कम्प्युटर ह्याकिङ: करोडौँ डलर चोर्ने रुसी नागरिकमाथि अमेरिकामा मुद्दा

तस्बिर स्रोत, US Department of Justice

तस्बिरको क्याप्शन, माक्सिम याकुबेट्स र इगोर टुरासेभमाथि साइबर अपराधको आरोप छ

अमेरिकी अधिकारीहरूले ईभल कोर्प नामक विश्वव्यापी साइबर अपराध सञ्जाल चलाएको आरोपमा दुई रुसी नागरिकविरुद्ध मुद्दा दर्ता गरेका छन्।

फरार रहेका माक्सिम याकुबेट्स र इगोर टुरासेभमाथि कम्प्युटर भाइरस प्रयोग गरेर संसारका ४० देशबाट अर्बौँ रुपैयाँ चोरेको आरोप लगाइएको छ।

उनीहरूले पैसा चोरेका संस्थाहरूमा विद्यालय र धार्मिक प्रतिष्ठानहरू पनि छन्।

अमेरिकी अधिकारीहरूले याकुबेट्स रुसी जासुसी संस्थाका लागि काम गर्ने आरोप लगाएका छन्।

पत्रकार सम्मेलनमा अमेरिकी सहायक महान्यायाधिवक्ता ब्रायन बेन्च्कोस्कीले उनीहरूको अपराध गएको दशककै सबैभन्दा नराम्रो कम्प्युटर ह्याकिङ घटना भएको बताए।

याकुबेट्सले मस्कोमा भएको सञ्जालको नेतृत्व गरेको र टरासेभले सो सञ्जाल सञ्चालन गरेको आरोप लगाइएको छ।

ती दुवै जना रुसमा रहेको बताइएको छ।

सबैभन्दा 'सफल साइबर अपराधी'

अमेरिकाको एफबीआई, ब्रिटेनको न्याश्नल क्राइम एजेन्सी एनसीए र साइबर सेक्युरिटीले वर्षौँ लगाएर गरेको अनुसन्धानपछि बिहीवारको मुद्दा दर्ता भएको हो।

अमेरिकी अधिकारीहरूले ईभल कोर्पले ड्रिडेक्स नामक मालवेअर प्रयोग गरेर कम्तीमा ११ अर्ब रुपैयाँ चोरेको बताएका छन्।

तस्बिर स्रोत, NCA

तस्बिरको क्याप्शन, याकुबेट्सले आफ्नो विवाहमा दुई लाख पचास हजार अमेरिकी डलर खर्च गरेको आरोप लगाइएको छ

सो मालवेअर इमेलमार्फत् फैलाइएको बताइएको छ।

इमेलमा पठाइएको लिङ्क खोल्न खोज्दा सो मालवेअर कम्प्युटरमा बस्ने र त्यहाँबाट व्यक्तिगत ब्याङ्क खाताका जानकारी चोर्ने बताइएको छ।

त्यसरी प्राप्त खाताका जानकारीबाट पैसा सारिने र ईभल कोर्पका सदस्यहरूले हात पार्ने गर्थे।

अमेरिकी अधिकारीहरूले याकुबेट्सले अर्को यस्तै खाले मालवेअरमार्फत् झन्डै सात सात करोड डलर चोरेको आरोप पनि लगाएका छन्।

एनसीएले याकुबेट्सले विवाहमा दुई लाख पचास हजार अमेरिकी डलर खर्च गरेको बताएका छन्।

अमेरिकी अधिकारीहरूले याकुबेट्सले सन् २०१७ देखि इन्टरनेटमार्फत् गोप्य विवरण चोर्न रुसलाई सघाएको छुट्टै आरोप पनि लगाएका छन्।

अमेरिकाले उनीहरूबारे जानकारी दिए ५५ लाख रुपैयाँ बराबरको पुरस्कार दिने बताएको छ।

तस्बिर स्रोत, NCA

तस्बिरको क्याप्शन, उक्त समूहका सदस्यले सामाजिक सञ्जालमा स्पोर्ट्स कारका तस्बिर प्रेषित गरेका छन्