एसईई: नेपालका सातै प्रदेशमा एकैचोटि परीक्षा सुरु, पौने पाँच लाख परीक्षार्थी सहभागी

तस्बिर स्रोत, RSS

सङ्घीय संरचनाअन्तर्गत पहिलो पटक आइतवारदेखि माध्यमिक परीक्षा एसईई सुरु भएको छ।

पहिलो दिन सबै सातवटै प्रदेशमा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष देशभरिबाट चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागी छन्।

त्यसमध्ये छात्राको सङ्ख्या छात्रहरूको सङ्ख्याभन्दा केही बढी छ।

परीक्षामा सांसद शान्ता चौधरी र नायिका करिश्मा मानन्धर पनि सहभागी भएका छन्।

सात प्रदेशमध्ये सबैभन्दा बढी परीक्षार्थी प्रदेश नं. ३ मा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको परीक्षा नियन्त्रक अधिकारीले बताए।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी दाङको तुलसीपुरस्थित एउटा परीक्षाकेन्द्रमा

देशभरि १९ सय ६९ वटा परीक्षाकेन्द्र तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षावधिमा सुरक्षाका लागि २९ हजार ५३५ प्रहरी खटाइएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलका अनुसार अनिवार्य छवटा विषयको प्रदेशअनुसार फरक प्रश्नपत्रको व्यवस्था मिलाइएको छ।

तर ऐच्छिक, संस्कृत र प्राविधिक विषयका प्रश्नपत्र सबै प्रदेशमा समान छन्।

परिणाम असारभित्र

अनिवार्य छ विषयमा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक शिक्षा र जनसङ्ख्या रहेका छन्।

सबै परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भइरहेको जानकारी आएको परीक्षा बोर्डका अध्यक्ष पौडेलले बताए।

उनका अनुसार प्रश्नपत्रहरू केन्द्रबाटै छापिए पनि उत्तरपुस्तिकाको, परीक्षाकेन्द्र र परीक्षा सञ्चालनको व्यवस्थापन प्रदेश सरकारहरूले गरेका छन्।

चैत २१ गतेसम्म सञ्चालन हुने एसईई परीक्षाको परिणाम आउँदो असारभित्रमा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयको लक्ष्य छ।

परीक्षा नियन्त्रक अधिकारीले भने, "सङ्घीय संरचना अनुसार पहिलो पटक परीक्षा भइरहेकोले केही ढिलो हुन सक्ला कि भन्ने छ, तर असारसम्ममा नतिजा सार्वजनिक गर्ने हाम्रो लक्ष्य छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, करिश्मा मानन्धरको एसईई तपस्या