कोरोनाभाइरस र विद्यालय: १०० वर्षअघि ... एउटा घातक रोगबाट जोगिन कक्षा कोठा बाहिरको सिकाइ यसरी गरिएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, न्यू योर्कको खुला विद्यालय: हिउँदमा यो चुनौतीपूर्ण थियो तर केटाकेटीले बहादुरीपूर्वक चिसो मौसम झेलेका थिए
    • Author, पउला अडामो इडोएटा
    • Role, बीबीसी न्यूज ब्राजिल

एउटा सम्भावित घातक रोग जसको खोप विकास भएको थिएन।

र विद्यार्थीहरूको सिकाइ प्रभावित नहोस् भनेर उनीहरूलाई सुरक्षित रूपमा विद्यालयमा फर्काउनुपर्ने समस्या थियो।

यो अहिलेकै अवस्थासँग मिल्दोजुल्दो सुनिन्छ हैन?

विश्वले यस्तो खालको अन्योल १०० वर्षअघि बेहोरेको थियो जुनबेला घातक क्षयरोगले ठूलो क्षति निम्त्याइरहेको थियो।

२० औँ शताब्दीको शुरूमा क्षयरोगले युरोप र अमेरिकामा प्रत्येक ७ जनामध्ये एकको ज्यान लिएको अमेरिकी सङ्क्रामक रोग नियन्त्रण निकाय यूएस सेन्टर फर डीजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ।

तस्बिर स्रोत, Revista Brasileira de Ed Física/Reprodução

तस्बिरको क्याप्शन, बेल्जियम र जर्मनीमा सन् १९०४मा खुला विद्यालय शुरू भएका थिए र प्यारिसमा सन् १९२२ मा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो

क्षयरोगको खोपको विकास सन् १९२१ मा मात्रै भएको थियो र त्यसको वर्षौँपछि मात्रै त्यो विश्वभर उपलब्ध भएको थियो।

त्यसबेला विद्यार्थीहरूले पढ्न सकुन् भनेर स्वच्छ हावा, बाहिरको वातावरण र पर्याप्त हावाको प्रवाह हुने भेन्टिलेशनको व्यवस्था गरेर विद्यालयहरू सञ्चालन गरिएका थिए।

बोक्न मिल्ने टेबुल र कुर्सीहरूलाई बगैँचामा सारिएको थियो जहाँ शिक्षकहरू र विद्यार्थीहरूले विज्ञान, भूगोल र कला प्रकृतिलाई हेरेर सिक्थे र सिकाउँथे।

शुरूमा जर्मनी र बेल्जियममा सन् १९०४ मा सुरू भएको यो अवधारणाले त्यसपछि अभियानकै रूप लिएको थियो।

खुल्ला स्थानमा शिक्षा दिने अभियान लिग फर ओपन एअर एजुकेशनको पहिलो अन्तर्राष्ट्रिय कङ्ग्रेस सन् १९२२ मा प्यारिसमा आयोजना गरिएको थियो।

द न्यूयोर्क टाइम्स अखबारका अनुसार रोड आइलेण्ड राज्यका दुई जना चिकित्सकहरूले सुझाव दिएपछि सन् १९०७ मा संयुक्त राज्य अमेरिकामा त्यस्ता विद्यालयहरू सञ्चालनमा आएका थिए।

त्यसपछिका दुई वर्षमा ६५ वटा विद्यालयहरू खुलेका थिए जसले खुला प्रवेशद्वार, अग्ला भवनका छाना र प्रयोग नगरिएका पानी जहाजलाई पनि पढाउनमा प्रयोग गरिएका थिए।

शरीर मस्तिष्क

तस्बिर स्रोत, Revista Brasileira de Ed Física/Reprodução

तस्बिरको क्याप्शन, बीसौँ शताब्दीको शुरूतिर रक्तअल्पता र कुपोषण सँगसँगै बच्चाहरूमा क्षयरोग ठूलो चिन्ताको विषय थियो

तस्बिर स्रोत, Revista Brasileira de Ed Física/Reprodução

तस्बिरको क्याप्शन, ब्राजिलको खुला विद्यालयमा विद्यार्थीका मस्तिष्क र शरीर बलियो बनाउने विषयलाई महत्त्व दिइन्थ्यो

कोभिड-१९ भन्दा फरक क्षयरोग हावाका माध्यमबाट सर्ने रोग हो। सीडीसीका अनुसार यसले हावामा कैयौँ घण्टा निष्क्रिय भएर रहिरहने ब्याक्टेरियालाई सास फर्ने क्रममा निल्ने मानिसहरूलाई सङ्क्रमण गर्छ।

कोभिडचाहिँ सङ्क्रमित व्यक्तिबाट निष्कने ठूला 'ड्रपलेट्स' हरूसँग प्रत्यक्ष वा उनीहरू पुगेका स्थानको सतहको सम्पर्कमा आउँदा सर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

यद्यपि डब्लूएचओले हालै हावामा रहेका सुक्ष्म कणहरूबाट पनि कोरोनाभाइरस सर्नसक्ने प्रमाण देखा परिरहेको स्वीकार गरेको थियो।

"रोगहरू मध्ये रक्तअल्पता र कुपोषण बाहेक क्षयरोग बालबालिकाको लागि ठूलो चुनौती रहेको थियो," फेडेरल युनिभर्सिटी अफ साओ पाउलोका सहप्राध्यापक एन्ड्री डलबेन भन्छिन्।

उनका अनुसार ती विद्यालयहरूले गरिब परिवारका केटाकेटीलाई पढाउने गर्थे जसले आफ्नो शरीर बिरामी भएको ठान्ने गर्थे।

तर भिडभाड हुने अस्वस्थ्य ठाउँबाट पर प्रकृतिमा रम्न दिएर विद्यालयहरूले विद्यार्थीहरूको सिकाइलाई मात्रै सम्बोधन गरेनन्, बालबालिकाको रोगप्रतिरोधी क्षमतालाई पनि बलियो बनाए।

नयाँ आदर्श

तस्बिर स्रोत, Revista Brasileira de Ed Física/Reprodução

तस्बिरको क्याप्शन, समाज र शिक्षाबारे नयाँ विचारहरू मन्थन भइरहेका बेला खुला विद्यालय फष्टाएका थिए

युनिभर्सिटी अफ साओ पाउलोकी शिक्षाको इतिहासबारेका प्राध्यापक डियाना भिडाल दुई वटा विश्वयुद्धको बीचको अवधिमा त्यस्ता विद्यालयहरू फस्टाएको र उनीहरूले समाज र शिक्षाबारे नयाँ सोचहरू विकास गराएको बताउँछन्।

उनका अनुसार पहिलेको परम्परा तोडिएपछि विद्यालयका संरचनाहरू मैत्रीपूर्ण भए र उनीहरूले लोकतन्त्रलाई प्रवर्द्धन गरे जसले एउटा थप शान्तिप्रेमी र सहयोगी पुस्ता तयार पार्‍यो।

ब्राजिलमा सन् १९१६ देखि सन् १९२० र ३० को दशकमा कैयौँ त्यस्ता विद्यालय भएको अभिलेख पाइन्छ।

साओ पाउलोको एउटा विद्यालयमा त्यसबेला माथिल्लो वर्गका परिवारका विद्यार्थीले पनि पढ्ने गरेको पाइएको छ।

एउटा विन्दुमा इएएएल नामक एक विद्यालयमा ३५० जना विद्यार्थी रहेको र अरूले भर्नाको लागि कुरिरहेको बताइन्छ।

तस्बिर स्रोत, Revista Brasileira de Ed Física/Reprodução

तस्बिरको क्याप्शन, ऐतिहासिक अनुसन्धानले देखाए अनुसार ब्राजिलको इएएएल विद्यालयलाई नमुना विद्यालय मानिएको थियो

शिक्षाको नमुना भनिएपनि प्रोफेशर डाल्बेनका अनुसार त्यस्ता विद्यालयका कतिपय विशेषता परम्परागत विद्यालय सरह नै थिए।

आफूले अहिले ८० को दशकमा रहेका ती विद्यालयका पूर्व विद्यार्थीहरूसँग कुरा गरेको भन्दै उनले त्यहाँ कडा शिक्षकहरू रहेका उल्लेख गरे।

उनले खुला विद्यालयहरूलाई पुच्छ्रे तारासँग तुलना गर्दै उनीहरूले सबैको ध्यान एकदमै आकर्षण गरेपनि सन् १९६० देखि बिर्सिँइँदै गएको जनाए।

त्यसपछि विद्यालयहरूले कारखानाको जस्तो ढाँचा अवलम्बन गर्ने क्रममा विद्यालय शुरू हुने र अन्त्य हुने समय तोकेको र श्रोतको अधिकतम उपयोग सुनिश्चित गर्न उपलब्ध भौतिक क्षेत्रफलमा बढी भन्दा बढी बालबालिका अटाएको उनको भनाइ छ।

तस्बिर स्रोत, Revista Brasileira de Ed Física/Reprodução

तस्बिरको क्याप्शन, प्रोफेशर भिडालका अनुसार पहिलो विश्वयुद्ध पछिका खुला विद्यालयहरूले शान्ति र सहयोगी समाजको प्रवर्द्धन गर्ने लक्ष्य लिएका थिए

पछिल्लो अध्ययनहरूले खुल्ला ठाउँमा कोभिड-१९ को जोखिम उल्लेख्य रूपमा घटाउन सकिने सङ्केत दिइरहँदा अनुसन्धानकर्ताहरूले खुल्ला आकाशमुनि विद्यालय चलाउने अभ्यास ब्युँताइनुपर्ने बताएका छन्।

आकाशमुनि विद्यालय कहाँ चलिरहेका छन्

भारत प्रशासित कश्मीरमा यस्ता विद्यालयहरू चलिरहेका छन् जहाँ विद्यार्थीहरूले हिमालयको काखमुनि अध्ययन गरिरहेका छन्।

सिङ्गापुरले आफ्ना साना नागरिकहरूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउन बर्षौँदेखि बाहिर अध्यापन गराउने अभ्यासलाई बढावा दिएको छ।

तस्बिरको क्याप्शन, कोभिड- १९ कारण पनि खुला ठाउँमा सिकाउने कुरालाई प्रोत्साहन गरिएको छ

फिनल्याण्डमा जङ्गलमा अध्यापन गराउने अभ्यास लोकप्रिय छ किनभने त्यहाँ बन र प्रकृति देशको संस्कृतिका अभिन्न अङ्ग हुन्।

र डेनमार्कमा त्यसरी बाहिर बिद्यालयमा पढाउने दिनको नाम नै तोकिएको छ र धेरै शिक्षक र विद्यालयहरूले त्यसलाई नियमित रूपमा अवलम्बन गर्छन्। कोभिड-१९ महामारीमाझ उक्त अभ्यासलाई कसरी प्रोत्साहन गर्ने भनेर उक्त देशले प्रस्तावहरू माग गरिरहेका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डेनमार्कमा कैयौँ विद्यालय र शिक्षकहरूले नियमित रूपमा खुला विद्यालयको अभ्यास गर्दै आएका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, न्यू योर्कमा खुला ठाउँमा पढाइ

प्रोफेशर डा्ल्बेन भन्छन्, "मैले अनुसन्धान सुरु गरेका बेला बच्चाहरूको वातावरणीय शिक्षाबारे केन्द्रित थिएा तर अहिले महामारीको समस्या थपिएको छ।"

उनी भन्छन्, "हामीले पुरानै किसिमको खुला विद्यालय नक्कल गर्नुपर्छ भन्ने छैन तर तीनको फरक स्वरूप भने बनाउन सक्छौँ।"