नोभिचोक: रुसी नेता एलेक्सी नभाल्नीलाई दिइएको भनिएको स्नायु प्रणालीमा असर गर्ने विष के हो?

तस्बिर स्रोत, Reuters

जर्मन सरकारले रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई नोभिचोक भनिने स्नायु प्रणालीमा असर गर्ने एउटा विषय दिइएको जनाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक र प्रभावशाली विपक्षी नेता नभाल्नीलाई गत महिना रुसकै साइबेरिया क्षेत्रमा विमानमा बिरामी परेपछि उपचारार्थ बर्लिन लगिएको थियो।

केही साता कोमामा रहेका उनको स्थिति बिस्तारै सुध्रिन थालेको चिकित्सकहरूले बताएका छन्। अहिले उनको होस फिरेको बताइन्छ।

नोभिचोक नामक विषबारे सन् २०१८ मा पनि चर्चा भएको थियो।

त्यतिबेला रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि यूकेको एउटा सहरमा उक्त स्नायुविष प्रयोग गरेर हमला भएको थियो।

रुसले स्क्रिपाल र नभाल्नीसँग सम्बन्धित दुवै घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको छ।

त्यसो भए "सैन्य श्रेणी" को यो विषबारे हामीलाई के थाहा छ त?

नोभिचोक सोभियत सङ्घमा विकसित

रुसी भाषामा नोभिचोक भनेको "नव-आगन्तुक" हो। यो विषय स्नायुप्रणालीमा असर गर्ने उन्नत खालको वर्गमा पर्छ। सन् १९७० र १९८० बीचको सोभियत शासनकालमा यसको निर्माण गरिएको थियो।

यो चौथो पुस्ताको रासायनिक अस्त्र हो र सोभियत कालमा फोलियन्ट कार्यक्रमअन्तर्गत विकसित गरिएको थियो।

तस्बिर स्रोत, EPA/ Yulia Skripal/Facebook

तस्बिरको क्याप्शन, यूकेमा ६६ वर्षीय सेर्गेइ स्क्रीपाल र ३३ वर्षीया उनकी छोरी युलिया अचेत अवस्थामा फेला परेका थिए

नोभिचोकबारे सन् १९९० को दशकमा रसायनशास्त्री डाक्टर भिल मिर्जायानोभले खुलासा गरेका थिए।

पछि उनले त्यसबारे रुसलाई थाहै नदिई उक्त विषको रासायनिक सूत्र आफ्नो पुस्तक 'स्टेट सीक्रट्स' मा प्रकाशित गरे।

अन्य विषभन्दा बढी विषालु

केही प्रकारका नोभिचोकहरू भीएक्स भनिने स्नायुमै असर गर्ने विषभन्दा पाँचदेखि आठगुना बढी विषाक्त हुने ठानिएको छ।

"नोभिचोक भनिने विष सरिन र भीएक्सभन्दा एकदमै खतरनाक हुन्छ र यसको पहिचान गर्न पनि कठिन हुन्छ," यूनिभर्सिटी अफ रेडिङमा औषधिविज्ञान प्राध्यापक ग्यारी स्टेफेन्सले भने।

नोभिचोकको असर कहिलेसम्म

नोभिचोक कति लामो समयसम्म विषाक्त रहन्छ भन्नेबारे विज्ञहरूको एकमत छैन।

डा. मिर्जायानोभका अनुसार यसको असर महिनौँसम्म रहँदैन।

तर स्क्रिपाल बाबुछोरीमा नोभिचोक प्रयोग गरिएको भनेर आफूले पत्ता लगाएको दाबी गर्ने वैज्ञानिक भ्लादिमिर उग्लेभले यसको असर "धेरै स्थिर" रहने बताएका छन्।

अन्य विज्ञहरूले भने खासगरी यदि ती रसायनहरू डिब्बामा राखिएको भए महिनौँ वा वर्षौँसम्म असर पुर्‍याउने बताएका छन्।

