अफगान द्वन्द्व: राष्ट्रपति अशरफ गनीद्वारा तालिबानी बन्दी मुक्त गर्ने प्रस्ताव अस्वीकार

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, अफगानी जेलमा १०००० तालिबानी बन्दी रहेको अनुमान गरिएको छ

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले अमेरिका र तालिबान लडाकुहरूबीच भएको सम्झौतामा उल्लेख गरिएको जस्तो तालिबान बन्दीहरूलाई मुक्त गर्ने प्रतिबद्धता आफ्नो सरकारले व्यक्त नगरेको बताएका छन्।

शनिवार कतारमा हस्ताक्षर गरिएको महत्त्वपूर्ण सम्झौतामा १० मार्च सम्ममा १,००० सरकारी बन्दीहरूसँग ५,००० तालिबानी साटिने उल्लेख छ।

गनीले बन्दी मुक्त गर्ने यस्तो कुरा "वार्ताका लागि सर्त हुन नसक्ने" तर सम्झौताको अंश हुन सक्ने बताए।

अमेरिका-तालिबान सम्झौतामा अमेरिकी सैनिकको चरणबद्ध फिर्ती पनि उल्लेख गरिएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अझ पनि अफगानिस्तानमा १२,००० अमेरिकी फौज छन्

बदलामा कट्टरपन्थी इस्लामवादी समूहले अफगान सरकारसँग शान्ति वार्ता गर्न सहमति जनाएको थियो।

सम्झौतामा तालिबानले उसको नियन्त्रण भएको क्षेत्रमा अल कायदा र अरू उग्रवादी समूहहरूलाई काम गर्न नदिने पनि प्रतिबद्धता व्यक्त गरिएको थियो।

सेप्टेम्बर २००१ मा अल कायदाले न्यू योर्कमा आक्रमण गरेको केही हप्तापछि अमेरिकाले अफगानिस्तानमाथि आफ्नो कब्जा जमाएको थियो।

तालिबानलाई शक्तिबाट हटाइएको थियो त्यसपछि विद्रोही बन्न पुगेको उक्त समूह सन् २०१८ सम्ममा अफगानिस्तानको दुई तिहाइ भन्दा बढी क्षेत्रमा सक्रिय बन्न पुगेको थियो।

गनीले के भने ?

दोहामा सम्झौतामा हस्ताक्षर भएको २४ घण्टा पूरा नहुँदै अफगानी राष्ट्रपतिले रिपोर्टरहरूलाई काबुलमा भने, "हिंसा कम हुँदै जाने क्रम जारी रहनेछ र हिंसा पूर्ण रूपमा रोक्नु लक्ष्य हुनेछ।"

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, अमेरिकी राजदूत जलमे खलिलजाद र तालिबानका मुल्लाह अब्दुल गनी बरादरले शनिवार एक सम्झौतामा हस्ताक्षर गरेका थिए

तर उनले भने, "५००० बन्दी छोड्नेबारे कुनै प्रतिबद्धता व्यक्त गरिएको छैन।"

"यो अफगानी जनताको अधिकार र आत्मरक्षाको कुरा हो। त्यो अफगानी-अफगानीहरूबीच हुने वार्ताको एजेन्डामा संलग्न गर्न सकिन्छ तर वार्ताको पूर्व सर्त बन्न सक्दैन।"

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, जलालाबादमा अफगानीहरूले सम्झौता भएकोमा खुशियाली मनाएका थिए

उनले भने, "कुनै पनि बन्दी मुक्त गर्ने कुरा "अमेरिकाको अधिकार क्षेत्रमा पर्दैन" बरु अफगानी सरकारको अधिकारमा पर्छ।"

करिब १०,००० तालिबानीहरू अफगानिस्तानमा बन्दी बनाइएको अनुमान गरिएको छ।