अमेरिका निर्वाचन २०२०: ट्रम्पले अमेरिकालाई आक्रोश, भय र विभाजनको घुम्टो ओढाएको जो बाइडनको आरोप

तस्बिर स्रोत, Reuters

अमेरिकामा विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार मनोनित जो बाइडनले आफूले नोभेम्बरमा चुनाव जिते अन्धकार होइन उज्यालोको पक्षधर रहने बताएका छन्।

पार्टीको मनोनयन स्वीकार्दै गरिएको सम्बोधनमा उनले एकता र आशावादको आह्वान गरेका छन्।

डेमोक्र्याटिक पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै बाइडनले डोनल्ड ट्रम्पले अमेरिकालाई आक्रोश, भय र विभाजनको घुम्टो ओढाइदिएको आरोप लगाए।

राष्ट्रपतिको रूपमा अमेरिकीहरूलाई कोरोनाभाइरस जस्तो खतराबाट जोगाउने आफ्नो मूलभूत जिम्मेदारीमा वर्तमान राष्ट्रपति विफल भएको उनले बताए।

देशले ऐतिहासिक कठिनाइहरूको सामना गरिरहेको भन्दै उनले नोभेम्बरको चुनावले जातिवादको अन्त्य गर्दै अमेरिकी सपनालाई पुनर्स्थापना गर्नसक्ने उनले बताए।

आफ्नो गृहनगर डेलावेर राज्यको विल्मिङ्गटनबाट बोल्दै बाइडनले भने, "यहीँबाट म वाचा गर्न चाहन्छु यदि तपाइँहरूले मलाई राष्ट्रपतिको रूपमा विश्वास गर्नुभयो भने मैले हाम्रामाझ रहेका उत्तम गुणहरूलाई प्रस्तुत गर्नेछु।"

बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थोनी जर्कर भन्छन् यो सम्बोधनको अगाडि बाइडनमाथि निकै दबाव थियो किनकी रिपब्लिकनहरूले ७७ वर्षीय बाइडनको क्षमतामा ह्रास आइरहेको बताउने गरेका थिए।

जर्कर भन्छन्, "कम्तीमा यो रात बाइडनले सही निशाना लगाएका छन्। भाषणका बखत चाहिने बेला अलि क्रोधित अनि अरू बेला ढुक्क पनि सुनिए।"

जर्करको विचारमा यो भावपूर्ण सम्बोधन बाइडनको झन्डै आधा शताब्दी लामो राजनीतिक यात्राको एउटा कोशेढुङ्गो बनेको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रपति उम्मेदवार बाइडन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस आफ्नो श्रीमती र श्रीमानको साथमा उपस्थित भएका थिए

७७ वर्षीय बाइडनले ७४ वर्षीय ट्रम्पलाई पछिल्ला जनमत सर्वेक्षणहरूमा पछि पारिरहेका छन्।

तर चुनाव आउन अझै ७५ दिन बाँकी रहेकाले रिपब्लिकन दललाई उक्त दूरी मेटाउन प्रशस्त समय छ।

चार दिनसम्म चलेको डेमोक्र्याटिक पार्टीको सम्मेलनको अन्त्यमा उम्मेदवार मनोनित बाइडनले प्रत्यक्ष भाषण गरेका थिए।

तर विगतमा जस्तो बेलुन उडाउने, होहल्ला तथा रमाइलो जमघट यसपटक हुन सकेन।

कोरोनाभाइरस महामारीका कारण भौतिक भेला नगरिकनै भर्चुअल रूपमा डाकिएको भेलामा आयोजकहरूले हरेक साँझ दुई घण्टासम्म विभिन्न नेताका रेकर्ड गरिएका भाषण प्रस्तुत गरेका थिए।

अब अर्को साता रिपब्लिकन दलको राष्ट्रिय सम्मेलनले ट्रम्पलाई उक्त पार्टीको तर्फबाट उम्मेदवार मनोनित गर्नेछ।