रोहिन्ज्या शरणार्थीः 'हामी फस्यौँ', बाङ्ग्लादेशको विकट टापुमा सारिएका शरणार्थीको गुनासो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशले एक लाख मानिसहरूलाई भासन चर नामक टापुमा सार्ने योजना बनाएको छ
    • Author, मोअज्जम हुसैन र स्वामिनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

'भासन चर' टापुमा पुगेको भोलिपल्ट मध्यराततिर हलिमालाई सुत्केरी बेथा लाग्यो।

उनी र उनको परिवार हालै बाङ्ग्लादेश सरकारले नयाँ जीवन सुरु गराउन भनेर उक्त टापुमा सारेका रोहिन्ज्या शरणार्थीमध्ये पर्छन्।

उनले बीबीसीसँग भनिन्, "म निकै डराएँ र सहायताविहीन महसुस गरेँ। मैले अल्लाहलाई 'दया गर' भनेँ।"

बाङ्ग्लादेशी अधिकारीहरूले उक्त टापुमा अन्तर्राष्ट्रिय सहायता निकाय, मानव अधिकारवादी समूह वा पत्रकारलाई जान दिँदैनन्।

तर बीबीसीले बाङ्ग्लादेशी तटमा अवस्थित उक्त टापुमा निर्मित नयाँ शिविरमा बसोबास गरिरहेका केही शरणार्थीहरूसँग फोनमा कुराकानी गरेको छ।

ती अन्तर्वार्ताहरूले अत्यावश्यक सुविधा र रोजगारीको अवसरको कमीले शरणार्थीहरूमा आक्रोश बढेको देखाउँछन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उक्त टापुमा सबै शरणार्थीलाई जलसेनाको मद्दतमा लगिएको हो

हलिमा टापुमा पुग्दा अँध्यारो र जाडो थियो। उनले त्यहाँ कुनै डाक्टर वा नर्स उपलब्ध हुँदैनन् भन्ने चाल पाइन्।

उनी भन्छिन्, "मैले पहिले पनि बच्चा जन्माएकी छु, तर यस पटक अवस्था निकै खराब थियो। म तपाईँलाई त्यो कति पीडादायी थियो भन्ने व्यक्त गर्न सक्दिनँ।"

उनका पति इनायेत सोही टोलमा बस्ने केही अनुभव र तालिम भएकी सुँडेनी महिलालाई खोज्न दौडिए।

"अल्लाहले सहयोग गरेँ," हलिमा भन्छिन्। उनकी छोरी जन्मिइन्, जसको नाम फातिमा राखिएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ठूला कम्प्लेक्सहरू बनाउन बाङ्ग्लादेशले यहाँ ३५ करोड डलर रकम खर्चिसकेको छ

म्यान्मारमा अत्याचार

रोहिन्ज्यालाई जबरजस्ती देशबाट लखेटिएको हो। म्यान्मारको रखाइन प्रान्तमा बर्मेली सेनाले उनीहरूको गाउँ नै जलाएर लखेटेपछि रोहिन्ज्याहरू भागेर बाङ्ग्लादेश छिरेका हुन्।

करिब १० लाख रोहिन्ज्याले बाङ्ग्लादेशमा शरण लिएका छन्। तीमध्ये अधिकांश कक्सेज बजारस्थित कुतुपालोङ शिविरमा भिडभाडयुक्त वातावरणमा बस्छन्।

रोहिन्ज्या शरणार्थीहरूलाई फिर्ता गर्ने प्रयास गरे पनि बाङ्ग्लादेश सफल हुन सकेन।

अहिले उसले एक लाख मानिसहरूलाई भासन चर टापुमा सार्ने योजना बनाएको छ।

त्यसले गर्दा शिविरमा भिड कम हुने उसको अपेक्षा छ।

गत डिसेम्बरमा उक्त टापु पुग्दाको स्मरण गर्दै हलिमा भन्छिन्, "मलाई अचम्म लाग्यो, हामी यहाँ कसरी बाँच्छौँ होला? यो उजाड थियो, हामीबाहेक यहाँ कोही बस्दैनथे।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशको तटबाट करिब ६० किलोमिटर पर भासन चर टापु रहेको छ

उनका पतिले उनलाई थाहा नदिईकन भासन चर जान नाम दर्ता गराएका थिए।

इनायेत आफ्नो परिवारको जीवन सुधार हुने अपेक्षामा हस्ताक्षर गरेको बताउँछन्।

उनले बीबीसीलाई भने, "उनीहरू (बाङ्ग्लादेशी अधिकारी) ले हामीलाई धेरै कुरा दिने प्रतिबद्धता जनाएका थिए। उनीहरूले हरेक परिवारलाई जग्गा, गाईभैँसी अनि व्यापार सुरु गर्न ऋण दिने बताएका थिए।"

नयाँ टापु

भासन चर टापु बाङ्ग्लादेशको समुद्री तटबाट करिब ६० किलोमिटर पर छ।

पन्ध्र वर्षअघि मात्र उक्त टापु बनेको बताइन्छ।

तस्बिरको क्याप्शन, उक्त टापुमा बसोबास गर्ने परिवारलाई आधारभूत कुराहरू चामल, दाल र खाने तेल उपलब्ध गराइएको छ

यो समुद्र सतहबाट दुई मिटरभन्दा पनि कम उचाइमा रहेको छ। यो टापु पूर्ण रूपमा हिमालय क्षेत्रबाट नदीले बगाउँदै ल्याउने माटो र बालुवाबाट बनेको छ।

यसको क्षेत्रफल ४० वर्ग किलोमिटर छ।

स्थानीय माछा मार्ने व्यक्तिहरूले यो टापुलाई आराम गर्ने स्थलका रूपमा प्रयोग गरे पनि त्यहाँ कहिल्यै पनि मानवबस्ती थिएन।

ठूला कम्प्लेक्सहरू बनाउन बाङ्ग्लादेशले यहाँ ३५ करोड डलर रकम खर्चिसकेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सबैभन्दा ठूलो शिविरमा जन्मिएका रोहिन्ज्या बालकको के छ इच्छा

चक्रवात

उक्त टापुमा शरणार्थीका लागि वासस्थान बनाउने कार्यको रेखदेख गर्ने कोमोडोर अब्दुल्लाह अल मामुम चौधरी भन्छन्, "संयुक्त राष्ट्रसङ्घीय मापदण्डअनुसार प्रतिव्यक्ति ३.५ वर्गमिटर स्थान दिनुपर्ने हुन्छ। यहाँ हाम्रो शिविरमा हामीले ३.९ वर्गमिटर प्रदान गरिरहेका छौँ।"

टापुमा धारामा पानीको आपूर्ति, दुईतले खाट, एउटा ग्यास चुलो र साझा शौचालयको सुविधासहितको बसाइप्रति आफू खुसी रहेको हलिमा बताउँछिन्।

तर उनलाई चक्रवातको डर लागेको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चक्रवात र ज्वारभाटाको खतराका कारण उक्त योजनाको विरोध भएको थियो

चक्रवात र ज्वारभाटाको खतराका कारण संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहायता निकायहरूले उक्त योजनाको विरोध गरेका थिए।

उक्त क्षेत्रलाई पहिले पनि विश्वकै खतरनाक चक्रवातले नष्ट गरिदिएको थियो।

सन् १९७० मा आएको एउटा शक्तिशाली चक्रवातमा परेर झन्डै पाँच लाख मानिसहरूको ज्यान गएको थियो।

सन् १९८५ मा अहिले शरणार्थीहरूलाई राखिएको टापुभन्दा नजिकै रहेको अर्को एउटा टापुमा त्यस्तै चक्रवात आउँदा एक लाख ४० हजार जति मानिसहरूको मृत्यु भएको थियो।

तुफानबाट जोगिन आश्रयस्थल

रोहिन्ज्याहरू चक्रवातसँग परिचित भए पनि यो टापुमा उनीहरू प्रत्यक्ष रूपमा त्यससँग साक्षात्कार हुनेछन्।

तर बाङ्ग्लादेशी अधिकारीहरू त्यो डरलाई कम देखाउँछन्।

तस्बिरको क्याप्शन, त्यहाँ बजार छैन तर केही बाङ्ग्लादेशीहरूले उक्त टापुमा पसल थापेका छन्

कोमोडोर चौधरी उक्त टापु २.८ मिटर अग्लो तटबन्धबाट सुरक्षित रहेको र त्यहाँ एक लाख २० हजार मानिस अट्ने तुफानबाट बच्ने आश्रयस्थलहरू रहेको बताउँछन्।

उक्त टापुमा बसोबास गर्ने परिवारलाई आधारभूत कुराहरू चामल, दाल र खाने तेल उपलब्ध गराइएको छ।

शरणार्थीले तरकारी, माछा र मासुजस्ता कुरा भने किन्नुपर्छ।

त्यहाँ बजार छैन तर केही बाङ्ग्लादेशीहरूले उक्त टापुमा पसल थापेका छन्।

हलिमा आफूहरू गरिब भएकाले सामान किन्न पैसा नभएको बताउँछिन्।

उनी सुत्केरी भएको दुई सातापछि उनको दूध आउन छाड्यो। उक्त टापुको क्लिनिकका चिकित्सकले उनलाई बच्चालाई फर्मुला दूध खुवाउन भनेका थिए। तर उक्त दूध त्यहाँ उपलब्ध थिएन।

उनकी छोरीलाई ठूला बच्चाहरूलाई दिइने जस्तै दूध दिने गरिएको छ। त्यसलाई उनकी छोरीले पचाउन सक्दिनन्।

उनले आफ्नी छोरीलाई आवश्यक खोप पनि लगाउन पाएकी छैनन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भासन चरमा शरणार्थीहरूलाई पानीको आपूर्ति, बङ्क बेड, ग्यास स्टोभ र साझा शौचालयको सुविधा उपलब्ध गराइएको छ

यसै बेला उनका पतिलाई दमले सताएको छ।

हलिमाले कुतुपालोङ शिविरमा रहेको आफ्नो भाइ नूरलाई फोन गरेर औषधि पठाउन आग्रह गरिन्।

तर उनले औषधि पठाउन सकेनन्। त्यसपछि नूरले पनि उक्त टापुमा जानका लागि नाम लेखाएका छन्।

उनी आफ्ना आफन्तलाई औषधि पुर्‍याउन सकियोस् भनेर त्यहाँ जान लागेका हुन्।

एकतर्फी यात्रा

तर टापुमा पुगेर सामान दिएपछि उनी फिर्ता आउन पाउनेछैनन्।

उक्त टापुमा लगिएका सबै शरणार्थीलाई जलसेनाको मद्दतमा लगिएको हो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तुफानबाट जोगिन त्यहाँ एक लाख २० हजार मानिस अट्ने आश्रयस्थल भएको अधिकारीहरूको दाबी छ

यदि कसैले पुरानो स्थान फर्कन चाहेमा उनीहरू फर्किनका लागि त्यहाँ यातायातको सुविधा छैन।

बाङ्ग्लादेश सरकारले अहिलेसम्म शरणार्थीहरू कसरी फर्कन्छन् भन्ने व्यवस्था मिलाउन सकेको छैन।

विकट र टाढा भएकाले उक्त टापुमा रहेका शरणार्थीहरूले सरकारी सहायताबाहेक कुनै आम्दानीको दीर्घकालीन स्रोत देखेका छैनन्।

फेब्रुअरी दोस्रो साता खानेकुराको मात्रालाई लिएर केहीले उक्त टापुमा प्रदर्शन पनि गरेका थिए।

बीबीसीले उक्त प्रदर्शनको भिडिओ हेरेको थियो। त्यसमा उत्तेजित रोहिन्ज्या महिला र पुरुषहरूले हातमा छडी बोकेर कराइरहेका थिए।

अस्वीकारोक्ति

"त्यो प्रदर्शन थिएन," रेफ्युजी रिलीफ एन्ड रीपेट्रीएशन कमिशन (आरआरआरसी) का प्रमुख शाह रेज्वान हायातले भने।

"उनीहरू प्राय: मासिक राशन लिनका लागि समूहमा आउँछन् र उनीहरूले आफ्नो जीविकाबारे कुरा उठाएका हुन्।"

तस्बिर स्रोत, BBC

तस्बिरको क्याप्शन, यदि कसैले पुरानो स्थान फर्कन चाहेमा उनीहरू फर्कनका लागि त्यहाँ यातायातको सुविधा छैन

सरकारले आम्दानीका योजनाहरू चाँडै लागु हुने बताएको छ भने शरणार्थीका लागि काम गर्न भन्दै ४० भन्दा बढी स्थानीय गैरसरकारी संस्थाहरूले आवेदन दिएका छन्।

हलिमाका लागि अब आफ्नो देश निकै पुरानो सम्झनाजस्तो भएको छ। उनी अवस्था सुधार हुने प्रतीक्षामा थाकिसकेकी छन्।

उनी म्यान्मार सरकारले फिर्ता जान दिँदेन भन्ने सुन्छिन् र उनलाई त्यहाँ जान मन पनि छैन।

उनी कुनै त्यस्तो स्थानमा बस्न चाहन्छिन् जहाँ जीविका होस्, तर भासन चरमा होइन।

उनी भन्छिन्, "समुद्रले घेरिएको यस्तो स्थानमा म कहिल्यै पनि बसेकी थिइनँ। हामी यहाँ फस्यौँ, अब कहीँ जान सक्दैनौँ।"

बीबीसीले टेलिफोनमा कुरा गरेका सबै शरणार्थीले यदि उनीहरूलाई विकल्प दिइने हो भने उनीहरू कक्सेस बजारमा फर्कन चाहेको बताए।

"यदि तपाईँ आफ्नो परिवारसहित कुनै ठूलो जेलमा रहन चाहनुहुन्छ भने यो त्यही स्थान हो," इनायेत भन्छन्।

उनीहरूको सुरक्षाका लागि यो समाचारमा उल्लिखित शरणार्थीहरूका नाम परिवर्तन गरिएको छ