कोरोना भाइरस चीनः चिनियाँ नयाँ वर्षको बिदामा घर जानेको सङ्ख्या नियन्त्रण गर्दै सरकार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वुहानमा स्प्रिङ फेस्टिभल नजिकिँदै गर्दा टाँगिएका राता बत्तीहरू

मानिसहरूको सबैभन्दा ठूलो आवतजावत भर्खर सुरु हुन लागेको छ। चीनमा दशौँ लाख मानिसहरू हजारौँ माइल यात्रा गरेर नयाँ वर्ष मनाउन आफ्नो घर जाने गर्छन्।

कतिपयका लागि यो परिवार भेट्ने वर्षको एक मात्र अवसर हो। उनीहरू यो अवसर खेर जान दिन चाहँदैनन्।

तर चाडपर्वको यो मौसम कोरोनाभाइरसको महामारी फैलाउने घटना बन्न सक्ने त्रास कायमै छ।

तस्बिर स्रोत, Getty Images

चीनमा छुन च्ये भनिने यो पर्वले अघिल्लो वर्ष कोभिड-१९ को सङ्क्रमण फैलाउन उल्लेख्य भूमिका खेलेको विश्वास गरिएको छ।

त्यही भएर चिनियाँ अधिकारीहरू देशको सबैभन्दा ठूलो पर्व स्थगित नगरीकनै कसरी मानिसहरूलाई स्थानीय रूपमा नै बस्न प्रोत्साहित गर्ने भन्ने समस्यामा देखिएका छन्।

दण्ड

छुन च्ये ज्यानुअरी महिनाको २८ मा सुरु भएर मार्चको ८ तारिखसम्म चल्छ जसले मानिसहरूलाई फेब्रुअरी १२ मा मनाइने चिनियाँ नववर्ष मनाउन हजारौँ माइल यात्रा गरेर फेरि आफ्नै ठाउँमा फर्कन समय उपलब्ध गराउँछ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शाङ्घाईमा स्थानीय बासिन्दा कोभिड-१९ खोप लिँदै

साधारण अवस्थामा चीनमा प्रत्येक वर्ष यो अवधिमा झन्डै तीन अर्ब पटक यात्रा हुन्छ।

तर पोहोर कोरोनाभाइरस फैलिन थालेपछि सरकारले यात्रामा प्रतिबन्ध लगाएको थियो र यातायत मन्त्रालयको तथ्याङ्कले उक्त तथ्याङ्क आधामा झरेको देखाएको थियो।

यो वर्ष चीनको अधिकांश क्षेत्रमा जनजीवन सामान्य भइसकेको छ र अधिकारीहरूले यो वर्ष हुने यात्राको सङ्ख्या १.७ अर्ब हुन सक्ने अपेक्षा गरेका छन्।

त्यसको तयारीका लागि बेइजिङले देशको जनसङ्ख्याको साढे तीन प्रतिशत अर्थात् पाँच करोड मानिसलाई यात्राको मौसम सुरु हुनुअगाडि नै खोप दिने लक्ष्य लिएको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हाङझु इस्ट रेलवे ट्रेन स्टेशनमा घर फर्कन चाहनेको भिड

तर केही समययता चीनको ग्रामीण क्षेत्रमा केही सङ्क्रमितहरू फेला पर्न थालेका छन्।

पूर्वोत्तरमा रहेको जिलिन प्रान्तको थोन्ग्वामा १३ जनामा सङ्क्रमण देखिएपछि २० लाख जना भएको उक्त स्थानमा लकडाउन गरिएको छ।

प्रभावित सहरहरूमा स्पष्ट सन्देश दिइएको छ- यो वर्ष वसन्तयामको चाडपर्वका बेला यात्रा गर्न पाइनेछैन।

तर कडा लकडाउन नभएको क्षेत्रमा हुनेहरूलाई भने पनि घर जान गाह्रो हुने देखिन्छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ग्रामीण क्षेत्रमा फर्कने व्यक्तिहरूले चाडपर्वका लागि यात्रामा निस्कनुभन्दा सात दिनअघि कोभिड-१९ परीक्षणको रिपोर्ट देखाउनुपर्ने भनेको छ।

त्यसबाहेक उनीहरूले १४ दिन 'घरभित्र निगरानीमा' बस्नुपर्ने भनिएको छ। घर छोड्न पाइए पनि दैनिक रूपमा आफ्नो शरीरको तापक्रम जाँच गर्नुपर्नेछ।

उक्त अवधिमा उनीहरूले भिड हुने ठाउँमा जान पाउनेछैनन् र प्रत्येक सात दिनमा कोभिडको जाँच गराउनुपर्नेछ।

