कोरोना भाइरस अर्थतन्त्र: विश्वभर विप्रेषणमा गिरावट आउँदा थुप्रै परिवारमा सास्ती

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, यो वर्ष भाइरस महामारीका कारण विप्रेषणको विश्वव्यापी मूल्य र आकारमा 'पछिल्लो इतिहासकै ठूलो सङ्कुचन' देखिने विश्व व्याङ्कले जनाएको छ
    • Author, पाब्लो ओचोआ
    • Role, बीबीसी विश्व सेवा

कोरोनाभाइरसले विदेशमा काम गर्ने परिवारका सदस्यबाट घर आउने पैसामा निर्भर विश्वका ८० करोड मानिसहरूको जीवनलाई चिन्तामा पारेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार २० करोडभन्दा धेरै मानिसहरूले आफ्ना प्रियजनका लागि विदेशबाट पैसा पठाउँछन्। त्यसैलाई विप्रेषण भनिन्छ।

तर यो वर्ष भाइरस महामारीका कारण विप्रेषणको विश्वव्यापी मूल्य र आकारमा 'पछिल्लो इतिहासकै ठूलो सङ्कुचन' देखिने विश्व व्याङ्कले जनाएको छ।

विदेशमा काम गर्नेहरूले निम्न र मध्यम आय भएका आफ्ना देशका परिवारमा पठाउने पैसा सन् २०१९ मा रहेको ५५४ अर्बबाट २० प्रतिशतले कमी हुँदै यो वर्ष ४४५ अर्ब अमेरिकी डलर पुग्नेछ।

विश्व व्याङ्कका अनुसार त्यसको कारण 'खासगरी आप्रवासी कामदारहरूको आम्दानी र रोजगारीमा आएको सङ्कुचन' हो।

"काम गरिरहेका देशका आर्थिक सङ्कटबीच आप्रवासी कामदारहरू आम्दानी र रोजगार गुमाउने सबैभन्दा बढी जोखिममा पर्ने देखिन्छ," विश्व व्याङ्कले थपेको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, औसत विप्रेषण प्रतिमहिना २०० देखि ३०० अमेरिकी डलरबीचमा रहेको पाइन्छ, केही निम्न र मध्यम आय भएका देशमा त्यति रकमले महिनाभर परिवार पाल्न पुग्छ

औसत विप्रेषण प्रतिमहिना २०० देखि ३०० अमेरिकी डलरबीचमा रहेको पाइन्छ।

त्यति रकमले थुप्रै निम्न र मध्यम आय भएका देशमा महिनाभर परिवार पाल्न पुग्छ।

यस्तो जीवन जोगाउने आर्थिक उपायबिना "हामी दशौँलाखको भविष्यबारे एउटा धुमिल चित्र मात्र देख्न सक्छौँ," भन्छन् केयर इन्टरन्याशनलका डेलफाइन पिनल्ड।

अन्तर्राष्ट्रिय गैर सरकारी संस्था केयर गरिबीसँग जुझ्ने परियोजनामा विश्वका झण्डै एक सय देशमा काम गरिरहेको संस्था हो।

त्यसो भए प्रभावित देशमा मानिसहरूले कसरी गुजारा चलाइरहेका छन् र सरकारले उनीहरूलाई गर्न सक्ने सहायता के हो?

बीबीसीले ६ देशका प्रभावित परिवारहरूसँग कुरा गरेको छ।

लेबननदेखि श्रीलङ्का, चन्द्रा, ५२

तस्बिरको क्याप्शन, अन्य दुई महिलासँग मिलेर कोठा लिएकी चन्द्राले कोठाभाडा तिर्न मात्र नसकेकी होइनन्, खान समेत राहतबाट गुजारा चलाएकी छन्

चन्द्रा नायगे, ५२, ले डेढ दशकभन्दा बढि समयदेखि सरसफाइ कामदारको रूपमा लेबननमा काम गरिन्।

उनले कमाईबाट मासिक घर पठाउने झण्डै चार सय अमेरिकी डलरले श्रीलङ्कामा रहेका चिया कृषक श्रीमान, दुई छोरी र एक छोरालाई सघाएको थियो।

उनको त्यही कमाईले परिवारले जग्गा किन्न, घर बनाउन, छोरीहरू पढाउनदेखि उनीहरूको विवाहसम्म थेग्यो।

अक्टोवर महिनादेखिको अस्थिरताले त्यहाँको अर्थतन्त्र सङ्कटग्रस्त बनेको छ। डलरसँग लेबननको पाउन्ड आधाभन्दा बढीले कमजोर हुँदा उनले अहिले घर पैसा पठाउन सकेकी छैनन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, यतिखेर अमेरिकी डलरसँग लेबननको पाउन्ड आधाभन्दा बढीले कमजोर भएको छ

अन्य दुई महिलासँग मिलेर कोठा लिएकी चन्द्रा कोठाभाडा तिर्न मात्र सकेका छैनन्, खान समेत राहतबाट गुजारा चलाएका छन्।

चन्द्राको चिन्ता भाइरस महामारीसँगै झन् बिग्रिएको अवस्थामा स्वदेश फर्कनुपर्ने अवस्था आउने अब १९ वर्षिय छोरालाई विश्वविद्यालयमा पढाउन नै पो नसकिने हो कि भन्ने छ।

स्पेनदेखि होन्डुरस, रेइना, ४५

तस्बिरको क्याप्शन, रेइनाकी २९ वर्षिया छोरी डिक्सिना स्पेनमा बालबालिकाको स्याहार गर्ने काम गरेर मासिक झण्डै तीन सय डलर घर पठाउँछिन्

रेइना अरासेलीको एउटा सानो खाना खुवाउने व्यवसाय छ भने उनका श्रीमान होन्डुरसमा ट्याक्सी ड्राइभर हुन्।

रेइनाकी २९ वर्षिय छोरी डिक्सिना स्पेनमा बालबालिकाको स्याहार गर्ने काम गरेर मासिक झण्डै तीन सय डलर घर पठाउँछिन्।

त्यही कमाईले उनकी आमाको व्यवसाय सुरु भएको थियो भने मधुमेहका बिरामी बुवाको औषधिको गर्जो समेत त्यसबाटै टर्दै आएको थियो।

कोभिड-१९ को प्रभावले आन्ध्र महासागरको दुवैपट्टि परिवारमा ठूलो चिन्ता र प्रभाव पारेको छ।

दुवैतर्फ क्वारन्टीनमा बस्नुपर्ने बाध्यताले र सार्वजनिक सेवाहरू ठप्पप्राय: भएकाले न डिक्सिनाले पैसा पठाउन सकेकी छन् न उनका परिवार स्वदेशमा पैसा झिक्न नै यतिखेर सक्छन्।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, होन्डुरसमा महामारीसँगै भोकमरीको सङ्कट जन्मन सक्ने चिन्ता छ

भोकमरीको सङ्कटले बुवाआमालाई सबैभन्दा बढी पिरोल्ने चिन्ता उनलाई छ।

उनी भन्छिन्, "केही परोपकारी संस्थाहरूले सघाउन थालेका रहेछन्। सास हुँदासम्म आशा मार्नु भएन। यससँग जुझ्नैपर्छ।"

अमेरिकादेखि सोमालिया: अब्दी, ४०

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकामा यतिखेर आर्थिक सङ्कट चुलिएर दशौँलाखले काम गुमाइरहँदा थुप्रैले घर पैसा पठाउन सकेका छैनन्

अब्दी दुआले आफ्नी श्रीमती र पाँच सन्तानसहितको एउटा ठूलो परिवारमा मोगादिसुभन्दा बाहिर बस्छन्।

त्यस ठाउँ ईश्लामिक अतिवादीहरूको निशानामा परिसकेकोले अब्दीले बीबीसीलाई आफ्नो तस्बिर नदेखाउन आग्रह गरे।

अब्दीका जेठा दाई अमेरिकी राज्य मिनेशोटामा ट्रक ड्राइभरका रूपमा काम गर्छन्।

सन् २००७ मा दक्षिण अफ्रिका, ब्राजिल र मेक्सिको हुँदै अमेरिका पुगेका अब्दीका दाजुले यस महामारी सुरु हुनुअघि मासिक चार सय डलर पठाउँथे।

जुन अब्दीको परिवार र उनका बयोवृद्ध बाबुआमाका लागि खर्च हुन्थ्यो।

अमेरिकामा यतिखेर आर्थिक सङ्कट चुलिएर दशौँलाखले काम गुमाइरहँदा उनले पनि घर पैसा पठाउन सकेका छैनन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अब्दीका जेठा दाई अमेरिकी राज्य मिनिशोटामा ट्रक ड्राइभरका रूपमा काम गर्छन्

अब्दीको परिवारले अहिले धेरैजसो किनमेल उधारोमा गरेर अवस्था सुध्रने आशा गरिरहेको छ।

तर त्यस्तो समस्या थुप्रैको हुँदा किराना पसलहरू पनि अहिले दबावमा छन्।

मुस्लिमहरूको पवित्र महिना रमादानमा समेत उनीहरू राहतमा पाएको खाद्यान्नमा चित्त बुझाए।

सबैतिर 'घट्दो विप्रेषण'

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यस महामारीले पहिल्यैका आर्थिक चुनौतिहरूमा एकखाले पूरै नयाँ चुनौति थपेको छ

विश्व व्याङ्कका अनुसार घट्दो विप्रेषण प्रवाहको असर संसारभर निम्न र मध्यम आय भएका देशहरूले झेल्नेछन्।

त्यस्ता देशहरूको विप्रेषणमा निकै धेरै आश्रित छन्। हाइटीमा कुल गार्हस्थ उत्पादन (जीडीपी)को एक तिहाइभन्दा बढी, नेपालमा २७ प्रतिशत र होन्डुरस र अल साल्भाडोरमा २० प्रतिशतभन्दा बढी विप्रेषणकै योगदान छ।

जिम्बाब्वेमा त्यस्तो हिस्सा १३ प्रतिशत छ भने श्रीलङ्का र पाकिस्तानमा झण्डै ८ प्रतिशत रहेको छ।

विश्व ब्याङ्कका आप्रवासन र विप्रेषणसम्बन्धी अर्थशास्त्री दीलिप राठाका अनुसार विगतमा आर्थिक मन्दी हुँदा समेत एकखाले 'विमा नीति'ले गर्दा उदाउँदा देशका मानिसहरूलाई ठूलो असर पारेको थिएन।

उनी भन्छन्, "सन् २००८ को आर्थिक मन्दीमा समेत उनीहरूको जीवनरक्षा गर्ने केही महत्त्वपूर्ण उपाय थिए। सन् २००९ मा आएको ६ प्रतिशतको उनीहरूको गिरावट अर्कोवर्ष पूर्ति भएको थियो।"

तर यसपटक अधिकांश विश्व लकडाउन भएर यात्राहरू समेत अवरूद्ध भएको अवस्था पुन: सामान्य अवस्थामा आइपुग्न वर्षौँ लाग्ने देखिन्छ।

यस महामारीले पहिल्यैका आर्थिक चुनौतीहरूमा एकखाले पूरै नयाँ चुनौती थपेको छ।

राठा यसबीचमा सरकारहरूले विप्रेषण प्रवाह गर्ने कामलाई अत्यावश्यक ठान्दै तिनलाई खुला राख्न अनुमति दिनुपर्ने बताउँछन्।

पैसा पठाउँदा आवश्यक पर्ने कागजातहरू पनि कमी गरेर यस प्रक्रिया सजिलो गराउनुपर्ने राठाको मत छ।

सम्पत्ति शुद्धिकरण विरूद्धका नियमले त्यस्तो अवस्था रहे पनि विप्रेषण सम्पत्ति शुद्धिकरणमा प्रयोग हुने गरेका प्रमाण नरहेको राठा बताउँछन्।

विश्व ब्याङ्कले लामो समयदेखि देशहरूलाई विप्रेषण पठाउँदा लाग्ने खर्च कम गरिदिन आग्रह गर्दै आएको छ जुन अहिले विश्वव्यापी औसतमा सात प्रतिशतजति छ।