कोरिन मासियरो: 'फ्रेन्च ओस्कर्स'मा नायिकाको नग्न विरोध प्रदर्शन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, कोरिन मासियरो (बायाँ)लाई एक पुरस्कार प्रदान गर्न समारोहमा निम्त्याइएको थियो

एकजना फ्रान्सेली नायिकाले फ्रान्समा भएको 'सेसर अवार्ड्स' भनिने पुरस्कार वितरण समारोहमा कोरोनाभाइरस महामारीका बेला सरकारले संस्कृतिलाई टेवा पुर्‍याउन थप सहयोग गर्नुपर्ने माग गर्दै नग्न विरोध प्रदर्शन गरेकी छन्।

५७ वर्षीया नायिका कोरिन मासियरो ओस्करको फ्रान्सेली संस्करण मानिने सेसर अवार्ड्स समारोहमा रगत लतपतिएको लुगाबाहिर गधाको मुखौटोयुक्त पहिरनसहित मञ्चमा पुगेकी थिइन् ।

फ्रान्समा तीन महिनाभन्दा बढी समयदेखि सिनेमा घरहरू बन्द रहेका छन्।

उत्कृष्ट फिल्म पुरस्कार अल्बेयर डुपोन्टेलको त्रासदीपूर्ण हास्य चलचित्र 'अडेयु लेस कन्स' अर्थात् मूर्खहरूलाई बाइबाइ भन्ने चलचित्रले पाएको थियो।

गम्भीर रोग लागेकी महिलाले आफ्नो बच्चाको व्यग्र खोजी गरेको सिनेमाले सातवटा सेसर पुरस्कार प्राप्त गरेको थियो। त्यसमध्ये एक सबभन्दा राम्रो निर्देशन पुरस्कार पनि थियो।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सेसर अवार्ड्स समारोहमा नायिका कोरिन मासियरो शुरूमा यस्तो पोशाकमा थिइन्...

राम्रो विदेशी सिनेमा डेनमार्कको 'अनदर राउन्ड' भन्ने थोमस भीन्टरबर्गले निर्देशन गरेको सिनेमाले पायो जसमा मित्रहरूले आफ्नो रगतमा मदिराको एक स्थायी तह कायम राखेर आफ्नो जीवनस्तर सुधार्ने कुरा देखाइएको छ।

मासियरोलाई शुक्रवार सामाजिक दूरी कायम गरी आयोजना गरिएको समारोहमा 'बेस्ट कस्ट्यूम' अर्थात् सबभन्दा राम्रो पोसाक शीर्षकमा दिइने पुरस्कार प्रदान गर्न निम्त्याइएको थियो।

समारोहमा सहभागी हुन लगाएको बाहिरी पोसाकमा "संस्कृति छैन त भविष्य छैन" भन्ने नारा लेखिएको थियो।

तर मञ्चमा पुगेपछि मासियरोले सबै लुगाका तह फाल्दै उपस्थित पाहुनालाई स्तब्ध पारिदिएकी थिइन्।

फ्रान्सका प्रधानमन्त्री जाँ कास्टेक्सलाई प्रत्यक्ष सम्बोधन गर्दै उनको पिठिउँमा नारा लेखिएको थियो , "हामीलाई कला फिर्ता देऊ जाँ।"

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ... र अन्त्यमा उनी यसरी प्रस्तुत भइन्

अरू नायक र निर्देशकले पनि कार्यक्रममा त्यस्तै माग गरेका थिए।

"हाम्रा छोराछोरी कपडाको पसल जान पाउने तर सिनेमा जान नपाउने…यो बुझिनस्कनु भयो," स्टेफन डीमस्टियरले 'स्क्रीनप्ले' पुरस्कार थाप्दै भने।

सांस्कृतिक प्रदर्शनीस्थलहरू बन्द गरेको विरोधमा गत डिसेम्बरमा सयौँ अभिनेता, नाट्य निर्देशक, सङ्गीतकार, फिल्म प्राविधिक र आलोचकले प्यारिसमा विरोध प्रदर्शन गरेका थिए ।