कोरोना भाइरस: 'सुरक्षा त्रास'का कारण कोभिड-१९ मा औलोविरूद्धको औषधिको परीक्षणमा डब्ल्यूएचओद्वारा रोक

तस्बिर स्रोत, Getty Images

औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड-१९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासाका कारण रोकिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।

थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै 'अस्थायी रूपमा' रोकिएको राष्ट्रसङ्घीय स्वास्थ्य निकायले सोमवार जनाएको हो।

हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोभिड-१९ विरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओको त्यस्तो भनाइ आएको हो।

कस्तो औषधि?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको जनाएका थिए।

उनले कोभिड-१९ को उपचारमा यस औषधि 'गेम चेन्जर' हुने भन्दै त्यसले अवस्था फेरिदिने बताउँदै आएका थिए।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको जनाएका थिए।

सार्वजनिक स्वास्थ्य अधिकारीहरूले भाइरस सङ्क्रमितमा उक्त औषधिले मुटुमा समस्या ल्याउनसक्ने चेतावनी दिँदै त्यसबारे स्पष्ट नबोले पनि ट्रम्पले भने बारम्बार उक्त औषधिको प्रवर्द्धन हुनेगरि बोलेका थिए।

अध्ययन

गतसाता एउटा मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनमा हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोनाभाइरसका बिरामीको उपचारमा प्रयोग गर्नुको कुनै फाइदा नभएको जनाइएको थियो।

बरू यसले भाइरसका कारण बिरामी परेकाहरूको मृत्युको सङ्ख्या बढाउन सक्ने उक्त अध्ययनमा जनाइएको थियो।

डब्ल्यूएचओको आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले आफूहरूको निर्णय 'कुनै समस्यासँग जोडिएर नभएको' बताए।

उनले भने: "विश्वभरि भइरहेका सोलिडारिटी ट्रायलमा कुनै समस्याका संकेत पनि छैनन्। तैपनि हालैको एक अध्ययनलाई आधार मानेर हामीले सावधानी अपनाएका हौँ।"

हाइड्रोक्सीक्लोरोक्वीन औलोको लागि सुरक्षित औषधि मानिए पनि अहिलेसम्म कुनै परीक्षणले यसलाई कोभिड-१९ का लागि प्रयोग गर्न सुझाएका छैनन्।

यो एक सस्तो, प्रचलित र सजिलै उत्पादन गर्न सकिने औषधि हो। औलोका बिरामीलाई यसले ज्वरो तथा सुजन कम पार्न सहयोग गर्छ।

औलो रोगका बिरामीले यो अझै प्रयोग गर्न सक्छन्।

परीक्षण

ल्यान्सेटको अध्ययनले ९६ हजार कोरोनाभाइरसका बिरामीलाई समेटेको थियो। जसमा १५ हजारलाई उक्त औषधि दिइएको थियो।

कसैलाई उक्त औषधिसँगै एन्टीबायोटिक समेत दिएर परीक्षण गरिएको थियो।

त्यसरी परीक्षण गरिएका समूहमा मत्युदर हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग गरिएकामा १८ प्रतिशत, क्लोरोक्वीनमा १६.४ प्रतिशत र नियन्त्रित समूहमा ९ प्रतिशत पाइएको थियो।

हाइड्रोक्सीक्लोरोक्वीन वा क्लोरोक्वीनलाई एन्टीबायोटिक सहित परीक्षण गरिएकाको मृत्युदर अझ बढी पाइएको थियो।