कोरोनाभाइरस: दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण बढेकोबढ्यै

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, दक्षिण कोरियामा ७,७०० जना सैनिकलाई क्वारन्टीनमा राखिएको छ
पढ्ने समय: ३ मिनेट

कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या बढेपछि दक्षिण कोरियाका अधिकारीहरूले उक्त प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न उपायहरू अवलम्बन गरेका छन्। छिमेकी उत्तर कोरियामा अहिलेसम्म सङ्क्रमण नदेखिए‍को भए पनि सरकारले विदेशी कूटनीतिज्ञहरूसहित बाहिरबाट आएका मानिसलाई अलग्गै राखेको छ।

दक्षिण कोरियामा अहिलेसम्म ७६३ जनामा सङ्क्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ।

सङ्क्रमित व्यक्तिको सङ्ख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन्। यो वृद्धिसँगै दक्षिण कोरियामा सङ्क्रमित व्यक्तिको सङ्ख्या चीनबाहिर सर्वाधिक पुगेको छ।

सङ्क्रमण बढेकोबढ्यै गर्न थालेपछि त्यहाँ "उच्चतम तह" को सतर्कता घोषणा गरेर सरकारी अधिकारीहरू कोरोनाभाइरस प्रकोप नियन्त्रण गर्न लागिपरेका छन्।

सेनामा ११ जनालाई सङ्क्रमण भएको पाइएपछि ७,७०० सैनिकलाई क्वारन्टीनमा राखिएको छ।

उत्तर कोरियामा के हुँदैछ?

छिमेकी उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियामा झन्डै ३८० जना विदेशीलाई क्वारन्टीनमा राखिएको छ।

तर त्यहाँ अहिलेसम्म कसैलाई सङ्क्रमण भएको पुष्टि भएको छैन।

कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेशनलाई उद्धृत गर्दै योन्हाप समाचारसंस्थाले क्वारन्टीनमा राखिएका अधिकांश मानिस प्योङ्याङमा कार्यरत विदेशी कूटनीतिक नियोगका कर्मचारी हुन्।

झन्डै २०० विदेशी नागरिकलाई विगत ३० दिनदेखि आफ्नो निवासस्थानमा सीमित पारिएको थियो।

त्यो अवधि सकिएपछि क्वारन्टीन सुरु गरिएको छ। नयाँ क्वारन्टीनको अवधि भने स्पष्ट छैन।

कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेशनका अनुसार विदेशबाट फर्किएका मानिस र असामान्य लक्षण देखिएका मानिसलाई अलग्ग राख्न थालिएको छ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले देश अहिले "गम्भीर मोड" मा भएको बताउँदै प्रकोप नियन्त्रणको लडाइँका लागि अबका केही दिन निकै महत्त्वपूर्ण हुने बताएका छन्।

उनले सोमवार सरुवा रोगविज्ञहरूसँग भेटेर रोग फैलिन नदिने उपायबारे छलफल गर्न लागेको बताइएको छ।

इटलीमा के गरिँदैछ?

इटलीका अधिकारीहरूले भेनिसमा भइरहेको एउटा मेलालाई छोट्याइदिएका छन्।

भेनिस कार्निभल अब निर्धारित मितिभन्दा दुई दिनअघि नै सकिने अधिकारीहरूले बताए।

युरोपमा सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएका मानिस इटलीमा फेला परेका छन्।

अहिलेसम्म त्यहाँ १५२ जनामा कोरोनाभाइरस भएको पुष्टि भएको छ। उक्त प्रकोपका कारण त्यहाँ तीन जनाले ज्यान गुमाएका छन्।

मिलान र भेनिसमा कडा क्वारन्टीनको व्यवस्था गरिएको छ।

झन्डै ५०,००० सर्वसाधारण रहेको उत्तरी क्षेत्रका लोम्बर्डी र भेनटोजस्ता सहरबाट विशेष अनुमतिबिना बाहिर जान वा त्यहाँ पस्न नपाउने व्यवस्था गरिएको बताइएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

ती क्षेत्रभन्दा बाहिर पनि व्यापार र विद्यालयहरू बन्द गरिएका छन् भने अन्य गतिविधिमा पनि रोक लगाइएको छ। प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ।

इटलीका अधिकारीहरूले यस्ता उपायबिना कोरोनाभाइरस नियन्त्रण गर्न नसकिने बताएका छन्। "यो भाइरस सर्ने सम्भावना निकै धेरै छ," लोम्बर्डीका स्वास्थ्यप्रमुखले बताए।

यसैबीच इटलीबाट हिँडेको रेलमा सवार दुई यात्रुमा कोरोनाभाइरस सङ्क्रमणको प्रारम्भिक सङ्केत देखिएपछि त्यो रेललाई अस्ट्रियाको सीमामा रोकिएको छ।

चीन र अन्यत्रको स्थिति के छ?

चीनको हुबे प्रान्तमा गत वर्ष सुरु भएको कोरोनाभाइरस २९ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएका र १२ जनाको मृत्यु भएको बताइएको छ।

अहिले दक्षिण कोरिया, इटली र इरानमा उक्त भाइरसको प्रकोप फैलिरहेको छ।

इटलीमा १५२ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। इरानमा ४३ सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भएको छ।

यदि ती देशमा रोग नियन्त्रण गर्न सकिएन भने कोभिड-१९ अर्थात् कोरोनाभाइरस सङक्रमण "विश्वव्यापी महामारी" घोषणा हुन सक्नेछ।

विश्व स्वास्थ्य सङ्गठनले यदि एउटाभन्दा बढी क्षेत्रमा रोग फैलिए त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्न सक्छ।

चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या घटेको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोरोनाभाइरस सङ्क्रमण हुँदा अधिकांश व्यक्तिमा श्वासप्रश्वासको समस्या देखिन्छ

त्यहाँ अहिलेसम्म ७७,००० भन्दा बढी मानिसमा सङ्क्रमण र २,५०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

यसअघि चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

कोभिड-१९ का कारण इरानमा थप मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे प्रतिक्रिया दिएका थिए।

इरानी अधिकारीहरूका अनुसार इरानका सबै सहरमा उक्त भाइरस फैलिसकेको हुन सक्छ।