हङ्कङमा मास्क प्रतिबन्धित, विरोध झन् उग्र
तस्बिर स्रोत, AFP
हङ्कङ सरकारले मास्क लगाउन प्रतिबन्ध लगाएपछि शुक्रवार हजारौँ नागरिकले स्वतस्फूर्त विरोध प्रदर्शनमा सहभागी भएका छन्।
प्रमुख कार्यकारी क्यारी लामले महिनौँदेखि चलेको सरकारविरोधी प्रदर्शन साम्य पार्न औपनिवेशिककालीन कानुन प्रयोग गरेकी हुन्।
अक्टोबर १ मा एक प्रहरी अधिकृतले १४ वर्षीय प्रदर्शनकारीलाई गोली हानेपछि हुनसक्ने उग्र प्रदर्शनलाई ध्यानमा राखेर मास्क प्रतिबन्ध लगाइएको हो।
खुट्टामा गोली लागेका युवाको अवस्था गम्भीर रहेको बताइएको छ।
साउथ चाइना मर्निङ् पोस्टले प्रकाशित गरेको प्रहरी विज्ञप्तिका अनुसार ठूलो भिडले आक्रमण गरेपछि ती प्रहरीले जीवनरक्षाका लागि गोली प्रहार गरेका थिए। प्रहरी विज्ञप्तिमा घाइतेका बारेमा कुनै जानकारी उल्लेख गरिएको छैन।
हङ्कङको धेरै स्थानमा विरोध साम्य भएपनि केही स्थानमा जारी रहेको छ।
शुक्रवार के भयो?
मास्कमाथिको प्रतिबन्धको सूचना जारी भएपछि विरोध शुरू भएको थियो।
धेरै प्रदर्शनकारी कार्यालयबाट चाँडो निस्केर विरोधमा सहभागी भएका थिए।
तस्बिर स्रोत, Reuters
केही प्रदर्शनकारीले सडकमा अवरोध गर्दै चिनियाँ झण्डा जलाएका र तोडफोड गरेका थिए।
शुक्रवार नै त्यहाँको रेल सेवाले सबै सेवा शनिवारसम्मका लागि बन्द गरेको छ।
रेल सेवाका एक प्रवक्ताले तोडफोड र कर्मचारीमाथिको आक्रमणका कारण सो निर्णय लिइएको बताएका छन्। तस्बिरहरूमा रेल स्टेशनमा आगो लगाइएको देखिएको र समाचारहरूमा एउटा रेलमा पनि आगो लगाइएको बताइएको छ।
तस्बिर स्रोत, Getty Images
किन प्रतिबन्ध?
महिनौँदेखि हङ्कङमा चलेको प्रदर्शनमा धेरै प्रदर्शनकारीले मास्क लगाएर आफ्नो परिचय लुकाउने गरेका छन्।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीचको द्वन्द्व बढ्दै गएपछि दशकौँ प्रयोग नगरिएको कानुन प्रयोग गरेर शुक्रवार मध्यरातीदेखि लागु हुने गरि प्रतिबन्ध लगाइएको हो।
प्रतिबन्धपछि प्रदर्शनको स्वरूप परिवर्तन हुनसक्ने बताइएको छ किनभने मास्क प्रहरी र चिनजानका मानिसहरूले नचिनुन भनेर मात्रै होइन, अश्रुग्याँसबाट बच्न पनि प्रयोग गरिएको थियो।
सो प्रतिबन्धलाई अदालतमा चुनौती दिइसकिएको छ।
तस्बिर स्रोत, EPA
तस्बिर स्रोत, Reuters
तस्बिर स्रोत, Reuters
तस्बिर स्रोत, AFP
तस्बिर स्रोत, AFP
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन