म्यान्मार कूः सैन्य शासनविरोधी अभियानकर्मी भन्छन्, 'तानाशाहीविरुद्ध जीवन नै दाउमा'

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रदर्शन गर्न नपाइने आदेशको अवज्ञा गर्दै म्यान्मारमा हजारौँ मानिसले सैन्य कूविरुद्ध प्रदर्शन गर्दै आएका छन्

"मैले आफ्नो जीवनमा एकदमै नराम्रो हुनसक्ने देखिसकेको छु।"

यी शब्द म्यान्मारमा सैन्य कू भएयता सुरुदेखि सडकमा भइरहेका प्रदर्शनहरूको नेतृत्व गर्दै आएका तेजार सानका हुन्।

गत नोभेम्बर महिनामा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै फेब्रुअरी १ तारिखमा म्यान्मारमा सेनाले देशको शासन आफ्नो हातमा लियो।

निर्वाचनमा नेत्री आङ सान सू चीको न्याश्नल लीग फर डेमोक्र्यासी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो।

सैन्य कूसँगै सू ची नजरबन्दमा छिन् भने एनएलडीका अरू नेता पनि सेनाको नियन्त्रणमा छन्।

तर नाम नबताउने सर्तमा पत्रकारसँग कुरा गर्न चाहने अरू मानिसहरू जस्तो नभई फरार अवस्थामा हुँदाहुँदै सानले आफ्नो पूरै नाम खुसीका साथ बताउन चाहे।

उनी को हुन् भन्ने कुरा प्रहरीलाई थाहा छ र सान बस्ने मान्डले सहरमा प्रहरीले उनलाई खोजिरहेका छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली प्रहार तथा ताकेर गोली चलाएका थिए

तर सान लोकतन्त्रका लागि लडाइँ गर्दा हुने जोखिमबारे आफूलाई थाहा भएको बताउँछन्।

"मलाई लाग्छ मैले आफ्नो जीवन सैन्य कू र निरङ्कुशताको विरोध गर्नमा लगाउनुपर्छ," बीबीसीको न्यूजडे कार्यक्रमलाई उनले भने।

"अतः मैले आफ्नो परिवार तथा नजिकका साथीभाइसँग सरसल्लाह गरेँ र प्रदर्शनको नेतृत्व गर्ने निर्णयमा पुगेँ।"

प्रदर्शन

प्रदर्शनमाथि सरकारले लगाएको प्रतिबन्धको अवज्ञा गर्न दशौँ हजारको सङ्ख्यामा मानिसहरू सडकमा निस्किएका छन्।

प्रदर्शनमा चिकित्सकदेखि विद्यार्थी, खेलाडी र महिलासम्म सहभागी भइरहेका छन्। पूर्वी किया राज्यमा दर्जनौँ प्रहरी अधिकारीले पनि प्रदर्शन गरे।

तर भिडलाई तितरबितर पार्न प्रहरीले रबरका गोली प्रहार गर्ने, पानीको फोहरा हान्ने र ताकेर गोली चलाउने गरेका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पानीको फोहराबाट जोगिन मङ्गलवारको प्रदर्शनमा मानिसहरूले प्लास्टिक ओढेका थिए

राजधानी नेपिद्‌अमा प्रहरीको गोली लागेर घाइते भएकी एक महिलाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

अहिलेसम्म मानिसहरू गम्भीर घाइते भएका विवरण आएका छन्। कसैको मृत्यु भएको खबर छैन।

"हामीलाई थाहा छ कि सैनिकहरू सङ्गठित छन्, तर म्यान्मारका हामी जनताहरू खासगरी युवा पुस्ताले सैनिक निरङ्कुशता मन पराउँदैन। हामी त्यसलाई 'जेनेरेशन जेड' भन्छौँ," सानले भने।

"म हाम्रा नागरिकको शक्ति, शक्तिहीनहरूको शक्तिमा विश्वास गर्छु।"

'नेताबिना प्रदर्शन'

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सानका अनुसार मानिसहरू स्वेच्छाले प्रदर्शनमा आइरहेका छन् र 'कोही ठूला नेता छैनन्'

संसद्‌को नयाँ सत्र आरम्भ गर्ने तयारी भइरहेकै बेला सेनाले सत्ता कब्जा गर्‍यो।

सेनाले चुनावमा धाँधली भएको दाबी गर्दै आए पनि निर्वाचन आयोगले धाँधली भएकोबारे कुनै प्रमाण नदेखिएको बताउँदै आएको छ।

मङ्गलवार अबेर राति सुरक्षाकर्मीले याङ्गुनस्थित एनएलडीका कार्यालयहरूमा छापा मारे।

बीबीसी बर्मेली सेवाका अनुसार सुरक्षाकर्मीले बलपूर्वक कार्यालयका ढोकाहरू फुटाएका थिए। छापा मारिएका बेला पार्टी कार्यालयमा कोही थिएनन्।

तस्बिर स्रोत, Reuters

सानको विचारमा गिरफ्तारीमा पर्ने भए पनि मानिसहरू सेनाविरुद्ध अब उठ्नुपर्छ।

"म आफैँ अथवा अरू नेताहरू गिरफ्तार भए पनि प्रदर्शनहरूको नेतृत्व गर्नका लागि र हाम्रो लोकतन्त्रका लागि सङ्घर्ष गर्नका निम्ति थुप्रै मानिसहरू छन्," सानले भने।

"यो प्रदर्शनमा म कुनै ठूलो नेता होइन। म एक साधारण तथा जिम्मेवार नागरिक हुँ जसले सैनिक निरङ्कुशताको विरोध गरिरहेको छ। हामीले सामूहिक नेतृत्वको प्रयोग गरिरहेका छौँ। प्रत्येक नागरिक आफैँमा एक नेतृत्वकर्ता हुन्।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, Young women protesting in Yangon were spotted wearing ball gowns

म्यान्मारमा लोकतन्त्रको जित हुनेमा सान विश्वस्त देखिन्छन्।

"मान्डलेको कुरा गर्नुपर्दा सिङ्गो सहर सैन्य कू, सैनिक तानाशाहीको विरोधमा छ। हामीले एकदमै शान्तिपूर्ण ढङ्गले, कुनै प्रकारको हिंसाबिना प्रदर्शनहरू गरिरहेका छौँ," सानले भने।

"सुरक्षा फौजहरूले अहिले हामीहरूविरुद्ध बल प्रयोग गरिरहेका छन्... तर हामीले हाम्रो लोकतन्त्रका लागि आफ्नो लडाइँ जारी राख्नेछौँ।"