मालीमा हेलिकप्टर दुर्घटनामा १३ जना फ्रान्सेली सैनिकको मृत्यु
तस्बिर स्रोत, Reuters
अफ्रिकी मुलुक मालीमा दुईवटा हेलिकप्टर जुध्दा १३ जना फ्रान्सेली सैनिकको ज्यान गएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ।
सोमवार भएको उक्त दुर्घटनामा फ्रान्सले दशकौँयताको ठूलो सैन्य क्षति बेहोरेको छ।
मालीमा जिहादीहरू विरुद्धको सैन्य कारबाहीमा फ्रान्सले आफ्नो सेना खटाएको छ।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरेका छन्। त्यसबारे अनुसन्धान पनि थालिएको छ।
हस्तक्षेप
सन् २०१३ मा फ्रान्सले मालीमा हजारौँ सेना खटाएको थियो।
मालीको उत्तरी भागमा इस्लामवादी विद्रोहीहरूले कब्जा जमाएपछि फ्रान्सले त्यहाँ हस्तक्षेप गरेको थियो।
ती भूभाग पछि मालीको सेनाले पुन: आफ्नो नियन्त्रणमा लिएको छ। तर त्यहाँ हिंसा अझै रोकिएको भने छैन बरू अन्य देशमा पनि फैलँदो छ।
तस्बिर स्रोत, AFP
हाल फ्रान्सले माली, मउरिटानिया, निजेर, बुर्किना फासो र चाडका सेनालाई सहयोग गर्न ४५ सय सैनिक खटाएको छ।
सोमवार भएको घटनाक्रम प्रस्ट भइसकेको छैन, तर रक्षा मन्त्रालयका स्रोतहरूले एएफपी समाचार संस्थालाई बताए अनुसार एउटा टाइगर अट्याक हेलिकप्टर अर्को कुगर सैन्य ट्रान्सपोर्ट हेलिकप्टरसँग जुधेको थियो।
हमला
मारिएकाहरूमा छजना अधिकृत तथा एक मास्टर कर्पोरल पनि छन्।
फ्रान्सले मालीमा आफ्नो सेना खटाएयता भएका कारबाहीहरूमा हालसम्म ३८ जना फ्रान्सेली सैनिकको ज्यान गइसकेको छ।
तर जिहादी हमलाहरू झनै बढेको तथा त्यो छिमेकी बुर्किना फासो र निजेरमा पनि फैलिएकोमा चिन्ता बढेको छ।
सो क्षेत्रमा खटिएका हजारौँ फ्रान्सेली सेनाले इस्लामिक स्टेट इन ग्रेटर सहारा तथा अल-कायदा समूह सम्बद्ध इस्लामवादी विद्रोहीहरूको हमला पूर्ण रोक्न भने सकेका छैनन्।
उक्त क्षेत्रमा विभिन्न उग्रवादी समूहहरू फैलिनुका साथै विभाजित पनि भएका छन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन