अमेजन वन: ब्रजिलमा यो वर्ष हजारौँ डढेलो, २७ सय किलोमिटर पर दिउँसै अँध्यारो

तस्बिर स्रोत, Reuters

ब्रजिलको धेरै पानी पर्ने अमेजन वनक्षेत्रमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेको लागेको तथ्याङ्क देशको अन्तरिक्ष निकायले सार्वजनिक गरेको छ।

न्याश्नल इन्स्टिट्युट फर स्पेस रिसर्च (आइएनपीई) का अनुसार गत वर्षभन्दा यो वर्ष डढेलोको सङ्ख्या ८३ प्रतिशतले बढेको देखिन्छ।

केही हप्ताअघि वनविनाशबारे उपलब्ध गराइएको तथ्याङ्कबारे विवाद उत्पन्न भएपछि राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरेका थिए।

अतिदक्षिणपन्थी राष्ट्रपति बोल्सोनारूले पद सम्हालेयता अमेजन क्षेत्रलाई कृषि र खनिज उत्खननका लागि विकास गर्ने बताउँदै आएका थिए।

प्रभाव

वनमा लागेको डढेलोबाट निस्किएको धुँवाका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो।

एउटा शक्तिशाली हावाको वेगले रोन्डोनिया र अमेजोनास राज्यमा फैलिएको वनबाट डढेलोको धुँवा ल्याएपछि २७ सय किलोमिटर पर अवस्थित उक्त सहरमा एक घण्टा अँध्यारो भएको थियो।

तस्बिर स्रोत, Jeff Nascimento

तस्बिरको क्याप्शन, अमेजन वनक्षेत्र लागेको डढेलोबाट आएको धुँवाका साओ पाउलोमा दिउँसै अन्धकार भएको थियो

संरक्षणकर्मीहरूले काठ व्यापारी र कृषकहरूलाई जमिन खाली पार्न राष्ट्रपति बोल्सुनारूले प्रोत्साहन गरेपछि यस्तो अवस्था सिर्जना भएको आरोप लगाएका छन्।

गत बिहीवारयता मात्रै त्यहाँ नौ हजार पाँच सयवटा डढेलो देखिएकामा ती अधिकांश अमेजन क्षेत्रमा थिए।

अमेजनमा किन आगो लाग्यो?

आइएनपीईले ज्यानुअरीदेखि अगस्ट महिनाबीचमा ७२ हजारवटा डढेलोका घटना पहिचान गरेको बताएको छ।

त्यस्तो विवरण राख्न थालिएको सन् २०१३ पछिको यो सबैभन्दा उच्च सङ्ख्या हो।

अन्तरिक्षबाट खिचिएका तस्बिरमा ब्रजिलको उत्तरी राज्य रोराइमाको अधिकांश भाग कालो मुस्लोले ढाकेको देखिन्छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रपति जाइर बोल्सोनारू वातावरणसम्बन्धी नीतिका कारण आलोचित छन्

त्यस आसपासका उक्त वन पर्ने क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ।

सुक्खायाममा डढेलो लाग्ने क्रम ब्रजिलमा नौलो नभए पनि गैरकानुनी रूख कटान र पशुपालनका लागि मानिसहरूले जानीजानी आगो लगाउन थालेको बताइन्छ।

बोल्सोनारूले अन्तरिक्षबाट सङ्कलित तथ्याङ्कको खण्डन गर्दै नयाँ बाली लगाउन किसानहरूले खोस्टा जलाउँदा त्यस्तो देखिएको दाबी गरेका छन्।

विश्व वन्यजन्तु कोषका अमेजन कार्यक्रम प्रमुखले यसलाई पछिल्ला वर्षमा बढिरहेको वनजङ्गल फँडानीको नतिजा रहेको बताएका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आइएनपीईले ज्यानुअरीदेखि अगस्ट महिनाबीमा ७२ हजारवटा डढेलो लागेको बताएको छ