जलवायु परिवर्तन: 'कोइलामाथिको निर्भरता एशियाले त्याग्नै पर्छ'

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एशियामा नयाँ कोइला उर्जा केन्द्रको योजना गरिएको छ

संयुक्त राष्ट्रसङ्घका प्रमुखले जलवायु परिवर्तनको समस्यासँग जुझ्नका लागि एशियाले कोइलासँगको आफ्नो निर्भरता त्याग्नुपर्ने भन्दै सचेत गराएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले एशिया क्षेत्र विश्वव्यापी तापमान वृद्धिको सबैभन्दा खतरामा रहेको र त्यसलाई रोक्ने प्रयासमा एशिया 'अग्रमोर्चा' मा हुनुपर्ने बताएका हुन्।

जलवायुसँग सम्बन्धित बाढीको जोखिममा खासगरी एशियाली मुलुकहरू रहेको एउटा अध्ययनले देखाएको उद्धृत गर्दै उनले यस्तो बताएका हुन्।

धेरै एशियाली देशहरूमा उर्जाको मुख्य स्रोत नै कोइला हो।

थाइल्यान्डको राजधानी ब्याङ्ककमा शनिवार पत्रकारहरूसँग बोल्दै गुटेरसले जलवायु परिवर्तनलाई "हाम्रो समयको अति महत्त्वपूर्ण मुद्दा" भनी व्याख्या गरेका छन्।

गत मङ्गलवार प्रकाशित एउटा अध्ययनले जलवायु परिवर्तनका कारण हुने समुद्री बाढीले सन् २०५० सम्ममा लाखौँ मानिसको ज्यान खतरामा पार्ने देखाएको थियो जुन यसअघिको अध्ययनले देखाएको भन्दा बढी हो।

गुटेरसले उक्त अध्ययनलाई उद्धृत गर्दै एशियाली मुलुकहरूलाई चेतावनी दिएका हुन्।

उक्त अध्ययनले त्यस्तो खतरा एशियाभरका विकासशील देशमा धेरै रहेको देखाएको थियो।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, गुटेरसले जलवायु परिवर्तनलाई हाम्रो समयको "अति महत्त्वपूर्ण मुद्दा" भनी व्याख्या गरेका छन्

गुटेरसले "मानिसहरूले खतरामा रहेका मानिसको सङ्ख्याको यथार्थताबारे छलफल गरिरहँदा.... यो प्रवृति छ भन्ने कुराचाहिँ कुरा स्पष्ट भएको" बताएका छन्।

उनले यो मुद्दा एशिया "खासगरी संवेदनशील" रहेको बताए जहाँ "अर्थपूर्ण सङ्ख्यामा" नयाँ कोइला केन्द्रहरूको योजना गरिएका छन्।

"हामीले कार्बनमा मुल्य तोक्नुपर्छ। खनिज इन्धनमा सहुलियत दिन बन्द गर्नुपर्छ। र कोइलामा आधारित हुने उर्जा केन्द्रहरूको योजना निर्माणलाई बन्द गर्नुपर्छ," गुटेरसले चेतावी दिएका छन्।

एशियामा को खतरामा छ?

अमेरिकास्थित गैरनाफामुखी समाचार संस्था क्लाइमेट सेन्ट्रलले मङ्गलवार निकालेको प्रतिवेदनका अनुसार सन् २१०० मा समुद्री सतह भन्दा तल पर्ने क्षेत्रमा १९ करोड मानिसहरू बसोबास गर्ने प्रक्षेपण गरिएको छ।

हरितगृह ग्यास उत्सर्जनको क्रम कम गरे पनि चीन, बाङ्ग्लादेश, भारत, भियतनाम, इन्डोनेशिया र थाइल्यान्डजस्ता यी छ वटा एशियाली मुलुकहरूले सन् २०५० सम्ममा प्रत्येक वर्ष समुद्री बाढीको खतरा झेल्नुपर्ने हुनसक्ने उक्त अध्ययनले देखाएको छ।

ती तटीय क्षेत्रमा हाल करिब २३ करोड मानिसहरू बसोबास गर्छन्।

. चीन - ९ करोड ३० लाख मानिस

२. बाङ्ग्लादेश - ४ करोड २० लाख मानिस

. भारत - ३ करोड ६० लाख मानिस

. भियतनाम - ३ करोड १० लाख मानिस

. इन्डोनेशिया - २ करोड ३० लाख मानिस

. थाइल्यान्ड - १ करोड २० लाख मानिस