फोन गरेँ र ती सबैले खोपका मात्रा सकिएको बताए।"
तीमध्ये एउटा ५० शय्याको अस्पताल हो।
त्यहाँकी एक जनसम्पर्क अधिकृतले भने, "हामीसँग मौज्दात खोप सकिएको छ र हामीले यतिखेर मानिसहरूको नाम दर्ता समेत गरिरहेका छैनौँ। किनकि खोप लिन आउनेहरू हामीले त्यो छैन भन्दा झैझगडा गर्न थालेका छन्।"
कुमारले नाम दर्ता गर्ने असफल प्रयास गरेको अर्को एउटा अस्पतालमा बुधवार साँझबाट खोप सकिएको थियो।
र त्यहाँका कर्मचारीहरूले मानिसहरूलाई फिर्ता पठाउनुको विकल्प नभएको बताइरहेका थिए।
भारतले कोभिड-१९ को दोस्रो घातक सङ्क्रमण झेलिरहँदा एप्रिल १ यता दैनिक औसतमा ९० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमण देखिन थालेका छन्।
जसले भारतको खोप कार्यक्रममा समेत चुनौती थपिरहेको छ।
खोपको अवस्था
केन्द्र सरकारले खोपको पर्याप्त मौज्दात रहेको बताइरहे तापनि आधा दर्जन जति राज्यबाट अभाव भएको विवरण आइरहेका छन्।
पश्चिमी राज्य महाराष्ट्रमा भारतको कुल सङ्क्रमणको आधाजसो सङ्ख्या रहेको विवरण आइरहँदा खोप कार्यक्रम भने अनिश्चितकालका लागि रोकिए झैँ भएको छ।
तस्बिर स्रोत, EPA
स्थानीय सरकारले हाल रहेको उसको पन्ध्र लाख मात्राको मौज्दातले तीन दिन मात्र थेग्ने जनाएको छ।
राज्यको राजधानी मुम्बई र अन्य केही जिल्लाका खोप केन्द्रहरू बन्द गरिएका छन्।
महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले भने, "तीन दिनभित्र खोप आएन भने हामीले बाध्य भएर खोप कार्यक्रम बन्द गर्नुपर्नेछ।"
सङ्घीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले खोप अभावको 'आरोप'लाई 'पूरै निराधार' बताउँछन्।
उनले राज्यहरूले खोपसम्बन्धी आफ्ना कमजोर प्रयासबाट ध्यान मोड्नका लागि 'निरन्तर गोलपोस्ट सारिरहेको' आरोप लगाए।
खोप अभावको आरोप लगाइरहेका राज्यहरूले अहिलेसम्म आफ्ना अग्रमोर्चाका कर्मचारीहरूलाई समेत खोप दिन नसकिरहेको सङ्घीय स्वास्थ्यमन्त्री वर्धनले बताए।
तस्बिर स्रोत, EPA
कति सत्य?
त्यो पूरै सत्य नहुन सक्छ।
छिटोछरितो खोप लगाउने काम अघि बढाएका केही राज्यहरूमा खोप अभाव भएको कुरा सत्य भएको बताउँछन् दिल्लीस्थित एक थीङ्क-ट्याङ्क अभजर्भर रिसर्च फाउन्डेसनका ओमेन सी कुरिन।
उनले मलाई त्यस्तो अभाव हुनु पछाडिको कारण 'पछिल्ला चार महिना जतिमा भारतका खोप कम्पनीहरूको उत्पादन क्षमता र उनीहरूले उत्पादन गरेका खोपको वास्तविक मात्रामा एकरूपता नहुनु' रहेको बताए।
विश्वकै सबैभन्दा ठूलो भारतको खोप कार्यक्रम ज्यानुअरी १६ मा सुरु गरिँदा जुलाईभित्रमा २५ करोडलाई खोप दिइने लक्ष्य राखिएको थियो।
सुरुमा स्वास्थ्यकर्मी र अग्रमोर्चाका कर्मचारीमा सीमित गरिएको खोप पछि क्रमशः ६० वर्षमाथि, रोग भएका ४५ देखि ५९ वर्षबीचका र ४५ वर्ष माथिका व्यक्तिमा केन्द्रित गरियो।
अहिलेसम्म त्यहाँ स्वीकृति दिइएका कोभिशील्ड र कोभ्याक्सिनका नौ करोडभन्दा धेरै मात्रा खोप दिइएको छ।
भारतमा दैनिक औसतमा ३० लाख मात्रा खोप दिइने गरेको छ।
र भारतले अहिलेसम्म ८५ देशमा छ करोड ४० लाख मात्रा खोप पठाइसकेको छ।
ती कुनै 'उपहार'का रूपमा छन् भने कुनै खोप उत्पादकसँग गरिएका व्यावसायिक सम्झौताका आधारमा छन्।
बाँकी केही विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रम अन्तर्गत छन्।
खोप उत्पादन 'पावरहाउस'
खोप उत्पादनको सवालमा भारतलाई 'पावरहाउस'का रूपमा हेरिन्छ।
त्यहाँ ठूला खोप कार्यक्रम सञ्चालन हुने मात्रै होइन विश्वको ६० प्रतिशत खोप उत्पादन हुन्छ।
भारतमा छ खोप उत्पादक कम्पनीहरू छन्।
तर कोभिड खोप कार्यक्रममा भने भारतले अनपेक्षित चुनौतीहरू सामना गरिरहेको छ।
युवाहरू सहितलाई खोप कार्यक्रममा समेट्ने गरी के भारतसँग पर्याप्त मात्रामा खोप छ त भनेर यतिखेर धेरैमाझ प्रश्न उठेको छ।
यतिखेर कतिपयले प्रश्न गरिरहेको अर्को विषय भनेको धेरै चर्चा बटुलेको 'खोप कूटनीति'को नाममा दशौँ लाख खोप विदेश पठाएर के भारतले ठिक काम गर्यो त भन्ने समेत छ।
तस्बिर स्रोत, Reuters
अक्सफर्ड-आस्ट्राजेनेकाले विकास गरेको खोपलाई भारतमा कोभिशील्डका नाममा उत्पादन गरिरहेको सिरम इन्स्टिच्युटले यो साता आफ्नो उत्पादन क्षमता 'निकै दबाव'मा रहेको जनाएको थियो।
उक्त कम्पनीका प्रमुख अदार पुनवालाले एक भारतीय टिभीमा अन्तर्वार्ता दिँदै भनेका थिए, "हामी अझै लगभग सबै भारतीयलाई पुर्याउन सक्छौँ।"
यो वर्षको सुरुमा खोप उत्पादन थालेयता सिरमले हरेक महिना छदेखि सात करोड मात्रा खोप भारत सरकारलाई उपलब्ध गराइरहेको र उत्तिकै मात्रामा निर्यात गरिसकेको जनाएको छ।
ज्यानुअरीमा उक्त कम्पनीले बीबीसीलाई मासिक १० करोडका दरले उत्पादन बढाउने जनाएको थियो।
तर यतिखेर ज्यानुअरीमा उत्पादन कम्पनीमा लागेको आगलागीका कारण जुन महिनाअघि त्यो लक्ष्यमा पुग्न कठिन हुने बताइएको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन