क्रिकेट विश्वकप: खेलमात्रै होइन भारत-पाकिस्तान क्रिकेट म्याच

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारत र पाकिस्तानका समर्थक
    • Author, आदेशकुमार गुप्त
    • Role, बीबीसी हिन्दी

अनुहारमा रङ पोतेका दर्शकहरूले खचाखच भरिएको मैदान र उनीहरूको हातमा आ–आफ्नो देशका झन्डा।

क्रिकेट विश्वकपको एउटा खेल नेपाली समयअनु्सार दिनको सवा तीन बजे सुरु हुनेछ। तर बिहानैदेखि टिभी च्यानलहरूको स्टुडियोदेखि बजार, क्याफे, होटल तथा क्रिकेट एकेडेमीसम्म होहल्ला मच्चिन्छ।

कति स्थानमा सडक खाली हुन्छ, घरहरूमा चियाखाजादेखि बेलुकाको भोजन पहिले नै तयार पारिएको हुन्छ।

किनभने भारत र पाकिस्तान संसारको जुनसुकै क्रिकेट मैदानमा आमनेसामने भएपनि यी सबैखाले कुरा हुने गर्छन्।

झन् विश्वकप क्रिकेट हुँदा त कुरै अर्कै हुने भइहाल्यो।

भारतमा जस्तै अवस्था पाकिस्तानमा पनि छ। त्यहाँका क्रिकेटप्रेमीहरू पनि भारतीयभन्दा कहाँ कम छन् र?

सुन्न त पाँच लाख मानिसहरूले उक्त खेलको टिकट किन्न चाहेका थिए भन्ने सुनिएको थियो, तर २५ हजारले मात्र टिकट पाए।

दुवै टोलीका कप्तान र खेलाडीले जति नै दबाब हुदैन भनुन् तर दबाब पक्कै ठूलै हुन्छ।

त्यसैले त इङ्ल्यान्डमाथि पाकिस्तानको विजयपश्चात् पत्रकार सम्मेलनमा कप्तान सरफराज अहमदलाई भारतविरूद्धको खेलमा पाकिस्तान हार्‍यो भने प्रशिक्षक र कप्तान हट्लान भन्ने प्रश्न सोधिएको थियो।

जवाफमा सरफराजले भने, "जवाफ कसलाई के दिनु? यदि हामीले खराब प्रदर्शन गर्‍यौ भने सबै कुरा सहनु पर्छ। यो नै हाम्रो टोली हो र हामी खेलाडी हौँ। टोलीलाई समर्थन भयो भने टोली अघि बढ्छ।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पाकिस्तानी कप्तान सरफराज अहमद

उनीसँगै पाकिस्तानी टोली पछिल्ला वर्षहरूमा भारतसँग फरक र अन्य टोलीसँग फरक ढङ्गले किन खेलिरहेको छ? कुन मानसिकताले पूरा शक्ति लगाएर खेल्न सकिरहेको छैन? भनेर पनि सोधिएको थियो।

उनले त्यसको जवाफमा पहिलेको कुरा आफूलाई जानकारी नभएको बताए। तर आफू कप्तान भएपछि भने नयाँ खेलाडीहरूले केही दबाबमा खेलेको र त्यसको नोक्सान एउटा टोलीका रूपमा पाकिस्तानलाई भएको बताए।

भारतसँग खेल्दा न त टोलीको ब्याटिङ राम्रो भयो न त बलिङ र फिल्डिङ नै।

त्यसपश्चात् प्रशिक्षकले यस्तै अवस्था रहेमा हामी कुनै पनि टीमलाई चुनौती दिन सक्दैनौँ भनेको उनले बताए।

अनि, प्रशिक्षक र व्यवस्थापनले टोलीलाई सहयोग गरे र मनोबल बढाए।

उनले खेलाडीमा जोशको कुरा गर्दा चाहिँ सबैमा भारतविरुद्धको खेल अवश्य जितौँ भन्ने इच्छा हुने बताए।

तर भारतलाई जित्ने दबाब जति पाकिस्तानलाई हुन्छ, त्यत्तिकै भारतलाई पनि हुने गर्छ।

अहमदले यो पनि भने कि भारतको होस् वा पाकिस्तानको जुन खेलाडीले शानदार प्रदर्शन गर्छन् ती खेलाडी नायक बन्छन्।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, भारतका कप्तान विराट कोहली

