अमेरिका निर्वाचन २०२०: अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडन को हुन्? के उनले डोनल्ड ट्रम्पलाई निर्वाचनमा हराउन सक्लान्?

तस्बिर स्रोत, Getty

तस्बिरको क्याप्शन, डेमोक्र्याट नेता जो बाइडनले आगामी चार वर्ष ह्वाइट हाउसको बाग्डोर कसले सम्हाल्ने भनेर रिपब्लिकनतर्फका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दै
    • Author, पिटर बल
    • Role, बीबीसी विश्व सेवा
  • पढ्ने समय: ७ मिनेट

डोनल्ड ट्रम्प र उनको थप चार वर्ष ह्वाइट हाउसको कार्यकालका बीच एकमात्र मानिस उभिएका छन् - जो बाइडन।

बराक ओबामाका उपराष्ट्रपति रहेका बाइडनलाई डेमोक्र्याटिक पार्टीले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको छ।

उनका समर्थकहरूको निम्ति बाइडन दशकौँको अनुभवप्राप्त विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता हुन् जो सामान्य नागरिकसँग सहजतापूर्वक घुलमिल हुन सक्छन् र जसले व्यक्तिगत दुर्घटनाहरूसँग बहादुरीपूर्वक सामना गरेका छन्।

तर उनका विरोधीहरूका निम्ति बाइडन संस्थापनसँग जोडिएका "डाँडापारिका घाम" हुन् जसले बेलाबखत लाजलाग्दो गल्ती गर्छन्। (महिलाहरूको कपाल सुँघ्ने जसको अचम्मको बानी पनि छ।)

के ट्रम्पलाई हराउन आवश्यक क्षमता उनमा छ त?

प्रभावशाली वक्ता

तस्बिर स्रोत, Getty

तस्बिरको क्याप्शन, जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन्

जो बाइडन चुनाव प्रचारका पुराना खेलाडी हुन्।

उनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बने। अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो।

उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो क्षमता भएका मानिस पनि हुन्।

भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो। यो उनको तेस्रो अभियान हो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बाइडन सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् तर उनी कहिलेकाहीँ नराम्रो समाचारको सामग्री बन्छन्

र्‍यालीमा भाषण गर्दै उनले भनेका थिए: "मेरा पुर्खा उत्तरपूर्वी पेन्सल्भेनीआका कोइलाखानीमा काम गर्थे।" उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए।

तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् - उनले त्यो वाक्य (र अन्य कैयौँ वाक्य) एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए।

पछि 'जो बम'का नामले परिचित भएका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो।

सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, "मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा"।

विचारनगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् २००९ देखि २०१७ को बीच बाइडन बराक ओबामाका उपराष्ट्रपति थिए

राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले 'अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छ' भनेर मानिसहरूलाई त्रसित बनाइदिए।

उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए "अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तिक्ष्ण र स्वच्छ अनि आकर्षक छ।" तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने।

त्यस्ता टिप्पणीका बावजुद अश्वेत मतदातामाझ उनी लोकप्रिय रहेका छन्। तर हालसालै एउटा रेडिओ कार्यक्रममा चर्चित अश्वेत प्रस्तोतासँग बोलेका कुरा निकै विवादित भए। उनले भनेका थिए, "यदि अझ पनि तपाईँलाई म र ट्रम्पमध्ये एक जना चुन्न कठिन भइरहेको छ भने तपाईँ अश्वेत होइन।"

त्यो एउटा वाक्यले सञ्चारमाध्यममा ठूलो सनसनी मच्चियो। उनको प्रचार टोलीले बाइडनले अश्वेत मतदाताहरूलाई हलुका रूपमा नलिएको प्रतिक्रिया दिनुपर्‍यो।

अनुभवी प्रचारक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मतदाताहरूसँगको भेटघाटमा बाइडन निकै सहजरूपमा प्रस्तुत हुन्छन्

उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ।

रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन्।

बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बाइडनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन्

खासगरी कामदार तथा मजदुर वर्गलाई बाइडनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन्। भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन् - कुनै रकस्टारले जस्तै।

"उनी मानिसहरूसँग अङ्कमान गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ। कृत्रिम हुँदैन," पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले न्यूयोर्कर पत्रिकालाई बताए।

तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन्।

आरोपहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उनको व्यवहारलाई लिएर महिलाहरूबाट बाइडनले कैयौँ आरोप खेपेका छन्

गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाए।

अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे।

प्रतिक्रियामा बाइडनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पुर्‍याउने बताए।

तर मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई बाइडनले भित्तामा घँचेटेको र यौन आक्रमण गरेको आरोप लगाइन्। त्यतिखेर उनी बाइडनको कार्यालयमा सहयोगी कर्मचारी थिइन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पछिल्ला वर्षहरूमा "पीडितलाई विश्वास गरौँ" भन्ने साझा नारा बनेको छ

बाइडनले सो आरोप अस्वीकार गरे र उनको प्रचार कार्यालयले त्यस्तो हुँदै नभएको विज्ञप्ति जारी गर्‍यो।

बाइडनका समर्थकहरूले वर्तमान राष्ट्रपतिविरुद्ध एक दर्जनभन्दा धेरै महिलाले यौन दुर्व्यवहारका आरोप सार्वजनिक रूपमा लगाएको प्रसङ्ग कोट्याउने गर्छन्।

तर यस्तो विषयमा सङ्ख्याको खेल खेल्नुहुन्छ र?

