कोरोना भाइरस महामारी: मदिरा उपभोगमा क्रान्ति ल्याउँदै नयाँ पुस्ता

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पुराना पुस्ताका मानिसहरूभन्दा नयाँ पुस्ताकाले कम रक्सी पिउँछन्
    • Author, फर्न्यान्डो डुआर्टे
    • Role, बीबीसी विश्व सेवा

कोभिड-१९ का कारण मध्यमार्चतिर संसारभरि लकडाउन हुन थाल्दा टिना रोड्रिगेजले आफ्ना निजी प्रशिक्षक साथीको सहयोगमा स्वास्थ रहन मदिरा पिउन छाडेको अढाइ महिना भइसकेको थियो।

"मैले भर्खरै मात्र आफ्नो आहारमा सुधार ल्याएकी थिएँ। त्यसलाई निरन्तरता दिनु महत्त्वपूर्ण थियो," उनले भनिन्।

"मैले सदाका लागि मदिरा त्यागेकी थिइनँ। तर लकडाउनका बेला फेरि पिउन थाल्नु उचित लागेन।"

घरमा दुईवर्षे छोरासँग रहँदा उनलाई मदिरारहित जीवन व्यतीत गर्न कठिन भएन।

"बाहिर जान सकिँदैनथ्यो। घरभित्र पिउने विकल्प मेरोसामु थिएन।"

महामारीको समयमा मदिरा उपभोग अचाक्ली बढेको समाचार आयो। तर यही समयमा मदिरा नपिउने प्रवृत्ति पनि विश्वभरि फैलिएको छ। २६ वर्षीया टिना अचेल उनको घरनजिकैका रेस्टुराँ खुलिसकेका भए पनि मदिरा पिउँदिनन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतिपय देशमा लकडाउनका बेला मदिराको विक्री बढ्यो

कोभिड कालमा मदिरा उपभोग: धेरै वा थोरै

महामारीले मानिसहरूबीचको सम्बन्ध तथा मदिरापानमा नकारात्मक प्रभाव पारेका थुप्रै विवरणहरू आएका छन्।

विश्वभरिका स्वास्थ्य अधिकारीहरूले - ब्रजिलदेखि भारतसम्म, अमेरिकादेखि युरोपसम्म - मदिरा उपभोग बढेको तथ्याङ्कका माझ मानिसहरूलाई सचेत गराए।

एप्रिलको अन्त्यतिर अमेरिकामा मदिराको अनलाइन विक्री ४०० प्रतिशतले बढ्यो। दक्षिण अफ्रिकाले त रक्सी विक्रीमा प्रतिबन्ध नै लगायो।

टिना बस्ने यूकेमा गरिएको एउटा सर्वेक्षणमा पनि ३० प्रतिशत मानिसले अरू बेलाभन्दा धेरै मदिरा पिएको बताए।

तर यो तीतो यथार्थका साथसाथै जानीबुझीकन मदिराबाट टाढा रहने प्रवृत्ति पनि मौलाएको छ।

युवा पुस्ताका मानिसहरूले यो प्रवृत्ति अँगालेको पाइएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, 'जुम टोस्ट': विश्वभरि मानिसहरूले लकडाउनमा बढी रक्सी पिएको बताए

युवा अनि मदिराबाट टाढा

सन् १९८१ र १९९६ का बीच जन्मिएको युवा पुस्ता अघिल्लो पुस्ताभन्दा मदिरा पिउने मामिलामा 'कम प्यासी' भएको पहिले पनि बताइएको थियो।

अझ सन् १९९६ पछि जन्मिएका जेनरेशन जेड वा जूमर्स भनिने कान्छो पुस्ता मदिराबाट अझ टाढा रहन रुचाउने पाइएको छ। अमेरिकी लेखक रुबी वारिङ्टनले उनको किताबमा यो प्रवृत्तिलाई 'सोबर क्यूरिअस' वा मदिरा नपिएको अनुभव गर्न रुचाउने भनेकी छन्।

असी लाख अमेरिकी किशोरकिशोरीबारे ३० वर्ष लगाएर (१९७६-२०१६) गरिएको एक अध्ययनमा यूनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरूले जूमर्स पुस्ताका किशोरकिशोरी अघिल्लो पुस्ताका मानिसले भन्दा मदिरा चाख्न कम लालायित हुने गरेको पाए।

"बीस वर्षअगाडि स्वस्थ जीवनशैलीलाई उदेकलाग्दो रूपमा हेरिन्थ्यो। अहिले स्वस्थ हुनुलाई सही मानिन्छ," मिन्टेल नामक अनुसन्धान संस्थाका मदिरा उद्योगसम्बन्धी विज्ञ जोनी फोर्साइथले भने।

"जेनरेशन जेड सबभन्दा स्वस्थ पुस्ता भएको छ। उनीहरूले मदिरा उद्योगमा व्यापक परिवर्तन ल्याउनेछन्," उनले भने।

सत्ताइस वर्षीया पत्रकार मिली गुचले सामाजिक सञ्जालमा मदिरा नपिउनेहरूको समर्थनमा बनेको 'द सोबर गर्ल सोसाइटी' सञ्चालन गर्छिन्। उनी भन्छिन् कतिपयमा लकडाउनले सकारात्मक प्रभाव पारेको छ।

"महामारीले नयाँ चुनौती ल्याएको छ। जस्तो कि व्यक्ति-व्यक्तिबीच सम्पर्क छैन र त्यसले उब्जाउने दिक्दारीले मानिसहरूलाई थप पिउन उक्साउन सक्छ," उनले भनिन्।

