नेपाल र भारत सीमा विवाद: के राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएका हुन्?

तस्बिरको क्याप्शन, सन् १९७० मा बेलायत भ्रमणका क्रममा राजा महेन्द्र

नेपाल र भारतबीचको सीमा विवाद चर्किएका बेला एकजना पञ्चायतकालीन वरिष्ठ राजनीतिज्ञले 'कालापानीमा भारतीय सेना राख्न नेहरूले राजा महेन्द्रलाई पत्र लेखेको आफूले महेन्द्रबाटै सुनेको' दाबी गरेपछि त्यसबारे चर्चा भएको छ।

नेपाली काङ्ग्रेसबाट राजनीति सुरु गरेर विसं २०१७ मा राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि मन्त्री बनेका ९२ वर्षीय विश्वबन्धु थापाले यस्तो भनेका हुन्।

विभिन्न टेलिभिजन च्यानलहरूसँगको अन्तर्वार्तामा गरेको त्यस्तो दाबीलाई उनले बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा पनि दोहोर्‍याएका छन्।

तर हालसम्म उपलब्ध विवरणहरू तथा नेपाल सरकारसँग भएका प्रमाणहरूले उक्त दाबीलाई पुष्टि नगर्ने सरकारको भनाइ छ।

परराष्ट्र मन्त्रालयका पूर्वअधिकारीहरूले पनि थापाको दाबीलाई कुनै पनि लिखित प्रमाणले पुष्टि नगरेको बताए।

थापाले के भने?

सोमवार साँझ बीबीसीसँगको कुराकानीमा थापाले "कालापानी क्षेत्रमा भारतले सेना राख्नका लागि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले राजा महेन्द्रलाई पत्र लेखेको" बताए।

नेहरूले चीनसँग राम्रो सम्बन्ध बनाउने भन्दाभन्दै सन् १९६२ मा अचानक युद्ध भएपछि भारतले "अपमानित अनुभूत गरेको" थापाको तर्क छ।

त्यसपछि नेहरूले चीनमाथि निगरानी गर्न पूर्वतर्फको हिमालय मात्र नभई पश्चिमतिर पनि हेर्नुपर्ने रहेछ भन्ने सोचेको उनले बताए।

त्यसक्रममा विभिन्न क्षेत्रको विकास गर्न र चिनियाँप्रति निगरानी गर्नका लागि कालापानीमा भारतीय सेना राख्ने प्रस्ताव गरेको थापाको दाबी छ।

तस्बिर स्रोत, Congress Party

तस्बिरको क्याप्शन, भारतका भूतपूर्व प्रधानमन्त्री जवाहरलाल नेहरू

उनले भने, "भूटान र सिक्किमको बारेमा उनीहरूलाई आइडिया थियो तर नेपालबारे त थिएन। पश्चिमको त्यति विकास पनि भएको थिएन। त्यसमा विकास गरे उनीहरूले।"

"बाटो बनाउँदा के देखियो भने नेपालको भूमिबाट गए सजिलो हुन्छ तर भारतबाट सहज छैन।"

"उनलाई त्यो ठाउँमा (कालापानीमा) हाम्रो मान्छे राख्न सकिन्छ, नत्र पहाडैपहाड हो, ठाउँ नै छैन भन्ने भयो। अनि त्यही कुरा राजा महेन्द्रले हामीसँग गर्दा थाहा पाएको हो।"

त्यसमा भारतले मागेपछि दिने तर कसरी दिने भन्नेबारे चाहिँ तत्कालीन भारतका लागि नेपाली राजदूत यदुनाथ खनाललाई जिम्मा लगाइएको उनको दाबी छ।

थापाले धेरैले दाबी गरेझैँ सन् १९६२ को भारत-चीन युद्धका बेला नै त्यहाँ सेना नराखिएको बताए। कालापानीमा सन् १९६५ को आसपासमा भारतीय सेना राखिएको थापाको दाबी छ।

उनले "त्यसबेला दिल्लीमा तत्कालीन नेपाली राजदूत खनालसँग भारतले त्यसबारे एउटा समझदारी समेत गरेको" आफूले सुनेको बताए।

कालापानीबारे अन्य दाबी के के हुन्?

कालापानीमा भारतीय सेना बसेकोबारे अन्य दाबीहरू पनि बेलाबेला गरिने गरेका छन्।

त्यस्तो दाबीमा एउटा हो- उक्त भूमिलाई राजा महेन्द्रले सुदूरपश्चिम तराईमै केही भू-भाग लिएर साटेका थिए।

कतिपय नेपाली तथा भारतीयहरूले पनि यो दाबी गर्ने गरेका छन्।

तस्बिर स्रोत, GON

तस्बिरको क्याप्शन, नेपालको नयाँ नक्सा

बत्तीस वर्षअघि कालापानीस्थित भारतीय सुरक्षा क्याम्पमै पुगेर त्यहाँका सुरक्षा अधिकारीहरूसँग कुराकानी पनि गरेका नेपाल प्रहरीका पूर्वप्रमुख अच्युतकृष्ण खरेलसँग पनि केही भारतीय सुरक्षाकर्मीले यस्तै दाबी गरेको दुई साताअघि बीबीसीलाई बताएका थिए

तर त्यसको प्रमाण पनि नेपालसँग नभएको र भारतले पनि देखाउन नसकेको भारतसँगका कैयौँ सीमा वार्ताहरूमा सहभागी नेपाल सरकारका पूर्वअधिकारीहरूले बीबीसीलाई बताए।

त्यस्तै अर्को दाबी चाहिँ "२०२६-२७ सालमा नेपालका उत्तरी सीमामा रहेका १८ वटा 'भारतीय सैन्य चेक पोस्टहरू' हटाउने क्रममा अन्यत्रका त्यस्ता पोस्टहरू हटेको तर दार्चुलाको टिङ्करमा रहेको पोस्ट भने कालापानीमा झरेर बसेको" भन्ने रहेको छ।

उक्त दाबीलाई प्रमाणित गर्ने आधारहरू पनि नभेटिएको अधिकारीहरूको भनाइ छ।

कतिपयका भनाइमा भने कालापानीमा सेना बसेको बारे लामो समयसम्म नेपाललाई जानकारी नै नभएको र जानकारी भएपछि पनि खासै चासो नदिएको हुनसक्छ।

परराष्ट्रमन्त्री के भन्छन्?

आइतवार नागरिक दैनिकलाई दिएको अन्तर्वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले "कालापानीमा भारतीय सेनालाई अस्थायी रूपमा कुनै बेलाका शासकले बस्न दिएको हुनसक्ने" सङ्केत गरेका छन्।

उनले भनेका छन्, "कुन सन्दर्भमा के प्रयोजनका लागि अस्थायी रूपमा बसोबास गर्ने स्वीकृति दिए त्यतिबेलाका शासकहरूले त्यो बेग्लै छलफलको विषय हुनसक्छ।"

"तर दुई देशको बीचमा सन्धिबेगर बलात् गरिएका वा अस्थायी व्यवस्थाअन्तर्गत गरिएका यस्ता उपस्थितिले कुनै कानुनी दाबी स्थापित गर्दैन।"

तस्बिर स्रोत, RSS

ज्ञवालीले कालापानीमा भारतीय फौज बस्दा स्वीकृती मागेको वा नेपालले स्वीकृती दिएको भन्ने प्रमाण नपाइएको पनि नागरिकसँग स्पष्ट पारेका छन्।

उनले भनेका छन्, "त्यस्तो केही देखिँदैन। घटनाक्रमहरू हेर्दा भारत र चीनको युद्ध, त्यसमा भारतको अवस्थिति, नेपालमा भर्खर अलोकतान्त्रिक व्यवस्था सुरु भएको पृष्ठभूमि, जनताले राष्ट्रियताकै बारेमा पनि बोल्न नसक्ने अवस्था आदिका फाइदा लिएको देखिन्छ।"

"ती कुनै कुराले अर्काको भूभागको स्वामित्व हासिल गर्ने वा मिच्ने कुनै पनि वैधानिक आधार प्रदान गर्दैन।"

"म तपाईँको घरमा सल्लाहले वा जबर्जस्ती परिबन्धमा पारेर लामो समयसम्म बस्न सक्छु, त्यसैले त्यो घरमा स्वामित्व स्थापित हुँदैन भन्ने कुरा बुझ्नुपर्छ।"

नेहरूले पत्र लेखेको भए अर्को प्रमाण

सीमाविद् चाहिँ कालापानीमा आफ्नो सेना राख्नका लागि नेहरूले नेपालका राजालाई पत्र लेखेको भए कालापानी क्षेत्र नेपालको हो भन्ने अर्को दरिलो प्रमाण बन्ने बताउँछन्।

तस्बिर स्रोत, Buddhi N Shrestha

तस्बिरको क्याप्शन, बुद्धिनारायण श्रेष्ठ

नापी विभागका पूर्वमहानिर्देशक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, "त्यसबेला राजा महेन्द्रलाई नेहरूले भने होलान्, महेन्द्रले पनि बस्न अनुमति दिए होलान् तर त्यसको पत्र भए त हुनुपर्‍यो कि त कुनै नोट वा मिति त हुनुपर्‍यो नि!"

"राष्ट्र प्रमुख वा सरकार प्रमुखबीच वन्-अन्-वन् बैठक हुँदा पनि नेपालले नगरे पनि भारतले त परराष्ट्रका कनिष्ठ अधिकारी भए पनि राख्ने गर्छ।"

"त्यस्ता अधिकारीले कुराकानीको टिपोट गर्छन्। त्यसलाई नोट भर्वल भनिन्छ। भारतले त्यस्तो त देखाउनु पर्ने हो नि त।"

उनी यदि महेन्द्रले कालापानीमा भारतीय सेनालाई बस्न दिने मौखिक अनुमति दिएका भए पनि भारतले त्यस्तो नोट राखेको हुनुपर्ने तर द्विपक्षीय वार्ताहरूमा नदेखाएको हुनसक्ने बताउँछन्।

"भारतले त्यस्तो नोट देखायो भने त्यसले कालापानी नेपालको नै भएको थप प्रमाणित गरिदिन्छ। त्यसकारण नदेखाएको पनि हुनसक्छ," उनले भने।

थापाको सरकारलाई सुझाव

महेन्द्रसँग नेहरूले कालापानीमा सेना राख्न माग गरेको भनी महेन्द्रकै मुखबाट सुनेको बताउने थापाले सीमा विवादमा भारतसँग सावधानीपूर्वक वार्ता गर्न सुझाव दिएका छन्।

उनले भने, "हामीले नेपालीहरू जाई कटक नगर्नु भनेका छन् पृथ्वीनारायण शाहले। हामी निहुँ खोज्न जानु हुँदैन।"

"बाघचाल कस्तो हुन्छ भने बाख्राले बाघलाई त खाँदैन नि तर खेलको नियम के हुन्छ भने तिमीले हामीलाई उफ्रेर खाउ है घर खाली छ भने भन्ने हुन्छ। तपाईँले घर खाली राख्नु भयो भने मात्र बाघले खानसक्छ नत्र सक्दैन।"

"तर उता चेसमा के हुन्छ भने राजालाई पनि प्यादाले अरूको बल पायो भने खानसक्छ। हाम्रो नेपालमा पनि चेस खेल्ने धेरै छन् प्यादा बन्न तयार भइहाल्ने।"

"त्यस्तो खेल हुँदैन यहाँ किनकी भारत बलियो छ हाम्रो तुलनामा त्यसैले हाम्रो खेल बाघचाल नै हो।"