छोराको जन्मपछि राजकुमार ह्यारी र मेगनलाई बधाईको ओइरो

तस्बिर स्रोत, Chris J Ratcliffe/Getty Images

ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको पहिलो सन्तानको रूपमा छोराको जन्म भएपछि शाही दम्पतिलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ।

राजकुमार ह्यारीले आफूले कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन्।

बच्चाको जन्म स्थानीय समय अनुसार सोमवार साँझ ५ बजेर २६ मिनेटमा भएको हो।

केन्सिङ्गटन प्यालेसले ड्युक र ड्चेज अफ क्याम्ब्रिज खुशी भएको र बच्चालाई भेट्न लालायित भएको बताएको छ।

मेगनकी आमा डोरिया रागल्यान्ड धेरै खुशी भएको र अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले उनीहरू पनि खुसी भएको बताएकी छन्।

नाम नराखिएको शाही बालक, प्रिन्स अफ वेल्स, ड्युक र ड्चेज अफ क्याम्ब्रिज, उनीहरूको तीन छोराछोरी र राजकुमार ह्यारी पछि यूकेको राजगद्दीको सातौं क्रमका उत्तराधिकारी हुन्।

तस्बिर स्रोत, Yui Mok/PA Wire

तस्बिरको क्याप्शन, शाही बालकको जन्मको खुशीयालीमा रङ्गिन बनेको लन्डन आई

राजकुमार ह्यारीले दुई दिनपछि मिडियाका सामु बच्चालाई प्रस्तुत गर्ने बताएका छन्।

उनले मेगनको स्वास्थ्य राम्रो भइरहेको बताउँदै बच्चाको नाम अझै सोचिरहेको बताएका छन्।

प्रधानमन्त्री टरिजा मे, लेबर पार्टीका नेता जेरेमी कोर्बिन र स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ट्विटरमा बधाई ज्ञापन गरेका छन्।

राजकुमार ह्यारी र मेगनको बिहेमा सङ्गीत बजाउने टोलीले शाही शिशुको लागि नयाँ गीत तयार पारेको छ।

उक्त शिशुले अमेरिकी नागरिक मेगनको कोखबाट जन्म लिएका कारण अमेरिकाको समेत नागरिकता प्राप्त गर्ने बताइएको छ।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सोमवार बकिङ्गघम दरबार अगाडि राखिएको सूचना

न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बच्चा जन्मेको खुशीयालीमा गरिब परिवारलाई बाँडिने उपहार तयार गर्ने समूहलाई चन्दा दिने र बच्चाको सम्मानमा १० नयाँ रुख रोपिने बताएकी छन्।

अष्ट्रलियाका प्रधानमन्त्री स्कट मोरिसनले शाही दम्पतिलाई बधाई पठाएका छन्।

ह्यारी र मेगनको सम्बन्ध

तस्बिर स्रोत, Reuters

८ नोभेम्बर २०१६ - केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गरि राजकुमार ह्यारी र मेगन मार्कल प्रेम सम्बन्धमा रहेको जानकारी

२८ नोभेम्बर २०१७ - ह्रारी र मेगन विवाहका लागि तयार भएको भनाइ

१५ डिसेन्बर २०१७ - केन्सिङ्टन प्यालेसले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेको जानकारी

१९ मे २०१८ - ह्रारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एण्ड डचेज अफ ससेक्स उपाधि प्रदान

१५ अक्टोबर २०१८ - केन्सिङ्टन प्यालेसद्वारा मेगन गर्भवती भएको जानकारी

६ मे २०१९ - मेगनको कोखबाट बालकको जन्म