कोरोनाभाइरस: विश्वव्यापी महामारी नियन्त्रण गर्न विश्वभरि अनेक उपाय अवलम्बन, नाटकघरदेखि विद्यालयसम्म बन्द

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, न्यूयोर्कमा नाटकघरहरू पनि बन्द भएका छन्

विश्वभरि विभिन्न देशमा कोरोनाभाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने प्रयासमा विद्यालयहरू बन्द गरिएका छन्, खेलकुदका पूर्वनिर्धारित प्रतियोगिताहरू स्थगित भएका छन् तथा सांस्कृतिक संस्थाहरू बन्द भएका छन्।

अमेरिकामा सबै प्रमुख खेल प्रतियोगताहरू स्थगित गरिएका छन् र ब्रोडवेले आफ्ना सबै मनोरञ्जनात्मक कार्यक्रम एक महिनाका लागि निलम्बन गरेको छ।

युरोपमा फ्रान्सले सबै विद्यालय, विश्वविद्यालय र शिशुकक्षा बन्द गरेको छ।

राष्ट्रपति इमानुएल माँक्रोले कोरोनाभाइरस प्रकोपलाई फ्रान्सका लागि एक शताब्दीयताकै सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कटको सङ्ज्ञा दिएका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको यो भाइरसको सङ्क्रमण अहिले ११८ वटा देशमा भेटिएको पुष्टि भएको छ। कोभिड-१९ बाट झन्डै एक लाख २५ हजार मानिस प्रत्यक्ष प्रभावित भएको पुष्टि भएको छ भने ४,६०० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।

उक्त महामारीका कारण विश्वभरि शेअर बजार पुन: ओरालो छ।

वाल स्ट्रीट शेअर १० प्रतिशतले झरेर सन् १९८७ को ब्ल्याक मन्डे भनिने सङ्कटयताकै नराम्रो अवस्थामा पुगेको छ। लन्डन तथा अन्य युरोपेली बजारमा पनि गम्भीर असर देखा परेको छ।

सांस्कृतिक क्षेत्र कसरी प्रभावित भएका छन्?

विश्वका कैयौँ प्रमुख सङ्ग्रहालय र ग्यालरीले आफ्ना ढोका बन्द गरेका छन्।

नेदरल्यान्डस्को एम्सटर्डमस्थित भ्यान गोख सङ्ग्रहालय र राईक्सम्यूजीअम मार्च भरि बन्द रहनेछन्।

तस्बिर स्रोत, EPA

अमेरिकामा न्यूयोर्कमा रहेको विश्वकै ठूलो कला सङ्ग्रहालय मेट्रोपोलिटन म्यूजीअम अफ आर्टले सहरका तीन स्थानमा रहेका आफ्ना सङ्ग्रहालय अस्थायी रूपमा बन्द गरिन लागेको जनाएको छ।

न्यूयोर्क राज्यका गभर्नरले ५०० जनाभन्दा बढी भेला हुने सबै कार्यक्रममा प्रतिबन्ध लगाएका छन्।

ब्रोडवेका प्रस्तुतिहरू पनि एक महिनाका निम्ति निलम्बित भएका छन्।

क्यालिफोर्नियाको डिज्नील्यान्ड पनि शनिवारदेखि बन्द हुन लागेको छ।

कतारले आफ्ना सबै चलचित्रघर, नाट्यशाला, व्यायामशाला, सङ्ग्रहालय र रङ्गशाला बन्द गर्ने घोषणा गरेको छ।

नेपाल सरकारले पनि यसपालि सगरमाथा आरोहण रद्द गरेको छ। चीनले तिब्बती मोहडाबाट हुने सगरमाथा आरोहणमा यसअघि नै रोक लगाइसकेको थियो।

क्वारन्टीनको स्थिति के छ?

स्पेनले पहिलो पटक क्याटलोनिया क्षेत्रका चारवटा सहरमा आवतजावतमा रोक लगाएको छ।

तस्बिर स्रोत, EPA

त्यसबाट ७०,००० मानिस प्रभावित हुनेछन्। त्यहाँ मृतकको सङ्ख्या ४७ बाट बढेर ८४ पुगेको छ।

इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न खाद्यसामग्री र औषधि बेच्ने पसलबाहेक सबै पसल, रेस्टुराँ र मदिरालय बन्द गरिदिएको छ।

त्यहाँ मृतकको सङ्ख्या १,००० नाघेको छ। तर स्वास्थ्यमन्त्रीले कोरोनाभाइरसको महामारी देखिएको क्षेत्रमा सुरुमा लगाइएको प्रतिबन्ध प्रभावकारी भएको बताएका छन्।

फिलिपिन्सका राष्ट्रपतिले मानिसहरूलाई राजधानीबाट बाहिर जान र भित्रिन प्रतिबन्ध लगाएका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो र उनकी पत्नीसहित विभिन्न प्रमुख व्यक्तिहरूले आफूलाई अलग्गै क्वारन्टीनमा बसेका छन्।

आयरल्यान्ड, स्पेन, फ्रान्स, फिलिपिन्स, पोर्चुगल र बोलिभिया आदि देशले विद्यालयहरू बन्द गर्ने घोषणा गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसबाट जोगिन हात धुन सिकाउने भिडिओ भाइरल