दोस्रो विश्वयुद्धताका जापानले युद्धबन्दी बनाएका ब्रिटिश सैनिकको नासो ७७ वर्षपछि फिर्ता

तस्बिर स्रोत, Robin Green

तस्बिरको क्याप्शन, पिटर र्‍यामको नासो फिर्ता दिइएको छ

दोस्रो विश्वयुद्धको बेला जापानले युद्धबन्दी बनाएका र बर्मास्थित एउटा शिविरमा मृत्यु भएका एक सैनिकको नासो उनको परिवारले ७७ वर्षपछि फिर्ता पाएको छ।

सन् १९४३ मा २३ वर्षीय पिटर र्‍यामको मृत्यु भएपछि उनका साथी एरिक एडीले कुकुरको घाँटीमा बाँधिने ट्यागहरू फेला पारेका थिए।

गत महिना ९६ वर्षको उमेरमा एडीको मृत्यु भएपछि उनका छोरा रोबर्टले लेफ्टिनेन्ट र्‍यामको आफन्त पत्ता लगाएर ती नासोहरू फिर्ता गरेका हुन्।

सन् १९४२ र्‍याम र एडी दुवै जना रोयल नोर्फक रेजिमेन्टमा हुँदा सिङ्गापुर खटिएका थिए। त्यही बेला जापानी सेनाले आक्रमण गरेर उनीहरूलाई बन्दी बनाएको थियो।

रोबर्ट एडीका अनुसार उनीहरूलाई एउटा शिविरबाट अर्को शिविरमा सारिएको थियो। जापानले आफ्नो फौजलाई सामान आपूर्ति गर्न निर्माण गरेको बर्मा रेल्वेमा उनीहरूलाई काम गर्न पठाएको थियो।

उक्त रेलमार्गको निर्माण गर्दा हजारौँ बन्दीहरूको मृत्यु भयो।

"मेरा बुवा युद्धका बेलाको कुरा खासै गर्नुहुन्नथ्यो। युद्धबन्दी हुँदाको कुरा त झन् गर्नैहुन्नथ्यो," एडीले भने।

"तर उहाँले एउटा शिविरमा ज्यान गुमाएका आफ्ना साथीबारे भन्नुभएको थियो।"

तस्बिर स्रोत, Royal British Legion/National Memorial Arboretum

तस्बिरको क्याप्शन, एरिक एडीलाई बर्माको रेल्वेमा काम गर्न खटाइएको थियो जहाँ १००,००० युद्धबन्दीको मृत्यु भएको थियो

"कुनै कारणले बुवाले पिटरको नासो फिर्ता गर्नुभएन। अनि ७७ वर्षसम्म त्यो उहाँसँगै रह्यो," उनले भने, "मैले सामान खोज्दा ती ट्यागहरू हाम्रो परिवारका हैनन् भन्ने पत्तो पाएँ।"

"अनि म पिटरको परिवार खोज्न थालेँ।"

र्‍यामका भान्जा रोबिन ग्रीनलाई आफ्ना मामाको बर्मास्थित शिविरमा मृत्यु भएको थाहा थियो। उनीसँग र्‍यामका दुईवटा डायरी पनि थिए।

तर एडीको फोन आउँदा र मामाको नासो फिर्ता पाउँदा उनी छक्क परे।

तस्बिर स्रोत, Royal British Legion

तस्बिरको क्याप्शन, तेस्रो लहरमा बायाँबाट सातौँ र आठौँ स्थानमा एडी र र्‍याम

"रोबर्टले मलाई यति लामो समयपछि पत्ता लगाउँदा मैले पत्याउनै सकिँनँ," उनले भने।

आफूसँग आफ्ना मामा र उनका साथी पिटरले सँगैसँगै तालिम लिएको तस्बिर पनि भएको उनले बताए।

जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो।

शनिवार ७५ औँ भीजे डे मनाइँदैछ। त्यसको पूर्वसन्ध्यामा रोयल ब्रिटिश लीजनले सार्वजनिक गरेका कथाहरूमध्ये र्‍यामको नासोको कथा पनि संलग्न छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, विश्वयुद्ध लडेका बुवाको सम्झना