आर्मीनिया-अजरबैजान द्वन्द्व: अन्तर्राष्ट्रिय हस्तक्षेपपछि दुई छिमेकीलाई छिमेकी सरह मिल्न कति वर्ष लाग्ला?

The Ghazanchetsots (Holy Saviour) Cathedral in Shusha, Nagorno Karabakh

तस्बिर स्रोत, Reuters

    • Author, फेमिल इजस्माइलोभा
    • Role, सम्पादक, बीबीसी न्यूज रसियन

दुईवटा पूर्व सोभियत राष्ट्र आर्मीनिया र अजरबैजानबीच विवादित नगोर्नो काराबाख क्षेत्रमा सेप्टम्बर अन्तिमतिरबाट लडाइँ सुरु भयो। जसमा स्पष्ट रूपमा आर्मीनियामाथि अजरबैजानको हात माथि देखिन्छ।

अन्तर्राष्ट्रिय चासो र पहलकाबीच पनि दुवै देशबीच लडाइँ चलिरहेको थियो। तर अचानक रुसले कदम अघि बढाउँदै शान्ति सम्झौतामा भूमिका निर्वाह गर्‍यो।

काराबाखको राजधानी स्टेपनाकियर्टमा उसका शान्तिस्थापकहरूले प्रवेश गरे। त्यसअघि सबैले टर्कीले अजरबैजानलाई खुला साथ दिँदै 'खेल'को नेतृत्व गरिरहेको ठानेका थिए। ती दुई देशबीच नजिकको जातीय र सांस्कृतिक सम्बन्ध छ।

तर तीन साताअघि सोमवार राती आर्मीनिया, अजरबैजान र रुसका नेताहरूले अनलाइनमार्फत् छलफल गरेपछि नौ बुँदे सम्झौता गरेसँगै नगोर्नो काराबाख क्षेत्रको हिंसा रोकिएको थियो।

आर्मेनियाली सैनिकको अन्त्यष्टि

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, द्वन्द्वमा कति मारिए भन्ने स्पष्ट छैन र तर रुसी राष्ट्रपतिले अक्टोबर महिनामा करिब पाँच हजार मानिसले ज्यान गुमाउनु परेको बताएका छन्

त्यसअघि अजरबैजानले युद्ध जित्दै गएको देखिएको थियो।

उसको फौजले सन् १९९४ देखि आर्मीनियाको नियन्त्रणमा रहेका अधिकांश अजरबैजानका प्रान्तहरू फिर्ता लिँदै गए।

तीन देशका नेताहरूबीच नगोर्नो काराबाख आसपासका बाँकी क्षेत्र आर्मीनियाली सेनाले छाड्ने र त्यसमा अजरबैजानको नियन्त्रण हुने कुरा स्वीकार गरे।

रुसको शान्ति स्थापक सेनाले फेरि त्यहाँ लडाइँ नहोस् भन्ने सुनिश्चित गर्न दुवै पक्षलाई आमने-सामने हुन नदिने जिम्मेवारी पायो।

काराबाखमा अब कस्तो शासन?

रुसलाई नगोर्नो काराबाख क्षेत्रका आर्मीनियालीहरूलाई आर्मीनिया गणतन्त्रसँग जोड्ने पाँच किलोमिटर करिडोरलाई सुरक्षित राख्ने अभिभारा पनि दिइयो।

तर अझै पनि आर्मीनियाको नियन्त्रण बाँकी रहेको काराबाख क्षेत्रको शासन व्यवस्था भविष्यमा कसरी चल्छ भन्ने स्पष्ट छैन।

नगोर्नो काराबाख क्षेत्रको द्वन्द्व सोभियत सङ्घको विघटनपछि बढ्दो राष्ट्रिय पहिचानको परिणाम हो।

नयाँ स्वतन्त्र बनेका दुवै देश अजरबैजान र आर्मीनियाले एक अर्कासँग लड्न सोभियन सेनाले छाडेका हतियारको प्रयोग गरेका थिए।

शरणार्थी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, द्वन्द्वका कारण लाखौँ मानिस शरणार्थी बन्न बाध्य भएका थिए

त्यसक्रममा आर्मीनिया सफल भयो।

सन् १९९४ को अन्त्यसम्ममा उसले नगोर्नो काराबाख क्षेत्र र आसपासमा पर्ने अजरबैजानका सातवटा इलाकामा नियन्त्रण जमाउन सफल भयो।

त्यसपछि दुवै देशबाट एक अर्काका नागरिकलाई निकालियो र करिब १० लाख मानिस शरणार्थी बने।

अजरबैजानको सैन्य क्षमतामा वृद्धि

यस वर्षको सेप्टेम्बर २७ मा गुमाएका इलाका फिर्ता लिन अजरबैजानले आक्रमण सुरु नगर्दासम्म द्वन्द्व कायम थियो र बेलाबखत लडाइँ हुने गरेका थिए।

पछिल्लो लडाइँले दुई देशको सैन्य शक्ति सन्तुलनमा नाटकीय परिवर्तन आएको कुरा छिट्टै स्पष्ट गरिदियो।

'क्यास्पियन सी'मा पत्ता लागेको तेल र ग्यासको स्रोत अजरबैजानको निम्ति अर्थतन्त्र पुनर्निर्माणको महत्त्वपूर्ण आधार बन्यो।

उसले कमाएको ठूलो रकम सैनिक क्षमता बढाउन पनि उपयोग गर्‍यो।

केही वर्षमा राम्रा ट्याङ्क, गोलाबारुद र महत्त्वपूर्ण कुरा आधुनिक प्रविधिको खरिदमा उसले अर्बौँ डलर खर्च गर्‍यो।

आर्मीनियाली सैनिक

तस्बिर स्रोत, AFP

युद्ध क्षेत्रमा व्यापक रूपमा ड्रोनको प्रयोग गर्ने अजरबैजान पहिलो पूर्व सोभियत राष्ट्र हो।

आफ्नो फौज परिचालन गरेर रुसले त्यहाँको भूभागको स्थिति पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ।

त्यहाँ उसका दुई हजार प्याराट्रुप सैनिक रहने छन्।

न आर्मीनिया न अजरबैजान न त टर्की कसैले पनि रुसी सैनिकको जीवन खतरामा पार्ने कुनै काम गर्ने जोखिम मोल्ने छैनन्।

त्यसो भए रुस पहिल्यै किन अघि बढेन?

निश्चित रूपमा भन्न त गाह्रो छ तर पक्कै कुरा के हो भने आर्मीनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र रुसी राष्ट्रपति भ्लादिमीर पुटीनबीच राम्रो सम्बन्ध छैन।

पाशिन्यान निकै सफल लोकप्रियतावादी नेता हुन्।

महत्त्वपूर्ण कुरा उनी नागरिक आन्दोलनको बलमा शक्तिमा आएका हुन् जुन परिवर्तनलाई पुटीनले पश्चिमाहरूको प्रेरणामा भएको सरकार परिवर्तनको रूपमा हेर्छन्।

आक्रोश

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आर्मीनियामा प्रधानमन्त्रीप्रति आक्रोश पनि देखा परेको थियो

पछिल्लो हारपछि पाशिन्यानको राजनीतिक भविष्य अन्योलमा देखिन्छ। आर्मीनियाका राष्ट्रपति आर्मेन सर्किस्यान समेत युद्धविरामप्रति असन्तुष्ट रहेको बताइन्छ।

तर सम्झौता भइसकेको छ र रुसले प्रभावशाली ढङ्गले त्यहाँको सम्पूर्ण अवस्था नियन्त्रणमा लिएको छ।

उसले दुवैतर्फ सन्तुलन राख्ने प्रयास गरिरहेको देखिएको थियो।

आर्मीनियालाई शान्ति सम्झौतामा टिकाउने रुसको उद्देश्य देखिन्छ सँगै उसमाथि आक्रमण नहोस् भन्नेमा जोड दिइरहेको छ।

नेटो सदस्य टर्कीले खुला रूपमा अजरबैजानलाई साथ दिँदै यदि आग्रह गरिए सहयोगको निम्ति सेना पठाउने वाचा पनि गरेको थियो।

साउथ ककेसस क्षेत्रमा रुस र टर्कीबीच सम्भावित द्वन्द्व वास्तविक ठानिएको छ।

खुसीयाली

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शान्ति सम्झौतापछि अजरबैजानमा खुसीयाली मनाइयो

तर त्यो पनि सम्भवत: सिरिया र लिबियामा सवाधानीपूर्वक खेलिएको खेल जस्तै हो।

जब टर्कीश र रुसी सैनिक एवम् राजनीतिक स्वार्थहरू बाझ्ने गर्छन् अन्तत: सधैँ नै साझा विन्दु पहिल्याउँछन्।

३० वर्षको पर्खाइ अन्त्य

जब रुसले अन्तिम समयमा कदम उठायो नगोर्नो काराबाख क्षेत्रमा पनि त्यस्तै देखियो।

त्यसैले केही हदसम्म त्यहाँको द्वन्द्वमा अजरबैजान जस्तै रुसलाई पनि विजेताको रूपमा हेर्न सकिन्छ।

युद्धविरामलाई लिएर सामान्यतया अजरबैजानमा खुशी देखिएको छ।

आर्मीनियाले कब्जा गरेको क्षेत्र फिर्ता भएसँगै हजारौँ अजेरीहरूको घर फर्किने करिब ३० वर्षको अन्योलपूर्ण पर्खाइको पनि अन्त्य भएको छ।

तैपनि सिंगो नगोर्नो काराबाख क्षेत्र फिर्ता लिन नसकेको असन्तुष्टि पनि कतिपयमा पाइन्छ।

आर्मीनियामा रुसले छिट्टै र क्षति रोक्न पहिल्यै त्यस्तो कदम नउठाएकोमा आक्रोश छ।

प्रदर्शनकारी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्रदर्शनकारीले आर्मेनियामा संसद् र सरकार कार्यालय तोडफोड गरेका थिए

तर लडाइँ जारी रहेको भए नगोर्नो काराबाख क्षेत्रमा कोही आर्मीनियाली पनि बच्ने थिएनन र परिणाम अहिलेको भन्दा निकै पीडादायी हुने थियो भन्ने कुरा उनीहरू पनि मान्छन्।

अमेरिका र युरोपेली सङ्घ यो शान्ति सम्झौताभन्दा पूर्ण रूपमा बाहिर देखिन्छन्।

भविष्य के हुन्छ?

युद्धको ठूलो मार द्वन्द्व क्षेत्रका आर्मीनियाली नागरिकले बेहोर्नु पर्‍यो। राम्रो खबर किन हो भने थप सैनिक र नागरिकले अनावश्यक रूपमा मारिनु पर्ने छैन।

त्यस्तै तीन वर्षदेखि रित्ता रहेका आफ्नो गाउँ फर्किन सक्ने भएकाले आन्तरिक रूपमा विस्थापित सबै अजरबैजानीहरूको निम्ति पनि यो खुशीको समाचार हो। त्यस्तै नगोर्नो काराबाख क्षेत्रका नागरिक पनि घर फर्किन सक्छन्।

तर नगोर्नो काराबाखको वर्तमान र भविष्य, प्रशासनिक र कानुनी प्रणाली वा प्रहरी व्यवस्थाबारे कुनै सङ्केत प्राप्त भएको छैन।

उसले आफूलाई स्वघोषित गणतन्त्र भन्दै आएको थियो। तर आर्मीनिया समेत कसैले पनि मान्यता दिएका थिएनन्।

एक महिनाअघि एक अर्कालाई धेरै घृणा गर्ने दुईथरी राष्ट्रियता आपसमा कसरी थप नजिकै बस्दैछन् भन्ने यतिबेलाको सबैभन्दा ठूलो प्रश्न हो।

युद्ध र त्यसमा बगेको रगत र दुवैतर्फ देखिएको हिंसाका कारण दुवै छिमेकी देश छिमेकी सरह मिलेर बस्न अझै कैयौँ वर्ष लाग्ने हो कि भन्ने डर छ।