मीटू अभियान सुरु भएयता बाइडनलगायत डेमोक्र्याटिक नेताहरूले महिलाहरूलाई विश्वास गर्नुपर्ने भन्दै आएका छन्। त्यसैले त्यस्ता आरोपलाई हलुका रूपमा लिने कुनै पनि प्रयासले अभियानकर्मीहरूलाई असजिलो बनाउँछ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

हालै दिएको एउटा टेलिभिजन अन्तर्वार्तामा रिडले भनेकी थिइन्: "बाइडनका समर्थकहरूले मेरो बारेमा सामाजिक सञ्जालमा निकै नराम्रा कुरा गरेका छन्।"

"उनी आफैँले केही भनेका छैनन् तर उनको प्रचार समूहले आडम्बर प्रदर्शन गरेको छ।"

बाइडनको प्रचार कार्यालयले ती भनाइ अस्वीकार गरेको छ।

उही गल्ती नदोहोर्‍याउने प्रयत्न

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उम्मेदवारको रूपमा हिलरी क्लिन्टन अझ अनुभवी थिइन् तर सन् २०१६ को चुनावमा डोनल्ड ट्रम्पले उनलाई पराजित गरिदिए

सामान्य मानिससँग निकटता देखाउने उनको आत्मीय शैलीका कारण बाइडनले विगतका डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवारहरूको गल्ती नदोहोर्‍याउने उनका समर्थकको आशा छ।

वाशिङ्टनमा उनको धेरै अनुभव छ। सिनेटमा तीन दशकभन्दा धेरै अनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष।

तर यस्ता अनुभवले विगतमा काम नगरेका पनि कैयौँ उदाहरण छन्।

अल गोर (आठ वर्ष तल्लो सदनमा, आठ वर्ष सिनेटमा, आठ वर्ष उपराष्ट्रपति), जन केरी (२८ वर्ष सिनेटर) र हिलरी क्लिन्टन (आठ वर्ष प्रथम महिला, आठ वर्ष सिनेटर) ले उनीहरूभन्दा कम अनुभवी रिपब्लिकन प्रतिद्वन्द्वीसँग पराजय भोगेका थिए।

बाइडनका समर्थकहरू उनको स्वाभाविक शैलीका कारण पुरानो गल्ती नदोहोरिने आशा गर्छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २००८ मा ओबामाले उनको चुनाव विषय परिवर्तनको वाचामा केन्द्रित गरेका थिए तर बाइडनलाई त्यही कुरा फेरि गर्न गाह्रो पर्नेछ

पटकपटक अमेरिकी मतदाताहरूले वाशिङ्टनभन्दा बाहिरबाट आएका वा त्यसरी संस्थापनभन्दा बाहिरको रूपमा आफूलाई प्रस्तुत गर्ने उम्मेदवारहरूलाई जिताएका छन्।

अर्थात् ह्वाइट हाउसमा पुगेर राजनीतिक संस्थापनमा फेरबदल गर्ने वाचा गर्नेहरूले मत पाएका छन्।

तर त्यस्तो वाचा गर्न बाइडनलाई भने असम्भव हुनेछ किनभने करिब ५० वर्षदेखि उनी उच्चस्तरको राजनीतिमा संलग्न भइआएका छन्।

अनि लामो समयदेखिको रेकर्ड उनकै विपक्षमा प्रयोग हुनसक्छ।

लामो इतिहास

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९८७ मा बाइडनले पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए

गत केही दशकयता अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन्।

अहिलेको राजनीतिक वातावरणमा ती कतिपय निर्णय उचित नदेखिन सक्छ।

सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्‍याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडन उभिएका थिए। यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ।

ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले बाइडनबारे गरेको एउटा टिप्पणीलाई पनि रिपब्लिकनहरू सम्झाइरहन्छन्। विगत चार दशकमा विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने गेट्सले बताएका थिए।

यो अभियानका बेला यस्ता थप विषय अगाडि आउन सक्छन्।

पारिवारिक वेदना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बाइडनकी पहिलो पत्नी नेलिया र उनीहरूका छोरीले कार दुर्घटनामा ज्यान गुमाएका थिए

बाइडन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ।

सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, बाइडनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए

सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण बो बाइडनको निधन भयो।

आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ।

तर उनका अर्का छोरा हन्टरसँग भने अर्कै कथा जोडिन्छ।

शक्ति, भ्रष्टाचार तथा झुट?

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हन्टर बाइडनले पिताको राजनीतिमा जटिलता उत्पन्न गरिदिएका छन्

हन्टर पहिले वकिल थिए। पछि उनको व्यक्तिगत जीवन समस्याग्रस्त भयो।

उनको पहिलो पत्नीले उनले लागुऔषध तथा मदिरा प्रयोग गर्ने गरेको अनि मोजमस्तीमा लागेको विषयलाई सम्बन्धविच्छेदको कारणको रूपमा प्रस्तुत गरेकी थिइन्। उनलाई जलसेनाले कोकिन प्रयोग गरेको पाएका कारण निकालिदिएको थियो।

उनले न्यूयोर्कर पत्रिकासँगको कुराकानीमा आफूलाई ऊर्जा क्षेत्रसँग सम्बन्धित एक ठूला चिनियाँ व्यापारीले हीरा दिएको स्वीकारेका थिए। ती व्यापारीलाई पछि बेइजिङले भ्रष्टाचारमा छानबिन गरेको थियो।

गत वर्ष हन्टरले भेटेको एक सातापश्चात् नै दोस्रो पत्नीसँग बिहे गरेका थिए। उनको व्यक्तिगत जीवन र आम्दानीको विषयले बाइडनपनि विवादमा तानिएका छन्।

महाभियोग

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइएको थियो तर पछि सिनेटले सफाइ दिएका कारण उनलाई हटाइएन

उनले गरेको आम्दानीको एउटा क्षेत्रचाहिँ यूक्रेन थियो।

त्यसलाई लिएर राष्ट्रपति ट्रम्पले यूक्रेनका राष्ट्रपतिलाई हन्टरमाथि भ्रस्टाचारको अनुसन्धान गर्न दबाव दिएको भन्ने आरोप लाग्यो।

त्यही फोन कलका कारण ट्रम्पमाथि हालसालै महाभियोग लगाइयो।

सिनेटले रोकेका कारण ट्रम्पको पद भने गुमेन। तर यसले सिर्जित राजनीतिक विवादमा आफू नमुछिएको भए हुने बाइडनलाई लागेको हुनसक्छ।

विदेश मामिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बाइडनसँग विश्वमञ्चको धेरै अनुभव छ

कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडनको निम्ति बढ्ता हानिकारक हुन्छ। उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए। आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन्।

यसले मतदाताहरूलाई आश्वस्त त पार्छ तर विदेशमामिलाका विभिन्न मुद्दामा उनले विगतमा गरेका मतदानले कस्तो असर पार्ला भन्न सकिन्न।

सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले।

अलि सतर्क रहन रुचाउने बाइडनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए। सो कारबाहीमा बिन लादेन मारिएका थिए।

बाइडनका दृष्टिकोणहरू डेमोक्र्याटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन्। उनीहरूले बर्नी स्यान्डर्स वा एलिजाबेथ वारेनका जस्ता कट्टर युद्धविरोधी अडानको समर्थन गर्छन्।

तर कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन्।

उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन्।

सबै वा शून्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हारेपनि जितेपनि बाइडनको राजनीतिक जीवनको यो अन्तिम अध्याय हुने देखिन्छ

जनमत सर्वेक्षणहरूले निरन्तर बाइडनलाई ट्रम्पभन्दा ५ देखि १० अङ्कले अगाडि रहेको देखाइरहेका छन्। तर अझै पनि नोभेम्बरको चुनाव आउन केही समय बाँकी छ। दुई प्रतिस्पर्धीबीच थप सङ्घर्ष बाँकी नै छ।

सरकारले कोरोनाभाइरस महामारीको व्यवस्थापन कसरी गरेको भन्नेबारे तथा देशमा अश्वेत अमेरिकीसमुदाय विरुद्ध प्रहरी हिंसालाई निन्दा गर्नेबारे दुई नेताले भिन्नभिन्न मत राख्दै आएका छन्।

महामारी व्यवस्थापनसँग जोडिएको अनुहार ढाक्ने मास्कको प्रयोगको विषय समेत राजनीतिक मुद्दा बनेको छ।

बाइडन बारम्बार मास्क लगाएर सार्वजनिक रूपमा देखा परिरहन्छन् भने ट्रम्पले त्यसको विपरीत गतिविधि गरेका छन्।

सानातिना राजनीतिक कटाक्ष तथा राजनीतिक प्रचार अभियानका बेला गरिने छवि निर्माणका विषय बाहेक यो चुनावसँग निकै नै महत्त्वपूर्ण मुद्दाहरू गाँसिएका छन्।

यदि बाइडनले जिते भने उनको निम्ति लामो राजनीतिक यात्राको एउटा उत्कर्ष हुनेछ। तर यदि उनी हारे भने थप चार वर्ष उनकै शब्दमा 'संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हुन पूर्णत: नालायक व्यक्ति'को हातमा सत्ताको लगाम जानेछ।

केही वर्ष अघि उनलाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुने कि नहुने भनी प्रश्न गरिँदा बाइडनले भनेका थिए: "राष्ट्रपति नबनीकनै पनि म खुसीखुसी यो संसारबाट बिदा हुनसक्छु।"

अब त्यो स्थिति भने रहेन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकाको चुनावमा कति खर्च हुन्छ?