कोरोना भाइरस सङ्क्रमणः मानिसको प्रतिरक्षा प्रणाली कसरी बूढो हुन्छ अनि त्यो प्रक्रियालाई कसरी सुस्त बनाउन सकिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रतिरक्षा प्रणाली नै सङ्क्रमण तथा रोगहरूलाई परास्त गर्ने मुख्य अस्त्र हो
    • Author, लौरा प्लिट
    • Role, बीबीसी न्यूज मुन्डो

कोभिड-१९ ले हाम्रो प्रतिरक्षा प्रणालीको महत्त्वलाई उजागर गरिदिएको छ।

प्रतिरक्षा प्रणाली कोष, तन्तु र अङ्गहरूको यो एउटा जटिल जालो हो। अनि यो नै सङ्क्रमण तथा रोगहरूलाई परास्त गर्ने मुख्य अस्त्र हो।

यसले हामीलाई सबै प्रकारका रोगहरूबाट बचाइरहेको हुन्छ। तर शरीरका सबै अङ्गप्रत्यङ्गजस्तै प्रतिरक्षा प्रणाली पनि वर्षैपिच्छे बूढो हुँदै जान्छ।

चिकित्साविज्ञहरूले ६५ वर्षमाथिका मानिसहरूमा कोभिड-१९ हुने सम्भावना बढी हुने र उनीहरूमा थप कडा खाले रोगहरू विकास हुनसक्ने विश्वास गर्नुमा यो पनि एउटा कारण हो।

यद्यपि प्रतिरक्षा प्रणालीमा क्षय हुने क्रम हाम्रो उमेरमै निर्भर गर्छ भन्ने छैन।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उमेरले पनि हाम्रो प्ररिरक्षा प्रणालीमा प्रभाव पार्छ

इजरेलको टेक्निअन इन्स्टिट्यूट अफ टेक्नोलजीका प्रतिरक्षा प्रणालीविज्ञ शाइ शेन-ओर भन्छन्, "हामी ८० वर्षको मानिसमा पनि ६५ वर्षको जस्तो प्रतिरक्षा प्रणाली पाउन सक्छौँ अनि कहिलेकाहीँ ठ्याक्कै त्यसको विपरीत पनि हुनसक्छ।"

एउटा राम्रो खबर के हो भने शृङ्खलाबद्ध रूपमा केही सामान्य चरण अनुसरण गरेर पनि हामी उक्त प्रक्रियालाई सुस्त बनाउन सक्छौँ।

तर त्यी चरणबारे जान्नुअघि हामीले प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ थाहा पाउनु आवश्यक हुन्छ।

न्यून सङ्ख्यामा टी र बी कोष

प्रतिरक्षा प्रणालीका दुईवटा हाँगा हुन्छन्। प्रत्येक हाँगा भिन्न किसिमको श्वेत रक्तकोषबाट बनेको हुन्छ।

ती कोषहरू विशेषगरी हाम्रो शरीरलाई बचाउन संलग्न हुन्छन्।

हाम्रो शरीरमा अन्तर्निहित प्रतिरक्षा प्रणाली हाम्रो पहिलो पङ्क्तिको रक्षा प्रणाली हो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, श्वेत रक्तकोषले बाह्य तत्त्वको आक्रमणबाट शरीरलाई जोगाउँछ

यो हाम्रो शरीरमा कुनै पनि बाह्य तत्त्व वा जीव प्रवेश गरेको थाहा पाउनेबित्तिकै सक्रिय हुन्छ।

उक्त प्रतिक्रियामा तीनखाले कुराहरू हुन्छन्- न्यूट्रोफिलले मुख्य रूपमा ब्याक्टेरियालाई आक्रमण गर्छ, मोनसाइटले प्रतिरक्षा प्रणालीलाई सङ्गठित गर्न सहयोग गर्छ र अन्य प्रतिरक्षा कोषलाई सङ्क्रमण छ भनेर चेतावनी दिन्छ। अनि एनकेहरू अर्थात् घातक कोषहरूल भाइरस वा क्यान्सरसँग लड्छन्।

बर्मिङ्‌गम यूनिभर्सिटीस्थित इन्स्टिट्यूट अफ इन्फ्लमेशन एन्ड एजीङकी निर्देशक ज्यानेट लर्ड भन्छिन्, "जब हामी बूढा हुन्छौँ यी तीनवटा कोषहरूले राम्ररी काम गर्दैनन्।"

त्यसपछि कुनै परजीवीसँग लड्न टी र बी लिम्फोसाइट सम्मिलित छुट्टै प्रतिकार हुन्छ।

त्यसका लागि केही दिन लाग्छ तर एक पटक भइसकेपछि भविष्यमा त्यो प्रतिक्रिया प्रणालीले उक्त परजीवीलाई चिन्छ र फेरि त्यसले आक्रमण गरेमा पुन: निस्तेज बनाउन खोज्छ।

तस्बिर स्रोत, Getty Images

ज्यानेट भन्छिन्, "तपाईँ बूढो हुँदै जाँदा नयाँ लिम्फोसाइट कम बनाउन थाल्नुहुन्छ तर सार्स-कोभ-२ को जस्तो सङ्क्रमणसँग लड्नका लागि तपाईँलाई त्यो आवश्यक हुन्छ।"

उमेर बढेसँगै सबै प्रतिरक्षा प्रणालीको कार्य कमजोर बन्दै जान्छ।

सधैँ उमेर कारण हुँदैन

तर यसरी प्रतिरक्षा प्रणाली कमजोर बन्दै जानुमा उमेर मात्र कारण हुँदैन।

त्यसमा वंशाणु र जीवनशैलीले पनि प्रभाव पार्छन्।

हालसम्म पनि हाम्रो प्रतिरक्षा प्रणालीको आयु पत्ता लगाउन सम्भव थिएन।

तर शेन-ओर र उनको समूहले स्ट्यान्डफर्ड यूनिभर्सिटीसँग मिलेर यस्तो जानकारी हासिल गर्न सकिने विधि बनाएका छन्। यसबाट सफल उपचारमा सहायता पुग्ने ठानिएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शारीरिक रूपमा सक्रिय रहने मानिसमा अत्यधिक टी सेल पाइएको छ

सक्रिय रहनुहोस्

प्रतिरक्षा प्रणाली बूढो हुने क्रमलाई सुस्त बनाउन सकिने कुराहरू पनि रहेका छन्।

मुख्य कुरा भनेको शारीरिक रूपमा सक्रिय रहनु हो।

ज्यानेट लर्डका अनुसार शारीरिक रूपमा सक्रिय रहने मानिसहरू अत्यधिक टी सेल पाइएको छ।

त्यस्तै अर्को एउटा अध्ययनमा दैनिक १०,००० पाइला हिँड्ने मानिसमा न्यूट्रोफिल २० वर्षको मानिसमा जस्तो पाइएको छ।

तर यो सबै व्यक्तिको तन्दुरुस्तीको अवस्थामा भर पर्ने गर्छ।

यद्यपि विज्ञहरू सामान्य शारीरिक अभ्यासले पनि प्रतिरक्षा प्रणालीको बुढ्यौलीलाई सुस्त पार्ने बताउँछन्।

त्यस्तै सन्तुलित भोजन र पर्याप्त निद्राले पनि यसलाई सहयोग गर्ने बताइन्छ।

यसका साथसाथै वैज्ञानिकहरूले प्रतिरक्षा प्रणालीलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप विभिन्न अध्ययन गरिरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?