नोभिचोकका विभिन्न प्रकार

केही नोभिचोक विषहरू तरल रूपमा हुन्छन् भने केही ठोस रूपमा पनि हुने ठानिन्छ। अर्थात् यो विषलाई असाध्यै मसिनो धूलोजसरी छर्किन सकिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सेर्गेइ र युलियालाई विष आक्रमण गरिएको भन्ठानिएको काम गर्दै यूकेका अनुसन्धानकर्ताहरू

तीमध्ये केही पदार्थ मिसाएपछि विषालु हुन्छन्। त्यसैले तिनलाई छुट्टाछुट्टै भण्डारण गर्ने वा ओसारपसार गर्ने गरिन्छ।

प्राध्यापक स्टीभन्स भन्छन्, "यो विष बनाइनुको मुख्य कारण भनेको यसलाई बनाउनका लागि आवश्यक पर्ने अवयवहरू प्रतिबन्धित सूचीमा छैनन्।"

केहीको असर तत्कालै

केही प्रकारका नोभिचोक विषले एकदमै छिटो अर्थात् ३० सेकेन्डदेखि दुई मिनेटभित्र काम गर्न थाल्छन्।

सास फेर्दा यो सजिलै मानिसको शरीरभित्र पस्छ।

तर छालाको माध्यमबाट पनि यो विष छिर्न सक्छ।

अन्य स्नायुविषको जस्तै लक्षण

नोभिचोकको असर पनि स्नायुमा असर गर्ने अन्य विषको जस्तै हुन्छ। यसले स्नायुबाट मांसपेशीसम्म सन्देश प्रवाह हुन दिँदैन र शरीरका अन्य क्रियाहरूमा पनि अवरोध गरिदिन्छ।

डा. मिर्जायानोभका अनुसार नोभिचोकको असर पहिला आँखामा देखिन्छ। यसले आँखाको नानीलाई खुम्च्याइदिन्छ।

यो विषको मात्रा धेरै भए सास फेर्न गाह्रो हुने, ऐेँठन हुने तथा अचेत हुने पनि हुनसक्छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत महिना भएको हमलापछि एलेक्सी नभाल्नी केही साता अचेत भए

डा. मिर्जायानोभका अनुसार नोभिचोकविरुद्ध एट्रपीन र अथीन नामक पदार्थ प्रयोग गरिन्छ। तिनले उक्त विषको प्रभाव घटाउन सघाए पनि निको पार्न सक्दैनन्।

कसैले यस्ता विषहरू झुक्किएर सास फेरिए वा छालामा परे उनीहरूले लगाएको लुगा खोलेर साबुन पानीले पखाल्नुपर्छ।

आँखा पानीले पखाल्नुपर्छ र उनीहरूलाई सास फेर्न सजिलो बनाइदिनुपर्छ।

के सोभियत सङ्घबाहेक अरू कसैले नोभिचोक बनाएको छ?

रुसमा नै यसको उत्पादन हुन थालेको, उसले यसलाई अस्त्रका रूपमा परिणत गरेको र उससँगै नै यसबारे धेरै जानकारी भएकाले स्क्रिपालमाथि रुसले नै नोभिचोक प्रयोग गरेको डा. मिर्जायानोभको अनुमान छ।

संयुक्त राष्ट्रसङ्घका लागि रुसका राजदूतले सोभियत कालमा बनेको उक्त विष सन् १९९२ मै रोकिएको र बाँकी विष पनि सन् २०१७ मै नष्ट गरिएको दाबी गरेका छन्।

सन् २०१७ को सेप्टेम्बरमा रासायनिक हतियारमाथि प्रतिबन्ध लगाउन बनेको सङ्गठन ओपीसीडब्ल्यूले रुसले राखेको ३९,९६७ मेट्रिक टन रासायनिक हतियार पूर्णत: नष्ट गरेको पुष्टि गरेको थियो।

तर यूनिभर्सिटी अफ लीड्सका प्राध्यापक अलास्टियर हेका अनुसार ओपीसीडब्ल्यूलाई नोभिचोकबारे केही बताइएको थिएन।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नभाल्नीलाई ओम्स्कबाट बर्लिनमा आपत्कालीन विमानबाट ल्याइएको थियो