दक्षिण कोरिया निर्वाचन: कोरोना भाइरस महामार‍ी फैलिएको बेला सम्पन्न निर्वाचनमा सत्तारूढ दललाई बहुमत

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सुरक्षित उपायहरू अवलम्बन गरेर निर्धारित समयमै बुधवार निर्वाचन भएको थियो

दक्षिण कोरियामा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मुन जे-इनको पार्टीले विजयी भएको छ।

कोरोनाभाइरस महामारी सुरु भएयता आवधिक निर्वाचन सम्पन्न गर्ने दक्षिण कोरिया पहिलोमध्ये एक राष्ट्र हो।

बुधवार देशभरि मतदान भएको थियो।

त्यसका लागि सामाजिक दूरी कायम राख्दै सुरक्षाका विभिन्न उपाय अवलम्बन गरिएको थियो।

कसले कति स्थान जिते?

अधिकांश मतगणना सम्पन्न हुँदा ३०० सीट भएको त्यहाँको संसद्‌मा राष्ट्रपति मुनको डेमोक्र्याटिक पार्टीले १६३ सीट जितेको छ।

उक्त दलसँग सहकार्य गरेको प्लेटफर्म पार्टीले १७ स्थानमा जित्ने प्रक्षेपण गरिएको छ। त्यसो हुँदा राष्ट्रपतिको दललाई सरकार निर्माणका लागि कुल १८० सीट पुग्ने देखिन्छ।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सरकार निर्माणका लागि राष्ट्रपति मुनको दलले स्पष्ट बहुमत पाएको छ

निर्वाचनमा ३५ वटा दल सहभागी थिए।

तर मुख्य प्रतिस्पर्धा भने वामपन्थी झुकाव भएको डेमोक्र्याटिक पार्टी र रूढीवादी विचाधाराको विपक्षी दल यूनाइटेड फ्यूचर पार्टीबीच थियो।

यूनाइटेड फ्यूचर पार्टी र उसका संसदीय साझेदारहरूले १०३ सीट जित्ने अपेक्षा गरिएको छ।

यूनाइटेड फ्यूचर पार्टीबाट विजयी हुनेमा उत्तर कोरियाबाट भागेर आएका प्योङ्याङका पूर्वकूटनीतिज्ञ थाइ योङ-हो पनि छन्।

उत्तर कोरियाबाट पलायन हुनुअघि उनी लन्डनमा उत्तर कोरियाली दूतावासमा वरिष्ठ कूटनीतिज्ञ थिए।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मतदाताहरूले मास्क र पन्जा लगाएका थिए

निर्वाचन परिणाममा कोरोनाभाइरसको प्रभाव कति?

दक्षिण कोरिायमा केही समय कोरोनाभाइरस सङ्क्रमण अत्यासलाग्दो गरी फैलिएको थियो। चीनपछि त्यहाँ कोभिड-१९ भएका मानिसको सङ्ख्या सर्वाधिक थियो।

तर व्यापक परीक्षण, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसको पहिचान र व्यक्तिगत दूरी जस्ता उपाय अवलम्बन गरेर सरकारले महामारीलाई नियन्त्रणमा ल्यायो।

राष्ट्रपति मुनको दलको विजयलाई कोरोनाभाइरस महामारीसँग जुझ्न सरकारले गरेको कामको अनुमोदनका रूपमा हेरिएको छ।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, उत्तर कोरियाबाट भागेर आएका एक प्योङ्याङका पूर्वकूटनीतिज्ञ पनि निर्वाचनमा विजयी भए

सरकारले महामारी नियन्त्रण गर्न अवलम्बन गरेको नीतिको दक्षिण कोरियामा निकै प्रशंसा भएको थियो।

यस जितसँगै राष्ट्रपतिको सरकारलाई सन् १९८७ मा पहिलो प्रजातान्त्रिक निर्वाचन भएयता संसद्‌मा विशाल बहुमत प्राप्त हुनेछ।

सोह्र वर्षमा वामपन्थी झुकाव भएका पार्टीहरूले बहुमत ल्याएको समेत पहिलो पटक हो।

दक्षिण कोरियामा सन् १९५२ देखि सबै निर्वाचन निर्धारित समयमा हुँदै आएको छ। सन् १९५२ कोरियाली युद्ध चलिरहँदा पनि राष्ट्रपतीय निर्वाचन भएको थियो।