सामाजिक सञ्जालमा यी सर्तहरूबारे तत्कालै प्रतिक्रिया जनाउँदै धेरैले सहरमा काम गरेर चाडपर्वमा ग्रामीण क्षेत्रमा फर्कने आप्रवासी कामदारहरूलाई यो व्यवस्थाले नराम्रोसँग असर गर्ने बताए।

यी व्यवस्थाहरूले यात्रालाई एकदमै अव्यावहारिक वा महँगो बनाउने देखिन्छ।

तर अधिकारीहरूले चीनलाई सुरक्षित राख्न यस्तो सावधानी अपनाउनैपर्ने बताइरहेका छन्।

एक जना पीएचडी गरिरहेका विद्यार्थीले बीबीसीसँग आफ्नो स्वास्थ्य ठिक भएको र गाउँका नेताले समुदायले स्वीकार गर्ने प्रमाणपत्र दिएपछि मात्रै आफू घरतर्फ जान पाएको बताए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, घर फर्कनेहरूले हरेक ७ दिनमा कोभिड परीक्षण गर्नुपर्ने बताइएको छ

उनले नयाँ वर्षलाई पारिवारिक मिलनको समय भन्दै आफूले यो अवधि मनपर्ने मानिसहरूसँग बिताउन चाहेको उल्लेख गरे।

पुरस्कार

लकडाउनमा नभएका वा उच्च जोखिम भएका क्षेत्रमा बस्ने बहुसङ्ख्यक व्यक्तिको हकमा अर्कै विधि अपनाइएको छ।

हाङ्जो सहरले घर नजाने आप्रवासी कामदारहरूलाई एक हजार युआन अर्थात् झन्डै १८ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हरेक वर्ष चीनमा चिनियाँ नयाँ वर्ष मनाउन दशौँ लाख मानिसहरू आफ्ना घर फर्कन्छन्

अन्य तीन सहरहरूले पनि घर नजाने कामदारहरूका लागि उपहारको घोषणा गरेका छन्।

कामदारहरूलाई अनुदान उपलब्ध गराउन, नि:शुल्क खानाको व्यवस्था गर्न र सङ्क्षिप्त सांस्कृतिक यात्रा कार्यक्रमहरू आयोजना गरिदिन कम्पनीहरूलाई प्रोत्साहन गरिएको छ।

कतिपय सहरमा स्थानीय रूपमा जन्मिएका व्यक्तिहरूले पाउने आवास र स्वास्थ्यमा प्रयोग गर्न मिल्ने विशेषाधिकार जस्ता सेवा कामदारहरूका हकमा पनि लागु हुनेगरी व्यवस्था गरिएको छ।

यीउ सहरले सांस्कृतिक समारोहस्थलमा नि:शुल्क प्रवेश दिने भनेको छ।

बालबालिकालाई हिउँदे शिविरमा नि:शुल्क सहभागी गराउने र नयाँ वर्षमा सञ्चालन हुने व्यवसायलाई अनुदान दिने उसको भनाइ छ।

त्यहाँ बस्ने मानिसहरूले अस्पतालमा दर्ता शुल्क तिर्नुपर्नेछैन भने उनीहरूले स्वास्थ्य जाँचमा ५० प्रतिशत छुट पाउनेछन्।

मानिसहरूलाई अन्यत्र नजान अनुरोध गर्दै ब्यानरहरू टाँसिएका छन्। बेइजिङमा एउटा ब्यानरमा लेखिएको छ, "आवश्यक नभई बेइजिङ नछाड्नुहोस्, आवश्यक नभई देशबाहिर नजानुहोस्।"

कैयौँ कम्पनीहरूले खुला रूपमा नै आफ्ना कामदारहरूलाई बाहिर जान निषेध गर्ने भनिरहेका छन्।

यी कडाइहरूले काम गर्ला?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कैयौँ आप्रवासी कामदार गाउँबाट सहरी क्षेत्रमा काम गर्न आउने गर्छन्

कतिपयले आफूलाई घर जान कुनै कुराले नछेक्ने बताए पनि सम्भवत: पछिल्लो कडाइले त्यसलाई प्रभावित पार्नेछ।

चिनियाँ नयाँ वर्ष देशबाहिर यात्रा गर्नेहरूका लागि पनि रोजाइको समय हो।

सन् २०१९ मा ७० लाख चिनियाँ पर्यटकले नयाँ वर्षको समयमा विदेश भ्रमण गरेको चीनको सबैभन्दा ठूलो अनलाइन ट्राभल एजेन्सी सीट्रीपको भनाइ छ।

अघिल्लो वर्ष कोभिड-१९ देखा परेपछि उक्त सङ्ख्या नाटकीय रूपमा कम भएको थियो। लकडाउनभन्दा अघि केही चिनियाँ पर्यटकले बाहिर जान पाएको भएपनि यसपालि त्यस्तो हुने कुनै सम्भावना देखिँदैन।