अर्कोतर्फ भारतका कप्तान विराट कोहलीले यो म्याचबारे पत्रकार सम्मेलनमा भने, "तयारीका रूपमा आफ्नो शक्तिप्रति भरोसा राख्नुपर्छ। अनि जुन म्याचमा राम्रो खेलिन्छ त्यसमा जितिन्छ। अर्को टोलीको सबल र दुर्बल पक्ष थाहा पाएर पनि यदि खराब खेल प्रदर्शन गरियो भने खेल जित्ने अवसर कम हुन्छ।"

"यदि सबै ११ जना खेलाडी एक भएर प्रदर्शन गरेमा कुनै पनि टोलीलाई हराउन सक्छन् तर खराब खेले हार्न पनि सक्छन्।"

विश्वकपका खेलहरूमा हालसम्म भारतले दक्षिण अफ्रिकालाई छ विकेट र पछिल्लो च्याम्पियन अस्ट्रेलियालाई ३६ रनले हराएको छ। न्युजिल्याण्डसँगको खेल भने वर्षाका कारण रद्द भयो।

विराट कोहलीले यी दुई जितपश्चात् टोलीले कसैलाई पनि हराउने क्षमता राख्ने बताए।

यदि आइतवार हुने पाकिस्तानसँगको खेल वर्षाका कारण प्रभावित भएमा त्यसको लागि आफूसँग अर्को उपाय रहेको विराट कोहली मान्छन्। त्यसका लागि पनि टोलीमा खेलाडीहरू तयार रहेका छन्।

पाकिस्तानविरुद्ध हुने खेललाई लिएर कोहली तनावमा छैनन्। टोलीका ब्याट्सम्यान शिखर धवन घाइते भएको असर चाहिँ टोलीमा पर्ने नै छ। धवनले अष्ट्रेलियाविरुद्ध शतक बनाएका थिए।

उनको स्थानमा केएल राहुलले रोहित शर्माको साथमा भारतीय इनिङ सुरु गर्ने अनुमान गरिएको छ।

यदि मौसम सफा भयो र खेल पूरै ५० ओभरको हुने भयो भने सायद कोहलीले विजय शंकरलाई चौथो नम्बरमा खेलाउन रूचाउने छन्।

शंकर बलिङ पनि गर्न सक्छन्।

वर्षाका कारण केही ओभर घट्ने सम्भावना रह्यो भने कुलदीप यादवको स्थानमा मोहम्मद समी ‍खेल्न सक्छन्।

यस्तोमा कोहलीले दिनेश कार्तिकलाई शंकरको स्थानमा खेलाउने छन्।

टसमा त कसैको केही लाग्दैन तर भारतको ब्याटिङ र बलिङ नै हालसम्म शानदार देखिएको छ।

शर्मा र कप्तान कोहलीको उत्कृष्ट प्रदर्शन अनि त्यसपछि हार्दिक पाण्ड्या र महेन्द्रसिंह धोनीको भरोसायुक्त ब्याटिङले भारतलाई बलियो बनाएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फखर जमां

अर्कोतर्फ इङ्ल्यान्डविरुद्ध पाकिस्तानले जसरी खेल्यो त्यस्तै खेल भारतविरुद्ध खेल्यो भने उसको विश्वकप जित्ने सपना पूरा हुन सक्नेछ।

त्यसका लागि पाकिस्तानले आफ्नो 'टप अर्डर'ले राम्रो खेल्नु पर्ने हुन्छ।

त्यसमा इमाम उल हक, फखर जमां, बाबर आजम, मोहम्मद अफीज र कप्तान अहमद सामेल छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वर्षा नहोस् भनेर कामना गर्दै दर्शक

मौसमलाई हेरेर तीव्र गतिका बलर मोहम्द आमिर र वहाब रियाजको पहिलो र दोस्रो स्पेल धेरै महत्त्वपूर्ण रहनेछ। असन अलीले पनि उनको साथ दिन सक्नेछन् र स्पिनर मोहम्मद हफिजले कसिलो बलिङ गर्नुपर्नेछ।

आइतवारको खेलले विश्वकपमा भारत वा पाकिस्तानको खेल देखिनेछ तर पाकिस्तानका सेमीफाइनलमा पुग्न सहजताको लागि जित्नै पर्ने बाध्यता छ।