क्राइस्टचर्च मस्जिद आक्रमणः ५० जनाको ज्यान जाने घटना 'आक्रमणकारी एक्लैले गराएका थिए'

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: ४ मिनेट

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा शुक्रवार भएको आक्रमणको घटनामा आरोपित व्यक्ति आफू एक्लै संलग्न भएको हुन सक्ने न्यूजिल्यान्डको प्रहरीले जनाएको छ।

अस्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्टले आफूले मस्जिदमा आक्रमण गर्दा सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए।

पछि पक्राउ गरिएका तीन व्यक्ति घटनामा संलग्न नरहेको ठानिएको प्रहरी प्रमुख माइक बुशले बताए। यद्यपि निष्कर्षमा अहिल्यै पुग्न नसकिने उनको भनाइ छ।

न्यूजिल्यान्डमा भएकामध्ये सबैभन्दा खराब मानिएका ती दुई आक्रमणमा ५० जनाले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार झन्डै ३४ जनाको अझै अस्पतालमा उपचार हुँदैछ। तीमध्ये बन्दुकको गोलीबाट गम्भीर चोट लागेकादेखि 'तुलनात्मक रूपमा सामान्य चोट लागेकासम्म' छन्। एक चार वर्षीया बालिकाको स्थिति गम्भीर छ।

अल नूर मस्जिद र लिनउड मस्जिदमा आक्रमण हुँदा ज्यान गुमाएका व्यक्तिहरूको पहिचान गर्ने काम यथाशक्य छिटो सकिनेगरी लागिपरेको प्रहरी प्रमुख बुशले बताए।

यो संवेदनशील प्रक्रिया भएको र आफू 'सांस्कृतिक तथा धार्मिक आवश्यकताबारे सजग' रहेको उनले जनाए।

को संलग्न थिए?

कैदीले लगाउने कमिज र हतकडीमा अदालतमा उपस्थित गराइँदा मुख्य आरोपित ब्रेन्टन टारेन्ट मुस्कुराइरहेको देखिएको थियो।

तस्बिर स्रोत, Reuters

उनीमाथि हत्याको एउटा आरोप लगाइएको छ र थप अभियोगहरू लाग्ने अपेक्षा गरिएको छ।

एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुख बुशले २८ वर्षीय ब्रेन्टन टारेन्टमाथि मात्रै आक्रमणको अभियोग लगाइएको बताए।

उनले भने, "उनलाई रोकियो किनकि उनी प्रत्यक्ष खतरा भएको ठानियो, हाम्रा कर्मचारीले साहसका साथ हस्तक्षेप गरे र केही बल प्रयोग गर्नुपरेको थियो…थप आक्रमण हुन नदिन उनीहरूले जोखिम मोले र मलाई लाग्छ उनीहरूले थप आक्रमण हुनबाट जोगाए।"

बुशले घटनास्थलनजिकै पक्राउ परेका दुई व्यक्ति ती आक्रमणमा संलग्न नरहेको विश्वास गरिएको बताए।

एक महिलालाई विना कुनै अभियोग रिहा गरिएको छ भने अर्का पुरुषमाथि हातहतियारसम्बन्धी अभियोग लगाइएको छ।

एक १८ वर्षीय व्यक्तिलाई पक्राउ गरिए पनि उनको संलग्नता भएको 'आशङ्का' मात्रै गरिएको र सोमवार अदालतमा पेस गरिने प्रहरी प्रमुख बुशले बताए।

यद्यपि सावधानीपूर्वक उनले भने, "कति व्यक्ति संलग्न थिए भन्ने कुरामा आश्वस्त नहुन्जेल निष्कर्षमा पुग्नेगरी हामी केही भन्नेछैनौँ।"

पक्राउ परेकामध्ये कोही पनि आपराधिक पृष्ठभूमिको नरहेको बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मस्जिदमा आक्रमण

टारेन्टलाई विना कुनै अपील हिरासतमा राखिएको छ र एप्रिल ५ मा फेरि उनलाई अदालतमा पेस गरिनेछ।

न्यायाधीशले निष्पक्ष सुनुवाइ हुन पाउने आरोपितको अधिकारको रक्षार्थ उनको अनुहार स्पष्ट रूपमा नदेखिने तस्बिर देखाउन आदेश दिएका छन्।

प्रधानमन्त्री जेसिन्डा आर्डर्नले आरोपित टारेन्टसँग बन्दुक राख्न पाउने अनुमति भएको र उनीसँग पाँचवटा बन्दुक भएको बताएकी छन्।

'साहसिक हस्तक्षेप'

आक्रमणपछि साहसिक कदम बारेका विवरण आउन थालेका छन्।

मारिएका छ पाकिस्तानीहरूमध्ये ५० वर्षीय नईम राशिद र उनका २१ वर्षीय छोरा तल्हा पनि थिए।

अल नूर मस्जिदमा आफूलाई गोली लाग्नुअघि राशिदले बन्दुकधारीलाई रोज्न खोजिरहेको देखिने भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएपछि नायकका रूपमा उनको प्रशंसा भइरहेको छ।

पाकिस्तानको एबोटाबादमा रहेका राशिदका भाइ खुर्शीद आलमले बीबीसीका सिकन्दर केर्मानीसँग कुरा गर्दै आफ्ना भाइका कामबाट गर्व अनुभूति भएको बताए।

"उनी बहादुर व्यक्ति थिए," आलमले भने, "मैले त्यहाँका मानिसहरूबाट सुनेँ… केही प्रत्यक्षदर्शीका अनुसार उनले बन्दुकधारीलाई रोकेर केहीको ज्यान जोगाए।"

तस्बिर स्रोत, EPA

मानिसहरूले राशिदलाई नायकका रूपमा प्रशंसा गरिरहे पनि उनको मृत्युले आफूहरू 'अझै स्तब्ध रहेको' आलमले बताए।

"त्यो हाम्रो लागि अहिले गर्वको कुरा हो, तर हाम्रो लागि क्षति पनि हो। त्यो त तपाईँले आफ्ना हातखुट्टा काटेजस्तै हो।"

घटनाबारे सुनेर आफू क्रुद्ध भएको आलमले सुनाए। "आतङ्कवादीहरूको कुनै धर्म हुँदैन। पागलहरूलाई रोक्नुपर्थ्यो।"

लिनउडस्थित अर्को मस्जिदमा भएको आक्रमणमा पनि त्यस्तै हस्तक्षेप गरिएको थियो।

मस्जिदबाहिर दौडेर आफूले बन्दुकधारीतिर 'क्रेडिट कार्ड मशिन' हुत्याएको अब्दुल अजिजले बताए।

त्यसपछि ती आक्रमणकारीको एउटा हतियार खस्यो र उनी अरू हतियार खोज्न आफ्नो गाडीतिर गए। अजिजले बन्दुक फ्यालेर उनको गाडीको सिसा फुटाइदिए।

त्यसपछि आक्रमणकारी पछि हटे र केही क्षणपछि पक्राउ परे।

न्यूजिल्यान्डका अधिकारीहरूले अहिले पीडितहरूको पहिचान गर्ने कठिन काम गरिरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रधानमन्त्री आर्डर्नले न्यूजिल्यान्डको हतियारसम्बन्धी कानुन परिवर्तन हुने बताएकी छन्

ज्यान गुमाउनेमध्ये यी पनि थिए

  • सय्यद मिल्न, १४, जो ठूलो भएर फुटबल खेलाडी बन्न चाहन्थे
  • दाउद नबी, ७१, जो अरूलाई जोगाउन आफू अगाडि सरे
  • खालिद मुस्तफा, सिरियाली शरणार्थी
  • होस्नी आरा, ४२, ह्वीलचेयर प्रयोगकर्ता जसले आफ्ना श्रीमान्‌लाई जोगाउँदा आफूले मृत्युवरण गरिन्

घटना कसरी भयो?

अल नूर मस्जिदमा शुक्रवारको साप्ताहिक प्रार्थनाको समयमा दिउँसो १:४० मा आक्रमण भएको खबर आएको थियो।

एक बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध गोली हानेका थिए।

टाउकोमा बाँधिएको क्यामेराबाट फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको आक्रमणमा बन्दुकधारीले आफूलाई ब्रेन्टन टारेन्ट भनेर चिनाएका थिए।

बन्दुकधारी त्यसपछि पाँच किलोमिटर पर रहेको लिनउड मस्जिदसम्म गाडीमा गएर अर्को आक्रमण गरेका थिए।

त्यहाँ एक व्यक्तिले उनको हतियार खोसेका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

प्रहरीले टोरेन्टलाई कहाँ गिरफ्तार गरेको भन्ने खुलाएको छैन।

प्रहरीले दुवै मस्जिदमा हतियार भेटिएको र एउटा गाडीमा विस्फोटक पदार्थहरू भेटिएको बताएको छ।

न्यूजिल्यान्डको कुल ४२ लाख ५० हजार जनसङ्ख्याको १.१ प्रतिशत मुस्लिम छन्।

आरोपितको सन्देश

आक्रमण हुनुअघि ब्रेन्टन टारेन्टका नाममा रहेका सामाजिक सञ्जालका खातामा एउटा लामो, जातिवादी कुराहरू प्रेषित भएको थियो।

तस्बिर स्रोत, EPA

त्यसमा आक्रमण गरिएका मस्जिदहरूको नाम उल्लेख थियो।

त्यसमा लिखित कुरालाई 'द ग्रेट रिप्लेसमेन्ट' भनिन्छ। यो पदावलीको रचना फ्रान्समा भएको हो र आप्रवासनविरोधी युरोपेली अतिवादीहरूमाझ यो लोकप्रिय भएको छ।

आरोपितले सन् २०१७ मा युरोपको भ्रमण गरेपछि र त्यहाँ भएका घटनाबाट आक्रोशित भएर आक्रमणको योजना बनाउन थालेको बताएका छन्।

न्यूजिल्यान्ड हेराल्डका अनुसार आरोपितले आक्रमणहरू गर्नुभन्दा झन्डै १० मिनेटअघि आफ्ना लिखित कुरा ७० जनालाई पठाएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ज्यान गुमाएका व्यक्तिको सम्झनामा

यो पनि पढ्नुहोस्