कोरोना भाइरस: लकडाउनमा सिकारी र तस्कर सल्बलाएपछि निकुञ्जमा थप निगरानी

तस्बिर स्रोत, Parsa National Park

    • Author, कमल परियार
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा कोरोनाभाइरस महामारीको जोखिम कम गर्न घोषित लकडाउनको मौका छोपेर वन्यजन्तुको अवैध सिकार तथा काठ तस्करी बढेपछि निकुञ्ज तथा आरक्षमा सुरक्षा निगरानी बढाइएको अधिकारीहरूले जनाएका छन्।

लकडाउनको समयमा सुरक्षा निकाय र प्रशासनको आँखा छलेर अवैध सिकारी तथा काठ र वनपैदावार तस्करी गरिरहेको अवस्थामा दर्जनौँ व्यक्ति पक्राउ परेको वन मन्त्रालयमातहत रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ''लकडाउनको पहिलो हप्तादेखि नै सिकारी तथा तस्करहरू गैरकानुनी रूपमा निकुञ्ज प्रवेश गरेपछि सबै निकुञ्जमा सुरक्षा थप गर्न निर्देशन दिइसकेका छौँ।''

भिडन्तमा सिकारीको मृत्यु

लकडाउनका बेला गस्तीमा रहेका सुरक्षाकर्मीको टोलीसँग भिडन्त हुँदा एक जनाको सन्दिग्ध सिकारीको मृत्यु भएको र सुरक्षाकर्मीसहित केही अन्य घाइते भएको श्रेष्ठले बीबीसीलाई बताए।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनका अनुसार निकुञ्जको भित्री भागमा अवैध सिकारीहरूको एउटा टोलीमा ११ जना थिए। तीमध्ये एक जनाको ज्यान गयो भने अर्का एक व्यक्तिलाई हतियारसहित पक्राउ गरिएको छ।

त्यहाँ नेपाली सेनाका जमदारको दाहिने खुट्टामा गोली लागेको छ।

तस्बिर स्रोत, Bishnu Prasad Shrestha

तस्बिरको क्याप्शन, चितवन राष्ट्रिय निकुञ्जमा पैदलगस्तीका क्रममा सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीहरू

निकुञ्जका प्रमुख संरक्षण अधिकृत महर्जनले भने, ''पक्राउ पर्ने एक सिकारी काठमाण्डूमा रङ्गरोगन लगाउने काम गर्ने व्यक्ति भएको र लकडाउनका बेलामा घर फर्किएको हुनाले सिकार गर्न आएको बुझिएको छ।''

लकडाउनका बेला घाँसदाउरा गर्न निषेधित क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ।

चितवनमा ड्रोनबाट निगरानी

लकडाउनको अवधिमा सिकारी र तस्करहरू सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले विभिन्न ६१ स्थानबाट पैदलगस्ती गर्न थालेको छ।

निकुञ्जमा जोखिममा भएका स्थानमा ड्रोनबाट पनि निगरानी हुन थालेको छ।

तर लकडाउनकै बेलामा गम्भीर चोटसहित मृत भेटिएका दुई घडियालको विषयमा भने अहिलेसम्म अनुसन्धान टुङ्गोमा पुग्न सकेको छैन।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेतीले भने, '' नारायणी र राप्तीमा घडियाल जालमा मरेको अवस्थामा र गम्भीर चोटसहित भेटिनुले नदी प्रणालीमा रहेका वन्यजन्तुहरू सिकारीको निसानामा रहेको बुझिएको छ।''

उक्त निकुञ्जमा विभिन्न उद्देश्यसहित गैरकानुनी ढङ्गले १०० जनाभन्दा बढी व्यक्ति प्रवेश गरेका र अनुसन्धान भइरहेको विभागले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जबाट पक्राउ पर्नेमध्ये एक जना गैँडामारेको अभियोगमा १० वर्ष जेलसजाय भोगिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ।

खुला सिमानाका चुनौती

भारतसँगको खुला सिमानाका कारण कतिपय स्थानमा रहेका छिद्रलाई सिकारीले प्रयोग गरेर विभिन्न नाकाबाट निकुञ्ज प्रवेश गरेको हुन सक्ने संरक्षण अधिकारीहरूको अनुमान छ।

चोरीसिकार नियन्त्रणमा सुरक्षा निकायका अतिरिक्त स्थानीय युवाहरू सम्मिलित ६११ वटा एकाइ सक्रिय छन्।

तर सूचना प्रणालीचुस्त पार्न नसकिएको संरक्षण अधिकारीहरू नै स्वीकार गर्छन्।

लकडाउनकै अवधिमा डिभिजन वन कार्यालय रौतहटले गत साता काठ काटिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। कैयौँ व्यक्ति फरार छन्।

तस्बिर स्रोत, Bishnu Prasad Shrestha

निसानामा साना वनजङ्गल पनि

वन्यजन्तु संरक्षणको क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता कुमार पौडेलका बुझाइमा निकुञ्ज र संरक्षित क्षेत्रका अतिरिक्त सानातिना वनजङ्गलमा पनि सिकार हुने गरेको छ। तर राज्यले त्यता ध्यान दिन नसकेको उनी बताउँछन्।

उनले भने, ''निकुञ्ज वा संरक्षित क्षेत्रबाहिर पनि राज्यको प्राथमिकतामा नपरेसम्म अवैध सिकारमा कुनै कमी आउँदैन।''

कैलालीमा गत साता चिरान काठ तस्करी भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले एक जनालाई पक्राउ गरेर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाएको छ।

सुरक्षा निकाय र प्रशासनको ध्यान अन्यत्र मोडिँदा अवैध सिकार र तस्करीजस्ता गैरकानुनी गतिविधि बढ्ने गरेको विज्ञहरू बताउँछन्।

बर्दिया तथा शुक्लाफाँटा निकुञ्जमा पनि गस्तीका क्रममा दर्जनौँपक्राउ गरी अनुसन्धान भइरहेको छ।

संरक्षणकर्मीहरूका अनुसार पक्राउ पर्नेहरूमध्ये कतिपयलाई आफूले गरेको काम गैरकानुनी भएको थाहा भए पनि अपराध कति गम्भीर हो तथा दोषी ठहरिँदा कस्तो दण्ड भोग्नुपर्छ भन्ने विषयमा ज्ञान छैन।