कोरोनाभाइरस: चीनबाट नेपाली विद्यार्थीको गुहार, 'हामी टुहुराजस्तै भयौँ, सरकारले वास्ता गरेन'
तस्बिर स्रोत, Getty Images
चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोनाभाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेका बेला वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूले "टुहुरो महसुस गरेको" बताएका छन्।
वुहानबाट बीबीसीको सम्पर्कमा आएका नेपाली विद्यार्थीहरूले नेपाल सरकारले हालसम्म आफूहरूको उद्धारका लागि कुनै कदम नचालेको र आफूहरू अलपत्र परेको भन्दै निराशा व्यक्त गरेका छन्।
वुहानस्थित ह्वाङ्जुङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा इन्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका नेपाली विद्यार्थी सम्पत न्यौपानेले भने, "हामी शारीरिक रूपमा सुरक्षित छौँ, तर आफ्नै कोठावरपर भएका साथीहरू गइसके।"
"सुरुमा अमेरिका र फ्रान्सले उनीहरूका नागरिक लग्दा हामीलाई डब्ल्यूएचओको भन्दा उच्च मापदण्ड भएका देशले मात्र उद्धार गरेका हुन् जस्तो लागेको थियो," उनी भन्छन्, "तर अहिले भारत, बाङ्ग्लादेश, श्रीलङ्काजस्ता देशले पनि लान थाले।"
टुहुरो महसुस
आफ्नै छात्रावासमा बस्ने अन्य देशका विद्यार्थी स्वदेश फर्केपछि नेपालीहरू चरम मानसिक तनावमा परेको न्यौपानेले बताए।
उनले भने, "बेइजिङस्थित नेपाली राजदूतज्यूसँग हाम्रो कुराकानी भएको थियो। उहाँ अभिभावकत्व लिन्छु भन्नुहुन्छ, तर हामीलाई यहाँ टुहुरा बच्चाजस्तो महसुस भइरहेको छ।"
तस्बिर स्रोत, Reuters
"हामीलाई चाँडो भन्दा चाँडो नेपालमा लगेर आइसोलेशन गरेर राखियोस्।"
सोही विश्वविद्यालयमा बायोकेमिस्ट्रीमा विद्यावारिधि गर्दै गरेका सरोज खनाल पनि नेपालका छिमेकी मुलुक र नेपालजस्तै गरिब भनिएका देशले पनि आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालले बेवास्ता गर्दा मानिसक तनाव उत्पन्न भएको बताए।
"हामीले चीन सरकारले बस्न र खान दिएन भनेर त भनेकै होइनौँ नि! तर कम्तीमा सरकारले हाम्रो कुरा सुनोस् र हामीलाई नेपालमा लगेर आइसोलेशनमा राखोस् भन्ने चाहेका हौँ," उनले भने, "त्यस्तो गरे कम्तीमा हामीलाई मानसिक तनाव कम त हुन्थ्यो।"
शङ्का
नेपाल सरकारले बेवास्ता गर्नुमा दूतावासले सही सूचना उपलब्ध नगराएको हुन सक्ने नेपाली विद्यार्थीहरूको शङ्का छ।
खनालले भने, "हामीलाई यहाँ जेलमा बसेको जस्तो महसुस भइरहेको छ। तर सरकारले किन बाङ्लादेश, श्रीलङ्का र माल्दिभ्सजस्ता देशले आफ्ना नागरिकको उद्धार गर्दा पनि हामीलाई वास्ता गर्दैन?"
वुहानमै यूरोसर्जरीमा विद्यावारिधि गर्दै गरेका डा. गौरव पोखरेल नेपाली विद्यार्थीहरूमा मानसिक तनाव निकै बढेको बताउँछन्।
नेपाली दूतावासका अधिकारीहरू पनि रहेको एउटा वीच्याट समूहमा संलग्न नेपालीमध्ये झन्डै १०० जति वुहानमा बसोबास गर्नेहरू भएको उनले बताए।
तनावले अस्वस्थ
तीमध्ये अधिकांशलाई अहिले अरुचि, अनिद्रा र पेटको समस्या समस्या देखिएको जानकारी आफूले पाएको ती डा. गौरव पोखरेल बताउँछन्।
"यो सबै मानसिक तनाव र चिन्ताका कारण भएको हो," उनले भने, "छिमेकी देशहरूले आफ्ना नागरिकको धमाधम उद्धार गर्न थालेपछि नेपालीमा चिन्ता बढेको छ।"
तस्बिर स्रोत, Getty Images
चीनमा सङ्क्रमण र मृतकको सङ्ख्या दिनानुदिन बढिरहेको बेला कोरोनाभाइरस फैलिएको वुहानबाट नेपालीलाई तत्काल उद्धार गरिनुपर्ने उनको माग छ।
डा. पोखरेलले भने, "हामी अहिले सङ्क्रमणको मुहानमा नै बसेका छौँ। कमसेकम मुहानबाट अन्यन्त्र जान पाए जोगिने सम्भावना बढी हुन्छ।"
"तर हामी सङ्क्रमित त होइनौँ नि। सरकारले हामी सङ्क्रमित भए जसरी व्यवहार गर्यो।"
उनी नेपाली विद्यार्थीहरू नेपाल आएपछि पनि सरकारले व्यवस्था गरिदिएको जुनसुकै स्थानमा अरूभन्दा पर १४ दिनसम्म अरूलाई सङ्क्रमणको सम्भावना नहोस् भनेर छुट्टै बस्न तयार भएको बताउँछन्।
अभिभावकको माग
वुहानमा रहेका विद्यार्थीले उद्धारको माग गरिरहेका बेला उनीहरूका अभिभावकले पनि सरकारसँग आफ्ना छोराछोरी नेपाल ल्याइदिन माग गरेका छन्।
त्यस्तैमध्येका एक अभिभावक दिनेश श्रेष्ठले आफ्ना छोराछोरी अहिले "वरिपरि आगो लागेको स्थानमा बीचमा परेको जस्तो" महसुस भएको बताए।
उनले भने, "आगो लागेर त्यो घरको दैलोमा आइसके जस्तो अवस्था भएको छ। हाम्रा बच्चाहरू बसेको २०० मिटरसम्मका मानिसहरूमा सङ्क्रमण देखिएको छ। उता पनि तनाव छ, यता पनि तनाव छ।"
उनले नेपालमा ल्याएर सरकारले आफ्ना छोराछोरीलाई कतै टाढा राखे पनि हुने बताए।
'ठूलो सङ्ख्या राख्न पनि सकिन्छ'
चीनबाट ठूलो सङ्ख्यामा नेपालीहरूको उद्धार गरिए उनीहरूलाई आइसोलेशन वार्ड बनाएर राख्न स्थान अभाव हुने कतिपयको भनाइ रहने गरेको छ।
तर पूर्वस्वास्थ्यसचिव डा. किरण रेग्मी चाहिँ त्यस्तो अवस्था नआउने बताउँछिन्।
उनी भन्छिन्, "उताबाट आएका सबै सङ्क्रमित हुन्छन् भन्ने छैन। तर पनि १४ दिनसम्म निगरानीमा राख्नुपर्ने हुन्छ।"
"त्यस्तो गर्नलाई पनि काठमाण्डूभित्रै स्थानहरू रहेका छन्। एउटा विकल्प कीर्तिपुरस्थित आयुर्वेदिक अध्ययन संस्थान नै पनि हुनसक्छ। त्यहाँ फराकिलो स्थान छ।"
उनी नेपाल सरकारले वुहानमा रहेका नेपालीहरूलाई कूटनीतिक पहल गरेर नेपाल ल्याउनुपर्ने वा चीनकै अर्को सहरमा सार्नुपर्नेमा जोड दिन्छिन्।
उनी भन्छिन्, "सरकारले चाहेमा त्यही पनि अर्को सुरक्षित सहरमा नेपालीहरूलाई छुट्टै निगरानीमा राख्न सक्छ।"
नेपाली दूतावासको भनाइ
चीनस्थित नेपाली दूतावासले चाहिँ वुहानसहित अन्य सहरमा रहेका नेपालीहरूको सम्पर्कमा आफू रहेको बताउँदै आएको छ।
हालसम्म नेपालीहरूमा सङ्क्रमण नदेखिएको र उनीहरू सुरक्षित रहेको दूतावासको भनाइ रहेको छ।
चीन सरकारसँग सहकार्यमा काम भइरहेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै दूतावासले धैर्य गरेर बस्न विद्यार्थीहरूलाई आग्रह गरेको छ।
तर वुहानमा रहेका नेपालीहरू व्याकुल हुँदा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग बारम्बार सम्पर्क गर्दा पनि उनीहरू बीबीसीको सम्पर्कमा आउन चाहेका छैनन्।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले वुहानका नेपालीको परिस्थिति र उद्धारको आग्रहबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन