अफ्रिकामा जबर्जस्ती बन्ध्याकरण: 'उनीहरूले मेरो पाठेघर निकालेको कुरा मलाई ११ वर्षसम्म थाहा भएन'

तस्बिर स्रोत, Bongekile Msibi

तस्बिरको क्याप्शन, बन्जकिले मसाइबी अर्को बच्चा पाउन चाहन्छिन् तर...

सत्र वर्षको उमेरमा पहिलो पटक सुत्केरी हुँदा आफूलाई थाहै नदिई बन्ध्याकरण गरिएको रहेछ भन्ने कुरा उनले ११ वर्षपछि दोस्रो बच्चा जन्माउने प्रयत्न गर्दा बल्ल थाहा पाएको बीबीसीलाई बताइन्।

दक्षिण अफ्रिकामा लैङ्गिक समानताका लागि स्थापित निकाय कमिशन फर जेन्डर इक्वलिटीका अनुसार बन्जकिले मसाइबी त्यसरी अनुमतिविना बलपूर्वक बन्ध्याकरण गरिएका ४८ मध्ये एक महिला हुन्।

अधिकारप्राप्त निकाय भए पनि उक्त आयोगको अनुसन्धान बिरामीका फाइलहरू 'हराएकाले' प्रभावित भएको छ। उसका अनुसार अनुसन्धानकर्ताहरूलाई अस्पतालले "नराम्रो व्यव‍हार गरेको" छ।

नागरिक अधिकारसम्बन्धी समूहहरूले यी मुद्दा बाहिर ल्याएपछि आफ्ना अनुसन्धानकर्ताहरूले १५ वटा अस्पतालको भ्रमण गरेको जनाएको छ।

दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले यसबारे विस्तृत प्रतिक्रिया दिएको छैन। तर स्वास्थ्यमन्त्री ज्वेली मखिजेले त्यसबारे छलफल गर्न आयोगसँग बैठकको आग्रह गरेको मन्त्रालयले जनाएको छ।

मसाइबीले आफ्नो कथा बीबीसीकी क्लेअर स्पेन्सरलाई यसरी सुनाइन्:

बच्चा जन्माउँदा बेहोस बनाइएकोले होस आएपछि शरीरको तल्लो भाग हेरेर मैले सोधेकी थिएँ, "मेरो पेटमा यत्रो ठूलो पट्टी किन बाँधेको?"

मलाई त्यति बेला मतलबै भएन। मैले छोरी जन्माएकी थिएँ। मलाई बेहोस पारिएको थियो र शल्यक्रिया गरेर बच्चा निकालिएको थियो।

बच्चा जन्मिएको पाँच दिनमा स्वस्थ छोरी लिएर पेटमा लामो घाउसहित म अस्पतालबाट घर फर्किएँ।

त्यसको ११ वर्षसम्म त्यस दिन वास्तवमा के भएको थियो भन्ने मैले सोधखोज गरिनँ।

जब दोस्रो बच्चा जन्माउन प्रयत्न गर्न थालेँ, त्यसपछि बल्ल विभिन्न कुरा थाहा पाउन थालेँ।

तस्बिर स्रोत, Bongekile Msibi

तस्बिरको क्याप्शन, बन्जकiले मसाइबीले १७ वर्षको उमेरमा छोरी पाएकी थिइन्

मैलै ११ वर्षसम्म गर्भनिरोधक चक्की सेवन गरिरहेँ। त्यसकै कारण महिनावारी भएन नभएको होला भन्ठानेँ।

पछि अर्का पुरुषसँग सम्बन्ध गाँसियो, मैले अर्को बच्चा जन्माउन चाहेँ। त्यसैले चिकित्सककहाँ गएँ।

उनले मलाई जाँचे, कुर्सीमा बस्न लगाए, एक गिलास पानी खान दिए र मेरो शरीरमा पाठेघर नै नभएको बताए।

यो पनि पढ्नुहोस्

'त्यो असाध्यै निर्दयी काम थियो'

मैले आफू बर्बाद भएको महसुस गरेँ र अन्योलग्रस्त पनि। म एक पटक आमा बनिसकेकाले पाठेघर छैन भन्ने त हुनै सक्दैनथ्यो।

उनीहरूले जे गरे त्यो असाध्यै निर्दयी काम थियो।

त्यसपछि म सञ्चारमाध्यममा गएँ, स्वास्थ्य मन्त्रालय गएँ र त्यसपछि जहाँ पहिलो बच्चा जन्माएकी थिएँ त्यहाँ गएँ। मैले बच्चा जन्माउँदा अस्पतालमा भएका भनिएका चिकित्सकसँग पनि भेटेँ।

उनले क्षमा मागेनन्। उनले मलाई मेरो जीवन बचाउन मेरो पाठेघर फालेको बताए।

उनले मलाई के बाट बचाउन त्यसो गरेका थिए भन्ने अझ पनि मलाई थाहा छैन। अस्पतालमा त्यसको अभिलेख पनि छैन।

त्यसो गरिएकी म एक्ली व्यक्ति होइन। अरू ४७ जनासँग पनि त्यसै गरिएको एउटा अनुसन्धानले पाएको छ।

कसैलाई एचआईभी भएकाले पाठेघर फालिएको भनिएको छ, तर मलाई त एचआईभी थिएन। उनीहरूले मेरो पाठेघर किन फाले, मलाई थाहा छैन।

चिकित्सकले मैले सहमतिपत्रमा हस्ताक्षर गरेको बताए। अहँ, मैले त हस्ताक्षर गरेकी छैन। म त्यस बेला उमेर नपुगेकी नाबालिका थिएँ त्यसैले हस्ताक्षर गर्न पाउने कुरा पनि भएन।

त्यसपछि उनले त्यस बेला त्यहाँ उपस्थित मेरी आमाले हस्ताक्षर गरेको भने। आमाले मलाई हस्ताक्षर नगरेको बताउनुभयो।

तस्बिर स्रोत, Bongekile Msibi

तस्बिरको क्याप्शन, बन्जकिले मसाइबीले आफ्नी छोरीले भाइ या बहिनी जन्माइदिनू भनेर अनुरोध गरेको बताउँछिन्

यो समाचारले मेरो जीवन परिवर्तन गरिदिएको छ।

अन्त्यमा म मेरा प्रेमीसँग छुट्टिएँ। उनलाई साँच्चिकै बच्चा चाहिएको थियो, त्यो म दिन सक्दिनथेँ। त्यसैले मैले उनलाई छुट्टिन दिएँ।

मैले चिकित्सकलाई भेट्दा उनले मलाई के चाहिएको छ भनेर सोधे।

म साँच्चिकै बच्चा जन्माउन चाहन्छु। यो हप्ता एक गर्भवती सहकर्मी भेट्दा मैले सहनै सकिनँ।

मेरी छोरीलाई भाइ या बहिनी चाहिएको छ। जब हामी सडकमा हिँडिरहेका हुन्छौँ, त्यहाँ केटाकेटी देख्दा उसले एउटालाई ल्याएर आफ्नो भाइ या बहिनी बनाइदिन आग्रह गर्छे।

मेरो शरीरमा दुवै डिम्बाशय छन्। त्यसैले सरोगेसीबाट बच्चा जन्माउन अब अस्पतालले पैसा तिर्नुपर्छ भन्ने मेरो विचार छ।

म जसले त्यस्तो कार्य गरे, तिनलाई उत्तरदायी बनाउनुपर्छ भन्ठान्छु।

चिकित्सकहरूलाई यसो गरिरहन दिनहुँदैन किनभने हामी महिलालाई हाम्रो अधिकारबाट वञ्चित गरिएको छ।

उनीहरू पनि कसैको निगरानीमा बस्नुपर्छ भन्ने चिकित्सकहरूलाई थाहा हुनुपर्छ ।

ती चिकित्सक जसले मलाई यस्तो गरे, उनले गल्ती महसुस गर्नुपर्छ भन्ठान्छु।

यो मुद्दालाई उनीहरूले जसरी हेरिरहेका छन्- उनीहरूले मेरो एउटा औँला हटाएको जस्तो ठानेका छन् जबकि उनीहरूले त मेरो नारीत्व चोरेका छन्।

म यो कुरा कहिल्यै बिर्सिन्नँ र यो मेरो तल्लो पेटमा भएको खतले सधैँ त्यहीँ कुरा सम्झाइरहनेछ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफ्रिकाका 'कन्डम किङ'