"तर हाम्रा कैयौँ सदस्यले के पनि भनेका छन् भने यो महामारीका कारण नपिउन पनि सजिलो भएको छ किनकि थोरै पार्टी वा इभेन्ट भएका छन् र पिउने सामाजिक दबाव कम परेको छ।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लकडाउनले कतिपय मानिसलाई मदिरासँगको उनीहरूको सम्बन्ध समीक्षा गर्ने अवसर दियो

मदिरारहित पेय पदार्थको उदय

प्रवृत्तिमा आएका परिवर्तनले पश्चिमा देशमा नयाँ व्यापारिक अवसरहरू खुलेका छन्। यो अन्यत्र पनि फैलिने विज्ञहरू बताउँछन्।

नोलो भनिने थोरै मात्रामा मदिरा भएको वा मदिरा हुँदै नभएको पेयपदार्थको विक्रीमा महामारीका बेला वृद्धि भयो।

ब्रिटेनका जीवशास्त्री तथा मदिरालय मालिक पल म्याथ्यूको यस्तै अनुभव रह्यो। उनले गत वर्ष बार तथा रेस्टुराँमा विक्री गर्न नयाँ नोलो निर्माण गरेका थिए।

महामारी आएपछि म्याथ्यूलाई डर लाग्यो र उनले त्यो पेयपदार्थ सोझै ग्राहकसमक्ष बेच्न चाहे। चाँडै नै असाध्यै धेरै माग आयो - उक्त पेयपदार्थको विक्री ४,००० प्रतिशतले वृद्धि भयो।

"महिनामा केही सय बोतल विक्री गर्दै आएका थियौँ। त्यो हजारौँमा पुग्यो," उनले भने।

केही बजार विश्लेषकहरूले गरेको अनुसन्धानमा सन् २०२४ सम्म मदिरारहित पेयपदार्थको वार्षिक बजार युरोपमा मात्र छ अर्ब डलर बराबर पुग्ने देखिएको छ। अफ्रिका र मध्यपूर्वमा पनि यो बढ्नेछ।

"मदिरापानसँग जोडिएका स्वास्थ्यसम्बन्धी मामिलाका कारण बढ्दो सङ्ख्यामा मानिसहरू मदिरारहित पेय पदार्थतर्फ आकर्षित भइरहेका छन्," उनीहरूको प्रतिवेदनमा उल्लेख छ।

अझै पनि मदिराको विश्वव्यापी बजार १० खर्ब डलरको तुलनामा यो अत्यन्त थोरै हो। तर बिस्तारै मदिरा उद्योगका ठूला मालिकहरूले मदिरारहित पेयपदार्थतिर ध्यान दिन थालेका छन्।

तस्बिर स्रोत, Getty Images

मदिरा उपभोग: कति?

  • विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को पछिल्लो विवरणले हामीमध्ये अधिकांशमा मदिरा पिउने बानी नभएको देखाएको छ। विश्वका १५ वर्षभन्दा माथिका मानिसमध्ये आधाभन्दा कम वा ४३ प्रतिशतले मात्र मदिरा पिउँछन्। विश्वको कुल जनसङ्ख्यामध्ये ४४ प्रतिशतले जीवनभरि मदिरा पिउँदैनन्।
  • तर यसो भन्दैमा यो चिन्ताको विषय नरहेको भने होइन। सन् २००० को तुलनामा सन् २०१६ मा प्रतिव्यक्ति मदिरा उपभोग ५.७ लिटरबाट बढेर ६.४ लिटर पुगेको छ।
  • मदिराको हानिकारक स्तरको उपभोगले प्रत्येक वर्ष ३० लाख मानिसको ज्यान जाने गर्छ। कोभिड-१९ ले अगस्टसम्म ज्यान लिएको ८३०,००० सङ्ख्याभन्दा यो तीनगुना धेरै हो।
  • सुखद समाचार के हो भने गत दुई दशकयता मदिरा उपभोग गर्ने मानिसहरूको सङ्ख्या भने झन्डै पाँच प्रतिशतले घटेको डब्ल्यूएचओको तथ्याङ्कले देखाएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मदिरारहित पेय पदार्थ 'मकटेल' अहिले चर्चामा छ

के असल बानी निरन्तर रहला?

टिना रोड्रिगेज कुनै सामाजिक भेटघाटमा साथीहरूसँग रमाइलो भेला हुँदा आफूलाई फेरि मदिरा पिउने चाहना हुनसक्छ।

उनका कतिपय साथीहरूले लकडाउनमा पिउन बन्द गरेका छन्।

"हामी सबै जना स्वस्थ जीवनशैलीप्रति अभ्यस्त भएका छौँ," उनले भनिन्।

त्यसोभए उनको असल बानी महामारीपश्चात् पनि निरन्तर रहला त?

विज्ञहरू भन्छन् यसको जबाफ मानिसहरूको आत्मबलले मात्र निर्देशित गर्नेछैन।

लेखिका म्यान्डी म्यानर्सलाई मदिरा उद्योगले पनि सामाजिक जिम्मेवारीबोध गर्नुपर्छ भन्ने लाग्छ।

"बार तथा रेस्टुराँहरूले रक्सी नपिउनेहरूका निम्ति पनि विकल्प दिनुपर्छ ताकि सबै जना एउटै टेबलमा बसेर चाहनाअनुसार रमाइलो गर्न पाऊन्," उनले भनिन्।