भेनेजुएला सङ्कट: कोलम्बियासँगको सीमा खोल्ने बित्तिकै मानिसहरूको धुइरो
तस्बिर स्रोत, EPA
भेनेजुएला र कोलम्बियाको सीमाना चार महिनापछि पहिलोपटक खुल्दा दशौँ हजार मानिसहरूले सीमा पार गरेको अधिकारीहरूले बताएका छन्।
यो सीमा फेब्रुअरी महिनामा विपक्षी नेता ख्वान ग्वाइदोले अमेरिकी समर्थनको मानवीय सहायता भित्र्याउने तयारी गरेपछि राष्ट्रपति निकोलस मदुरोको अनुरोधमा बन्द गरिएको थियो।
देशमा वर्षौं लामो आर्थिक सङ्कटका कारण आधारभूत कुराहरूको अभाव हुँदै आएको छ।
संयुक्त राष्ट्र सङ्घीय निकायहरूका अनुसार सन् २०१५ यता ४० लाख मानिसले भेनेजुएला छोडेका छन्।
ट्विटरमा घोषणा
कोलम्बियाको विदेश मन्त्रालयका अनुसार शनिवार ३० हजार भेनेजुएलाका नागरिकहरू आइपुगेका छन्।
विपक्षीहरूले विदेशी सहायता ल्याउने कार्यक्रम शुरु गरेपछि मदुरोले त्यो कार्य आफूलाई हटाउन गरिएको प्रयत्नको एक अंश भन्दै विरोध गरेपछि कोलम्बिया, ब्रजिल र डच एन्टिलेस आइल्यान्डहरूसँगको सीमा यो वर्षको शुरुतिर बन्द गरिएको थियो।
तस्बिर स्रोत, EPA
गत महिना मदुरोले ब्रजिल र आइल्यान्ड अफ अरुबासँगको सीमा खोल्ने घोषणा गरेका थिए तर अरुबाका अधिकारीहरूले सीमा बन्द रहने जनाएका छन्।
कोलम्बियासँगको सीमा खोल्ने घोषणा ट्विटरमा गर्दै मदुरोले उनको देशमा सङ्कट बढ्नुको आरोप वाशिङ्टन नेतृत्त्वको आर्थिक युद्धमाथि लगाए।
आधारभूत आवश्यकताका लागि कोलम्बियामाथि भर पर्ने गरेका सीमा क्षेत्रमा रहेका भेनेजुएलाका शहरहरूमा सीमा बन्दले निकै समस्या पारेको थियो।
त्यस बीचमा कैयौँले अवैधानिक रूपमा सीमा पार गरेका थिए। जसले गर्दा सीमा क्षेत्रमा रहेका अपराधीहरूलाई शुल्क बुझाउनुपरेको थियो।
तस्बिर स्रोत, Reuters
बन्द हुनु अघि सीमोन बोलिभर अन्तर्राष्ट्रिय पुल हरेक दिन ३० हजार मानिसले पार गर्ने गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ।
गहिरिएको सङ्कट
विपक्षी नेता तथा न्याशनल असेम्बलीका अध्यक्ष ग्वाइदोले मदुरोको पुनर्निर्वाचन अवैधानिक भन्दै आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि सङ्कट झन् गहिरिएको छ।
त्यसयता उनलाई अमेरिका र धेरैजसो ल्याटिन अमेरिकी लगायत ५० देशले समर्थन गरिसकेका छन्। तर मदुरोलाई त्यहाँको सेना तथा महत्त्वपूर्ण राष्ट्रहरू चीन र रुसको समर्थन प्राप्त छ।
यसैबीच हलिवुड नायिका तथा संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकाय युनएचसीआरकी विशेष दूत एन्जेलिना जोलीले भेनेजुएलाका शरणार्थी रहेका मुलुकहरू कोलम्बिया, एक्वेडर र पेरुलाई विशेष सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छन्।
उनले कोलम्बियाका राष्ट्रपतिलाई भेटेपछि भेनेजुएलाका विस्थापित परिवारबाट जन्मिएका २० हजार बालबालिकाहरू उनका बाबुआमा आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहँदा राज्यविहीन हुने खतरा बढेको बताएकी छन्।
शुक्रवार युएनएचसीआर र अन्तर्राष्ट्रिय आप्रवासी सम्बन्धी राष्ट्र सङ्घीय संस्था आइओएमले भेजेजुएलाका मानिसहरू "अहिले आफ्नै देशबाट विस्थापित हुने सबभन्दा ठूलो समूहमध्ये एकमा पर्ने" बताएका थिए।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन