कोरोनाभाइरस: भारतमा कोभिड-१९ बाट पीडित अर्को व्यक्तिको पनि मृत्यु भएको पुष्टि, ८० जनाभन्दा बढीमा सङ्क्रमण

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: ३ मिनेट

भारतमा कोरोनाभाइरस सङ्क्रमण भएकी एक महिलाको मृत्यु भएपछि त्यहाँ कोभिड-१९ बाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या दुई पुगेको छ।

अहिलेसम्म दक्षिण एशियामा भारतमा मात्र कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि भएको हो। तर सबै देशमा सङ्क्रमित व्यक्ति फेला परेका छन्।

दिल्लीकी ६८ वर्षीया महिलालाई उनको छोराबाट भाइरस सरेको अधिकारीहरूले बताएका छन्। ती महिलामा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरू पनि थिए ।

उनका छोरा गत महिना युरोपको भ्रमण गरेर फर्किएका थिए। सुरुमा सङ्क्रमणको कुनै लक्षण नदेखिएको भए पनि एक दिनपछि उनलाई ज्वरो आएको सरकारले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यसपछि पूरै परिवारको परीक्षण गरियो तथा आमा र छोरालाई अस्पताल भर्ना गरियो।

पहिलो मृत्यु

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो व्यक्तिको भएको पुष्टि बिहीवार मात्रै भएको थियो।

मृत्यु हुने व्यक्ति दक्षिण भारतको कर्नाटक राज्यका एक ७६ वर्षीय पुरुष हुन्। उनी साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका थिए।

राज्यका स्वास्थ्यमन्त्रीका अनुसार ती व्यक्तिको सम्पर्कमा आएका सबै मानिस पत्ता लगाउने र तिनलाई क्वारन्टीनमा राख्ने प्रयास भइरहेको छ।

ती वृद्धको मृत्यु मङ्गलवार भएको थियो। तर उनको परीक्षणको प्रतिवेदन बिहीवार सार्वजनिक गरियो।

अधिकारीहरूका अनुसार साउदी अरबबाट फर्किँदा विमानस्थलमा उनलाई जाँचिएको थियो। तर त्यति बेला उनमा कोभिड-१९ का कुनै लक्षण देखिएको थिएन।

तर एक हप्तापछि अर्थात् मार्च ५ मा उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्‍यो। त्यसपछि उनलाई अस्पताल लागियो।

भारतको स्थिति के छ?

भारतमा अहिलेसम्म ८० जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको सरकारले जनाएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रवार मध्यरातसम्म ८२ जनामा कोभिड-१९ भएको पुष्टि भएको छ। तीमध्ये ६५ जना भारतीय नागरिक र बाँकी विदेशी नागरिक हुन्।

सरकारका अनुसार १० सङ्क्रमित व्यक्ति निको भएका छन्।

अहिलेसम्म ११ लाख ७० हजारभन्दा बढी मानिसको विमानस्थलमा परीक्षण गरिएको बताइएको छ।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भारतले मास्क निर्यातमा रोक लगाएको छ

दक्षिण एशियाको स्थिति के छ?

दक्षिण एशियाका सबै देशमा सङ्क्रमित व्यक्ति फेला परेका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अन्य देशमा पुष्टि भएका सङ्क्रमणको सङ्ख्या यस्तो छ -

  • भुटान: १
  • नेपाल: १
  • बाङ्ग्लादेश: ३
  • श्रीलङ्का: ३
  • अफगानिस्तान: ७
  • माल्दिभ्स: ८
  • पाकिस्तान: २०

नेपालमा फेला परेका सङ्क्रमित व्यक्ति चीनबाट फर्किएका थिए र पूर्ण रूपमा स्वस्थ भइसकेको अधिकारीहरूले बताएका छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नेपालले विभिन्न देशका नागरिकलाई अन-अराभरल भिसा दिन छोडेको छ

गत साता भुटान गएका अमेरिकी पर्यटकमा सङ्क्रमण भएको पुष्टि भएको थियो।

उनलाई परिवारले एअर एम्बुलेन्स प्रयोग गरेर स्वदेश लगेको भुटानी सञ्चारमाध्यमले जनाएका छन्।

के गर्दैछ भारत सरकार?

कोरोनाभाइरस सङ्क्रमणको प्रकोप नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरेको छ।

बुधवार राति प्रकाशित सूचनाअनुसार शुक्रवारदेखि लागु हुनेगरी अधिकांश प्रवेशाज्ञा स्थगित गरिएको छ। एक महिनापछि यो निर्णयको समीक्षा गरिनेछ।

तस्बिर स्रोत, EPA

भारत प्रवेश गर्न पाउने मानिस पनि १४ दिन क्वारन्टीनमा बस्नुपर्नेछ। सरकारले अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ।

कोरोनाभाइरस फैलिन नदिन राजधानी दिल्लीमा मार्च महिनाको अन्त्यसम्म सबै शैक्षिक संस्था र चलचित्रघर बन्द हुने घोषणा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेका छन्।

प्रकोप नियन्त्रण गर्न विभिन्न सरकारी निकायहरूले समन्वय गरिरहेका छन्। बिहीवार आयोजित पत्रकार सम्मेलनमा आत्तिनुपर्ने स्थिति नभएको अधिकारीहरूले बताएका थिए।

सर्वोच्च न्यायालयले सोमवार अतिमहत्त्वपूर्ण मुद्दाको मात्र सुनुवाइ गर्न जनाएको छ। त्यहाँ सीमित व्यक्ति मात्र अदालतको कक्षमा प्रवेश गर्न पाउनेछन्।

कर्नाटक राज्यमा भेला, वैवाहिक कार्यक्रम, खेलकुद र सबै खालका सम्मेलन गर्न एक हप्ताका लागि रोक लगाएको छ। त्यहाँ चलचित्रघर, शपिङ मल, पब र रात्रिक्लब पनि बन्द भएका छन्।

एक सातापछि समीक्षा गरेर उपयुक्त निर्णय लिने राज्यका मुख्यमन्त्रीले शुक्रवार बताए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

भारतीय रेलवेले गृह मन्त्रालयको निर्देशन पालना गर्दै भारत र बाङ्ग्लादेबीच सञ्चालित यात्रीवाहक रेलसेवा एक महिनाका लागि बन्द गरेको छ।

यो निर्णय मार्च १५ देखि लागु हुनेछ।